
हेटौँडा । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले बिहीबार बिहानदेखि मधेशका सबै जिल्लामा प्रभाव पर्ने गरी आउने मोन्था आँधीबाट बच्न सबैलाई अपिल गरेका छन् ।
उनले बुधबार राति नै प्रदेश सरकार आँधीबाट प्रभावितहरुको राहत र उद्धारमा सक्रिय रहने, सबै सुरक्षा निकाय तैनाथी भएको र प्रदेश सरकारले गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाललाईं यो आँधीप्रभावितका लागि उद्धार र राहतमा संयोजक तोकेर कार्य गरिने बताएका छन् ।
के हो मोन्था आँधी
भारत, बंगालको खाडी भएर बिहीबार दिउँसो १२ बजेतिर मधेश प्रदेशका जिल्लामा ‘मोन्था’ समुद्री आँधीको असर देखिने पूर्वानुमान छ ।
यसको प्रभाव कात्तिक १५ गतेसम्म रहने भएकाले नदी तथा खोलामा जलस्तर बढ्ने खतरा भएकाले त्यस क्षेत्रका जनता सचेत रहन जरुरी छ । मधेश प्रदेशको रातो, बिगही, लखनदेही, बागमती, कमला तथा सप्तकोशी नदीको जलस्तर बढ्ने सम्भावित खतरा छ ।
मधेश प्रदेशको बारा–पर्सा जिल्ला भएर प्रवेश गर्ने समुद्री आँधीको प्रभाव आठै जिल्लामा रहने अनुमान भएकाले सम्भावित जोखिमबाट जोगिन जरुरी छ । बारा, पर्साको सीमा जिल्ला मकवानपुरमा बिहानैदेखि मौसम बदली भइ वर्षा भइरहेको छ । जाडो बढेको छ ।
यस्तो छ उनको अपिल :
मधेश प्रदेशका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सर्वप्रथम म तपाईंहरू सबैको सुरक्षा र सुस्वास्थ्यको कामना गर्दछु ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो चेतावनी र पूर्वानुमान अनुसार, हाम्रो मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा मिति २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार विहानसम्म प्रदेशको मौसम प्रभावित भई मध्यमदेखि अति भारी वर्षा हुने र त्यसका कारण बाढी तथा डुबानको उच्च जोखिम रहेको जानकारी गराउन चाहन्छु ।
विशेषगरी, सप्तकोशी, बागमती, कमला, रातु, लखनदेहीर लालबकैया लगायतका प्रमुख नदी तथा खोलाहरूको जलस्तर खतराकोतहभन्दा माथि पुग्ने सम्भावना देखिएको छ । तसर्थ, हामी यो सम्भावित प्राकृतिक प्रकोपको गम्भीरतालाई आत्मसात गर्दै सम्पूर्ण प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन विनम्र अनुरोध गर्दछु ।
सबैभन्दा पहिले नदी किनारका तथा डुबानको जोखिममा रहेका बस्तीहरूका नागरिकलाई नजिकैका उच्च स्थानमा अवस्थित सुरक्षित भवन, धर्मशाला, विद्यालय र सार्वजनिक भवनहरुमा तत्काल सर्नका लागि अपिल गर्दछु ।आफ्नो अमूल्य जीवन र परिवारलाई सुरक्षित राख्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।
नदी, खोला र नहरहरू नजिक आवत–जावत सकभर कम गरौँ ।पानी जमेको ठाउँमा हिँड्दा वा घर बाहिर निस्किँदा बिजुलीका तार वा पोलहरूबाट टाढा रहौँ ।धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याऔँ ।जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहले जारी गर्ने सूचनाहरूलाई ध्यान दिएर पालना गरौँ । प्रदेश सरकार यो विपत्तिको सामना गर्न पूर्ण तयारी अवस्थामा छ । हामीले निम्न कदमहरू चालिसकेका छौँ र चौबीसै घण्टा निगरानी गरिरहेका छौँ ।
मधेश प्रदेश प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विपद् उद्धार टोलीहरूलाई सम्भावित जोखिम क्षेत्रहरूमा तयारी अवस्थामा राखिएको छ । आवश्यक पर्ने डुङ्गा, लाइफ ज्याकेट र अन्य उद्धार सामग्रीहरूको भण्डारण सुनिश्चित गरिएको छ ।
हामीले संघीय सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित स्थानीय तहहरूसँग निरन्तर समन्वय गरिरहेका छौं ।
यस सम्भावित प्रकोपकोघडीमा हामी सबै एकताबद्ध भएर काम गर्नुपर्छ । तपाईंहरूको सानो सहयोगले पनि ठूलो जनधनको क्षति टार्न सकिन्छ । सबै युवाहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूर नागरिक समाजलाई सूचना संप्रेषण गर्न र जोखिम न्यूनिकरणका लागि आवश्यक तयारी अवस्थामा रहन आग्रह गर्दछु ।
अन्त्यमा, म फेरि पनि सबैलाई सजग, सतर्करसुरक्षित रहन आग्रह गर्दछु । प्रदेश सरकार तपाईहरुको साथमा छ । कुनै पनि समस्या परेमा वा सहयोग चाहिएमा तत्काल नजिकको सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालय वा मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयमा सम्पर्क गर्नुहोला ।
हामी मिलेर यो सम्भावितप्रकोपलाई पराजित गरौँ । जय मधेश ,जय नेपाल,
मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय,
सम्पर्क व्यक्तिः– प्रदेश सचिव श्री उद्धव प्रसाद रिजाल
सम्पर्क नं।:– ९८५४०४४४४५

Leave a Reply