मोदीको नजरमा बिहारको जंगलराजका यी ५ पहिचान, चुनावी सभामा विपक्षीमाथि तीखो प्रहार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहारको मुज्जफ्फरपुरमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै विपक्षी दलप्रति तीखो टिप्पणी गरेका छन् ।

उनले राष्ट्रिय जनता दल (राजद) र कांग्रेसमाथि प्रहार गर्दै भने, ‘यी दुई पार्टीले बिहारको जंगलराजको पाँच पहिचानको प्रतिनिधित्व गर्छन् ।’ मोदीले उल्लेख गरेको बिहारको जंगलराजका पाँच पहिचानहरू कट्टा (देशी बन्दुक), क्रुरता, कटुता, कुशासन र भ्रष्टाचार हुन् ।

विपक्षी नेतामाथि प्रहार गर्दै मोदीले छठ पूजाका अवसरमा आयोजित कार्यक्रमलाई ‘नाटक’ भनेको भन्दै बिहारको आस्थाको अपमान गरेको आरोप लगाए ।

हिन्दुस्तान टाइम्सका अनुसार माेदीले भने, ‘छठ भक्ति र समानताको प्रतीक हो, सरकारले यो पर्वलाई युनेस्को हेरिटेज उत्सवका रुपमा दर्ता गर्ने काम गर्दै छ । तर कांग्रेस र राजदका नेताले यसलाई नौटङ्की भनिरहेका छन् ।’ राहुल गान्धीप्रति इंगित गर्दै मोदीले यस्तो बताएका हुन् । ‘यमुनामा स्नान गर्ने योजना बनाएर छठको नाटक गरेको’ एक दिन अघि मोदीमाथि राहुल गान्धीले आरोप लगाएका थिए ।

मोदीले भने, ‘हेर्नुहोस् भोटका लागि यिनीहरु कतिसम्म गिर्न सक्छन् । यो यस्तो अपमान हो जुन अपमानलाई बिहारले शताब्दीऔंसम्म भुल्न सक्दैन ।’

राजद–कांग्रेस पानी तेलजस्तै हुन् : मोदी

मोदीले राजद र कांग्रेसको गठबन्धन अप्राकृतिक भएको बताउँदै उनीहरु तेल र पानीजस्तै भएको टिप्पणी गरे ।

यिनीहरुको गठबन्धन बिहारलाई पुनः लुट्नका लागि बनाइएको मोदीको आरोप थियो । एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) सांस्कृतिक संरक्षण र विकासका लागि काम गर्दै आएको बताउँदै मोदीले विपक्षी हिंसा र भ्रष्टाचारका लागि चिनिने बताए ।

उनले राजदको शासन कालमा बिहारमा ३५ हजारदेखि ४० हजार अपहरणका घटना भएको आरोप लगाए । गुण्डाले गाडीका शोरुम लुटेको उल्लेख गर्दै मोदीले आज विपक्षीको चुनावी गीतमा कट्टा र दुई नाले बन्दुकको कुरा आइरहेको बताए ।

द ब्याटल अफ बिहार

द ब्याटल अफ बिहारका रुपमा चर्चा गरिएको निर्वाचन आगामी अक्टोबरदेखि नोभेम्बरसम्म हुँदैछ । बिहार विधानसभा चुनाव २०२५ का लागि २४३ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुँदैछ ।

मुख्यमन्त्री नितीश कुमारको जनता दल (युनाइटेड), भारतीय जनता पार्टी, हिन्दुस्तानी आवाम मोर्चा (सेक्युलर), सहयोगी दल र एनडीए गठबन्धन अर्को कार्यकालसमेत हात पार्ने दाउमा भिडन्त गर्दैछन् ।

तेजस्वी यादव नेतृत्वको राजदले सत्तारुढ गठबन्धनलाई चुनौती दिनका लागि इन्डिया ब्लकअन्तर्गत कांग्रेसी र वामपन्थी दलका साथ गठबन्धन गरेका छन् । राजनीतिक रुपमा नवआगन्तुक प्रशान्त किशोरको जनसुराज पार्टी समेत २४३ सिटका लागि चुनाव लड्दैछ । राजनीतिमा प्रशान्त किशाेरको औपचारिक प्रवेश हो ।

बिहार विधान सभामा वर्तमान सङ्ख्या

भाजपा– ७८ विधायक
जेडी (यु) – ४५ विधायक
अन्य एनडीए गठबन्धन र विद्रोही– ९
एनडीए कुल सङ्ख्या – १३२ (बहुमत १२२ भन्दामाथि)

राजद– ७५ विधायक
कांग्रेस– १९ विधायक
सीपीआई (एमएल) – १२ विधायक
सीपीआई र सीपीआई (एम)– २ विधायक
एआईएमआईएम– १ विधायक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *