एमाले बाहेकका दल निर्वाचनमा जान तयार, प्रधानमन्त्रीले के भनिन् ?

काठमाडौं ।  सरकार, मुख्य राजनीतिक दलका प्रतिनिधि तथा जेनजी प्रतिनिधिहरूबीच भएको छलफल करिब चार घण्टा चल्यो।

बालुवाटारमा भएको छलफलमा सरकारले तोकिएकै समयमा निर्वाचन गराउन वातावरण बनाउन दलहरूलाई आग्रह गरेको थियो भने दलहरूले सरकारबाटै त्यस्तो वातावरण तयार हुनु पर्नेमा जोड दिएका थिए।

मुलुकको वर्तमान अवस्था र त्यसको निकासबारे छलफलमा उपस्थित राजनीतिक दल तथा जेनजी प्रतिनिधिहरूले धारणा राखेका थिए।
नेकपा (एमाले) तर्फबाट सहभागी भएका महेश बर्तौलाले अहिलेको असहज परिस्थितिमा संसद् पुनःस्थापना गरेर अगाडि बढ्नुपर्छ भन्ने धारणा राखेका थिए।

उनले अहिलेको सरकार असंवैधानिक रहेको पनि बताएका थिए। कतिपय जेनजीको माग पूरा गर्नलाई पनि संसद् आवश्यक पर्ने एमालेको धारणा रहेको बर्तौलाले सुनाएका थिए।

छलफलमा एमाले तर्फबाट महेश बर्तौलाका साथै छितिज थेपे उपस्थित थिए। उनीहरूले पार्टीको धारणा राख्दै संसद् पुनःस्थापना बारे बताएका थिए।

जेनजी प्रतिनिधी उपार्जुन चाम्लिङ भन्छन्, ‘हामीले चाहिँ चुनावको मिति तोकिइसकेको र अहिलेकै सरकारले चुनाव गराएर त्यसै सांसदले जेनजीका बाँकी मागहरू पूरा गर्ने धारणा राख्यौं। एमालेले संसद् पुनःस्थापना गर्ने कुरा उठायो। ’

वार्तामा सहभागी कांग्रेस महामन्त्री गगन थापाले आफू चुनावकै पक्षमा रहेको तर समय निकै नै छोटो भएको धारणा राखेका थिए।
अलि हतार भयो भन्ने धारणा राखे पनि चुनाव कहिले गर्नु ठीक होला भनेर स्पष्ट भने भनेका थिएनन्। चाम्लिङका अनुसार मधेसवादी दलहरू पनि चुनावकै पक्षमा थिए।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले संविधान र संघीयता खारेज गर्ने कुरा उठाएको थियो। राप्रपाले शक्ति सन्तुलनका लागि राजाको आवश्यकता रहेको पनि बतायो ।

सागर ढकालले दललाई बाहिर राखेर जान नहुने बताए। उनले पहिलो पटक भएको सर्वदलीय, सर्वपक्षीय छलफल उपलब्धि पूर्ण रहेको बताए।
‘चुनाव गर्नैपर्छ। सुरक्षा कसरी गर्ने भन्ने विषयमा छलफल भयो,’ उनले भने ‘चुनावसँगै भ्रष्टाचारका मुद्दाहरू पनि उठाउन बाँकी छन् र ती विषयमा पनि कुराहरू भएका छन्। ’

ढकालले बैठकमा सुधारिएको निर्वाचनको आवश्यकता रहेको र विदेशमा रहेका नेपालीहरूको लागि पनि मतदानको व्यवस्था गर्न माग गरेका थिए।छलफलमा एमालेको धारणा उदृढ गर्दै उनले भने, ‘केही दलहरू चुनाव हुँदैन भन्नेमा छन्। ’

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच भएको छलफल उपलब्धिमूलक भएको बताए।

‘जेनजी प्रतिनिधि र राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था थियो, त्यो अन्त्य भएको छ, ’ उनले भने।

खरेलका अनुसार चुनाव, सुशासन, भ्रष्टाचार र जेनजी आन्दोलनका समयमा भएका क्षतिका विषयमा छलफल भएको थियो।
सबै राजनीतिक दलहरूले चुनावमा जाने विषयमा सकारात्मक प्रतिक्रिया देखाएका थिए।

बैठकमा एमालेले चुनावभन्दा पहिले संसद् पुनःस्थापना गर्ने विषय उठाएको थियो।यस विषयमा सञ्चारमन्त्रीले घुमाउरो जवाफ दिँदै भने, ‘चुनावमा जाँदैनौं भन्ने छैन; चुनावमा भाग लिनुपर्छ। सुरक्षाको वातावरण मिलाउन सकिन्छ कि सकिंदैन भन्ने विषयमा प्रश्न उठाइएको थियो।’

छलफलमा लुटिएको हतियार र त्यसले चुनावमा पार्न सक्ने प्रभावबारे पनि चर्चा भएको थियो। गृहमन्त्रीले लुटिएका हतियार र फरार कैदीहरू फिर्ता हुँदै गरेको भन्दै आश्वस्त पारेका थिए।

अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि हालतमा चुनाव गराउने बताइन्। उनले भनिन्, ‘मैले कुनै पनि हालतमा चुनाव गराएर मात्रै यो सरकार छाड्छु। ’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *