
काठमाडौं । कुनै पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा लाग्दैमा सरकारले उनलाई दिएको सुरक्षा फिर्ता गर्ने कुनै कानून, कार्यविधि र नियमावली छैन । तर, यतिबेला पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हालत खराब छ ।
उनले पूर्वप्रधानमन्त्रीको हैसियतमा पाउने गाडी, सुरक्षालगायत कुनै पनि सुविधा पाएका छैनन् । बरु, भएका सम्पूर्ण सुरक्षाकर्मी मंगलबार फिर्ता भएका छन् ।
गृह प्रवक्ता सहसचिव आनन्द काफ्लेलाई नेपालको सुरक्षा फिर्ताबारे प्रश्न गर्दा उनले कार्यविधिको हवाला दिँदै सशस्त्र प्रहरीका ११ जना सुरक्षाकर्मीमात्रै फिर्ता गएको बताए ।
सुरक्षा जनशक्तिलाई विभिन्न राजनीतिक दलका नेताको व्यक्तिगत सुरक्षा र घरेलु काममा खटाउने क्रमको अन्त्य गर्न पटक पटक गृहमन्त्रीस्तरको निर्देशन आउने गरेको र त्यसको कार्यान्वयन अहिले भएको प्रवक्ता काफ्ले बताए ।
त्यही क्रममा पूर्वप्रधानमन्त्री नेपालसहित अन्य पूर्वप्रधानमन्त्रीसँग रहेका सशस्त्रका फजुल जनशक्ति कटौती गरिएको उनको भनाइ थियो ।
उनले भ्रष्टाचार मुद्दा वा अन्य कुनै कारणबारे केही बताउन चाहेनन् । तर, निजी सुरक्षा अधिकृत ९पिएसओ० को जिम्मेवारीमा रहेका प्रहरीका दुई अधिकृत फिर्ताबारे उनले अनभिज्ञता प्रकट गरे ।
बुधबारदेखि शुरु भएको नेपालको पार्टी नेकपा एसको केन्द्रीय कमिटी बैठकमा उनी सुरक्षाकर्मीबिना नै देखिए । तर, प्रहरीले नेपालसँग अझै दुई सुरक्षाकर्मी रहेको दावी गरिरहेको छ ।
नेपाल प्रेसले यसबारे केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेसँग प्रश्न गर्दा उनले उक्त दावी गरेका हुन् । त्यसअघि नै नेपालको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका वरिष्ठ सई सरोज विष्टलाई नेपाल प्रेसले सम्पर्क गरेको थियो ।
उनले आफू मंगलबारदेखि नै आफ्नै हेडक्वार्टरमा तानिएको बताएका थिए । प्रहरी प्रवक्ताको दावीपछि नेपाल प्रेसले बैठकस्थलमा नेपालका सुरक्षाकर्मी खोज्यो, तर कोही भेटिएनन् ।
सुरक्षाकर्मीमात्रै होइन, सवारी साधनको सुविधाबाट पनि नेपाल बञ्चित छन् । उनले आफ्नै स्कोरपियो गाडी चढ्ने गरेका थिए । सामान्य रुपमा बिग्रिएका कारण जेनजी आन्दोलन अघि नै बनाउनका लागि ग्यारेजमा पठाइएको थियो । भदौ २४ गते अरु कसैले पठाइदिएको गाडी चढेर उनी प्रतिपक्षी दलको बैठकमा भाग लिन सिंहदरबार पुगे ।
त्यहीँ हुँदा तोडफोड र आगजनी भएपछि सेनाले उनीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि त्यहीँभित्र रहेको सैनिक व्यारेकमा लगेर राख्यो । कोटेश्वरस्थित नेपालको घरमा पनि आगलागी भयो ।
ग्यारेजमा थन्किएको स्कोरपियोको साँचो घरमै थियो । आगलागीमा त्यो पनि जल्यो । त्यसपछि साँचोको ढिक्का नै फेर्नुपर्ने अर्को खर्च थपिएका कारण अहिलेसम्म उनको उक्त गाडी ग्यारेजमै थन्किएको छ ।
सैनिक नियन्त्रणबाट मुक्त भएर नेपाल फर्किएपछि साथी, सहयोगीका गाडीमा चढ्न थाले । बढीजसो सम्धी तथा पार्टी नेता सोमप्रसाद पाण्डेको सहयोग लिने गरेका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा।बाबुराम भट्टराई, झलनाथ खनाल,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीदेखि केपी शर्मा ओलीसम्मले सरकारी सुविधाको सवारी साधन पाइरहेका छन् ।
जेनजी आन्दोलनका क्रममा देउवा, दाहाल र ओलीका गाडी जलाइयो । उनीहरुलाई गृह मन्त्रालयको आन्तरिक शाखाले गाडी पठाइदियो । तर, नेपालले पाएनन् ।
नेकपा एसका पोलिट्व्युरो सदस्य लक्ष्मण केसीले नेपालसँग रहेका सुरक्षाकर्मी फिर्ता भएको पुष्टि गरे । ‘पूर्वाग्रहवस फिर्ता गरेको भन्ने बुझिन्छ’, उनले भने । पूर्वप्रधानमन्त्रीलाई सुरक्षा दिने राज्यको दायित्व हो, तर यसरी सम्पूर्ण सुरक्षाकर्मी फिर्ता हुनु गम्भीर विषय रहेको उनको भनाइ छ ।

Leave a Reply