जेनजी आन्दोलनपछि प्रमुख दलहरू महाधिवेशनतिर- होला नेतृत्वको रुपान्तरण ? 

काठमाडौं । जेन-जी आन्दोलनले नेतृत्व परिवर्तनको दबाब बढाएसँगै सबै ठूला राजनीतिक दलहरू महाधिवेशन केन्द्रित बनेका छन् । एकातिर फागुन २१ मा घोषित आमनिर्वाचन र अर्कोतिर महाधिवेशनको तयारी गर्नुपर्ने दोहोरो चटारोले दलहरूलाई गाँजेको छ ।

विघटित प्रतिनिधिसभाका पाँच वटा ठूला दल कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा यति बेला महाधिवेशनको तयारी र छलफलमा केन्द्रित बनेका हुन् । जेनजी आन्दोलनको हवाला दिँदै सबै पार्टीभित्र एउटा खेमाले नेतृत्वमा रुपान्तरण र पुस्तान्तरणको आवाज उठाइरहेका छन् । उनीहरूको वास्तविक शक्ति परीक्षा महाधिवेशनमा हुने छ ।

पार्टीभित्रबाटै दबाब बढेपछि नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गराएका छन् । कांग्रेस, रास्वपा र राप्रपाभित्र महाधिवेशन केन्द्रित बहस चलिरहेको भए पनि मिति टुङ्गो लागेको छैन ।

साना दलहरूमध्ये नेकपा एकीकृत समाजवादीमा पनि अध्यक्ष माधव नेपाललाई नेतृत्व छाड्न दबाब छ भने डा. सिके राउत नेतृत्वको जनमतभित्र रडाको मच्चिएको छ । निर्वाचनअघि नै नेतृत्व फेरेर जानुपर्ने बहस यी पार्टीमा समेत उठिरहेको छ।

कांग्रेसमा चुनावअघि कि पछि ?

नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा १५ औँ महाधिवेशनबाट नेतृत्व छाड्नुपर्ने बाध्यतामा छन् । उनले आफ्नो स्वास्थ्य अवस्थालाई देखाएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकिसके । सम्भवतः उनले अब फेरि सक्रिय नेतृत्व सम्हाल्ने सम्भावना क्षीण छ ।

देउवाले कार्यवाहक तोके पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला मंसिरमै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन् । त्यही अनुसार महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा मंसिर २७ देखि २९ सम्म गर्ने गरी दुई विकल्पसहित महाधिवेशनको मिति प्रस्ताव गरेका छन् । बैठक अब कात्तिक १३ गतेबाट निरन्तर बस्नेछ ।

तर, संस्थापन पक्ष मंसिरमा महाधिवेशन गर्न सम्भव नहुने निष्कर्षमा पुगिसकेको छ । फागुनमा चुनाव भए वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने देउवा निकट नेताहरूको अडान छ । देउवा कार्यकारी भूमिकाबाट बिदा हुँदा आफूनिकट नेताहरूलाई सेटल गर्न चाहन्छन् । आउँदो चुनावमा आफैँले टिकट बाँड्ने उनको धोको छ ।

महामन्त्रीद्वय भने मंसिरमा नियमित नभए विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन् । त्यसमा इतर पक्षका नेता कोइरालाको पनि साथ छ । उनीहरूले विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टी कार्यालयमा समेत दर्ता गरेर दबाब बढाइरहेका छन् ।  तत्काल नियमित वा विशेष महाधिवेशन नबोलाइए छुट्टै भेला गर्ने उनीहरूको चेतावनी छ ।

महाधिवेशनबारे पार्टीमा छलफल चलिरहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उनले भने, ‘मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्ने छ । जति सकिन्छ न्यूनतम समय लिने र विधि–प्रक्रिया पुर्‍याउनुपर्छ भनेका हौँ । अब डेढ महिना मात्रै बाँकी छ, महाधिवेशन भनेको कुनै ख्यालठट्टा त होइन ।’

कांग्रेसमा देउवा बिदा भएपछि नेतृत्वको प्रमुख आकांक्षीका रूपमा कार्यवाहक सभापति खड्का, महामन्त्री थापा र डा. शेखर कोइराला देखिएका छन् ।

एमालेको मंसिरमै

एमालेको हालै बसेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म ११ औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पार्टीको निर्णयअनुसार आवश्यक तयारीको काम अघि बढाइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । पार्टी सदस्यताको विषय टुङ्गो लागिसकेको भन्दै आगामी साता सचिवालय बैठक बसेर महाधिवेशन प्रतिनिधिबारे निर्णय गर्ने उनले जानकारी दिए ।

एमालेमा पनि जेनजी विद्रोहपछि अध्यक्ष केपी ओलीलाई नेतृत्व छाड्न दबाब परेको थियो । हालै बसेको सचिवालयदेखि केन्द्रीय कमिटी बैठकमा पनि ओलीलाई अब नेतृत्वबाट बिदा हुनुपर्ने पक्षमा थुप्रै नेताहरू खुले । तर, ओलीले भने यसअघि नै दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाएर तेस्रो पटक अध्यक्ष बन्न बाटो खुला गरिसकेका छन् ।

नयाँ नेतृत्वका लागि दोस्रो पुस्ताका केही नेताहरूले जोडबल गरिरहे पनि ओलीले नेतृत्व नछाड्ने प्रस्ट संकेत दिइसकेका छन् ।

गत आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भनेका थिए, ‘शेरबहादुरजीले कार्यवाहक दिनुभयो, उहाँ उपचार गर्न जानुभएको छ त कार्यवाहक दिनुहुन्न ? म पाँच फिटका पोथ्रा नाघेर हिँड्छु अनि कार्यवाहक दिनुपर्ने ? बेकारको । किन दिने कार्यवाहक ?’

माओवादीभित्र महाधिवेशनसँगै एकतामा जोड

जेनजी आन्दोलन लगत्तै अवस्था सामान्य भएपछि दसैँअघि नै माओवादीले केन्द्रीय कमिटी भङ्ग गरेर मंसिरमा महाधिवेशन गर्ने निर्णय ग¥यो । प्रचण्ड महाधिवेशन आयोजक समितिको संयोजक बनेका छन् ।

मंसिरमा महाधिवेशनको घोषणा गरेको भए पनि माओवादीले अझै मिति तोकेको छैन । अहिले महाधिवेशन केन्द्रित गतिविधिभन्दा पनि माओवादी समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पार्टी एकताको गृहकार्यमा अघि बढेको छ ।

माओवादीको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले भने, ‘राजनीतिक र वैचारिक रूपमा त महाधिवेशनको तयारी गरिरहेका छौँ, अब कार्यविधि बनाउन बाँकी छ । लगत्तै सचिवालय बैठक बसेर कार्यविधि बनाएपछि थप प्रक्रिया अघि बढ्छ ।’

कार्यविधि बनेको १५ दिनभित्र महाधिवेशन प्रतिनिधि छनोट भइसकेपछि मात्रै महाधिवेशनको मिति तोक्ने तयारी रहेको उनले बताए ।

उनले थपे, ‘यदि अरू पार्टीसँग एकता भए महाधिवेशन हुँदैन । राष्ट्रिय भेला वा कुनै कार्यक्रम गरेर पछि एकताको महाधिवेशन हुन्छ । एकता नभए नियमित महाधिवेशन हुन्छ ।’

उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकताको कुरा लगभग टुंगिसकेको जिकिर गरे ।

उनले थपे, ‘सांगठानिक केही विषय बाँकी छन् । एकता गर्ने नै भएपछि धेरै नलम्ब्याऔँ भन्ने कुरा भएको छ । विप्लवसँग छलफल भए पनि प्रक्रियागत ढङ्गले भने अघि बढेको छैन ।’

माओवादीको नेतृत्वमा झन्डै ३५ वर्षदेखि प्रचण्ड नै छन् । जेनजी विद्रोहपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मासहित केही नेताहरूले प्रचण्डले नेतृत्व छाड्नुपर्ने कुरा उठाएका थिए । प्रचण्ड भने अन्य पार्टीसँग एकता गरेर अझै बलियो बन्ने रणनीतिमा देखिन्छन् ।

सार्वजनिक रूपमा भने प्रचण्डले आफू अध्यक्ष पद छोड्न तयार रहेको बताउँदै आएका छन् ।

उनी भन्छन्, ‘कतिपय मानिसहरूले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन । के बलिदान गर्न पर्छ गर्न तयार छु । आजै म तपाईँहरूको अगाडि घोषणा गर्न चाहन्छु । देश बच्न प¥यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो । मैले यिनै कुरा विचार गरेर नै केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा बदलेको हो । अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु ।’

तर, प्रचण्ड पक्षधर नेताहरू भने अझै एक कार्यकाल नेतृत्वमा उनै रहनुपर्ने पक्षमा छन् ।

रास्वपाको महाधिवेशन कहिले ?

