
काठमाडौं । फौजदारी अभियोगका फरार एक भारतीय नागरिकको चालकका रुपमा नेपाल प्रहरीका बहालवाला हवल्दार खटिएपछि गृह मन्त्रालयले छानबिन सुरु गरेको छ ।
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा दोषी ठहर भएका भारतीय नागरिक कीर्ति पाण्डेको निजी सवारी चालकका रूपमा हवल्दार सुरेन्द्र मगर खटिएका छन् । नेपालस्थित भारतीय नागरिकको संस्थाका अध्यक्षसमेत रहेका पाण्डे वृहस्पति र राई स्कुलका सञ्चालक पनि हुन् । उनी लैनचौरस्थि भारतीय दूतावासका निकट व्यक्ति हुन् ।
असोज पहिलो साताबाट पाण्डेको घरमा हवल्दार मगर खटिएका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत कार्यरत उनलाई कसले त्यहाँ खटायो भन्नेबारे तथ्य पहिल्याएर खटाउने व्यक्तिलाई कारवाही गरिने गृह मन्त्रालयस्रोतले जनाएको छ ।
उनलाई खटाएको बारे गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयमा उजुरी परेको थियो । सवारी चालक हवल्दारको नम्बरसहित परेको उजुरीका आधारमा मन्त्रीका पिएसओ वरिष्ठ सई गोविन्द साउदले उनलाई सोधपुछ गरेका थिए । उनले आफू पाण्डेकै घरमा रहेको बताएपछि खटाउने प्रहरी अधिकारीलाई पनि साेधपुछ गरिएकाे स्राेतले बताएकाे छ ।

Leave a Reply