रवि लामिछाने नेतृत्वको रास्वपामा पनि जेनजी आन्दोलनपछि पार्टी पुनर्गठनको बहस चर्किँदो छ । सभापति लामिछाने सहकारीको रकम अपचलनको आरोप लागेपछि एक वर्षदेखि कारागारमा छन् ।

रास्वपाले फागुन ७ देखि ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर, फागुन २१ मा निर्वाचनको मिति तोकिएपछि अर्को निर्णय गर्न बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए ।

उनले भने, ‘महाधिवेशन र पछिल्लो घटनाक्रमबारे छलफल गर्न कार्तिक २१ र २२ गते चितवनको सौराहामा विस्तारित बैठक बस्दै छ । महाधिवेशनबारे त्यही बैठकले निर्णय लिन्छ ।’

झाले फागुनमै महाधिवेशन गर्ने गरी पार्टीले सम्पूर्ण तयारी अघि बढाइसकेको अवस्थामा नयाँ परिस्थिति आइपरेको बताए ।

उनले थपे, ‘फागुनमा पूर्वनिर्धारित थियो । त्यहीअनुसार तयारी गरिसकेका थियौँ । अब चुनावको सुनिश्चितताले नै महाधिवेशनको निर्धारण गर्छ ।   फागुन २१ मा चुनाव भएपछि त्यो भन्दा अगाडि महाधिवेशनमा लाग्दा असर गर्छ भनेर हामी चुनाव केन्द्रित नै हुने भनेका छौँ । त्यसपछि महाधिवेशनको खाका बनाएर अघि बढ्छौँ ।’

उनले अब चुनावअघि महाधिवेशन हुने सम्भावना कमै रहेको बताए । रास्वपामा अहिले केन्द्रीय सदस्य डा. तोसिमा कार्की, गणेश कार्कीलगायत नेताहरूले पार्टी पुनर्गठनको बहस पनि छेडिरहेका छन् ।

चुनावअघि नै गर्ने राप्रपाको प्रयास

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि महाधिवेशनको मिति तोक्ने दबाबमा छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार महाधिवेशनको मिति तोक्नको लागि नै २७ र २८ गते केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

उनले भने, ‘कार्यसम्पादन समिति बैठकले अब बस्ने केन्द्रीय समितिबाट महाधिवेशनको मिति तोक्ने निर्णय गरिसकेको छ । त्यसअनुसार मिति र स्थान घोषणा हुन्छ ।’

चुनावअघि नै महाधिवेशन गरेर अध्यक्षमा लिङ्देनलाई नै सर्वसम्मत गर्ने प्रयास रहने श्रेष्ठले बताए।

उनले थपे, ‘राप्रपालाई देशले खोजेको बलियो राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्नुपर्छ । मंसिर अन्तिमसम्म जिल्ला अधिवेशन सक्न भनेका छौँ । विधानले पनि उहाँलाई एक पटक दोहोरिन दिन्छ । समाप्त भएको पार्टीलाई राष्ट्रिय राजनीतिमा देखिने शक्ति उहाँले नै बनाउनुभएको हो ।’

राप्रपाभित्र अहिले दुई गुटको संघर्ष छ । महामन्त्री डा‍. धवलशम्शेर राणाले लिङ्देनसँग असन्तुष्टि जनाउँदै आगामी महाधिवेशनमा भिड्ने तयारी गरिरहेका छन् । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि लिङ्देनसँग खुसी छैनन्।

साना दलमा पनि बहस

जेनजी आन्दोलनपछि नेकपा एकीकृत समाजवादी, जनमत, जसपा नेपाल, लोसपासहित साना दलहरूमा समेत नेतृत्व परिवर्तनको बहस चलेको छ । नेकपा एसका अध्यक्ष माधव नेपालसँग महासचिव घनश्याम भुसालसहित नेताहरू जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, रामकुमारी झाँक्रीलगायत नेताहरूले बैठकमै राजीनामा मागिसकेका छन् ।

सम्मानित नेता झलनाथ खनालसहित ठुलो पङ्क्ति माओवादीसँग एकता गर्ने विषयमा पनि सहमत छैन । अहिले माओवादीसँग एकता भन्दा पनि पार्टी पुनर्गठन गरेर चुनावको तयारी गर्नुपर्नेमा ती नेताहरूको जोड छ । अध्यक्ष नेपाल मात्रै होइन, सम्मानित नेता झलनाथ खनाललाई पनि नेतृत्व छाडेर दोस्रो पुस्तालाई छाड्नुपर्ने दबाब छ ।

गएको चुनावबाट उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टी भने छिन्नभिन्न बनेको छ । अध्यक्ष राउतले कारबाही गरेपछि उपाध्यक्ष  दीपककुमार साहले नयाँ पार्टी गठन गरिसकेका छन् । उपाध्यक्ष अब्दुल खानसहित शीर्ष नेताहरूले सामूहिक राजीनामा दिएर अलग भएका छन् ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि कात्तिक १९ र २० गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको छ । जसपा नेपालमा लामो समयदेखि उपेन्द्र यादव नै नेतृत्वमा छन् । लोसपामा पनि महन्थ ठाकुरले नै नेतृत्व गरिरहेका छन् । यी बाहेक अन्य दलहरूमा पनि पुनर्गठनको बहस चलिरहेको छ ।

जेनजी आन्दोलनपछि नैतिकता देखाउँदै नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले भने अध्यक्ष पद त्यागे । महाधिवेशनमा जानको लागि वरिष्ठ उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा आयोजक समिति घोषणा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *