राजु पाण्डेको रिट खारेज- निलम्बन सदर भएको हो ?

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले आफूलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णयविरुद्ध हालेको रिट आज खारेज गर्‍यो । यसलाई पाण्डेमाथिको निलम्बन सदर भएको सोझो अर्थमा बुझिएको छ ।

आदेशको संक्षिप्त पाठ अदालतले नदिएको हुँदा यसको अन्तर्य स्पष्ट हुन सकेको छैन । तर, पाण्डे निकट स्रोतले नब्युँतिने दाबी गरेको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृतबाटै निलम्बन निष्क्रिय गरिएको हुँदा पाण्डेको रिट खारेज भएको स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘उहाँमाथिको कारबाही प्रमुख प्रशासकीय ज्यूबाटै फुकुवा भइसकेकाले रिट निवेदन खारेज भएको हामीले बुझेका छौँ ।’

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेका कारण प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय लिएका थिए । उक्त निर्णयविरुद्ध पाण्डे गत जेठ २६ गते अदालतमा रिट लिएर गए । अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्‍यो । त्यसपछि पाण्डे पुन आफ्नो जिम्मेवारीमा फर्किए ।

यसैबीच पाण्डेमाथि छानबिनका लागि गठन गरेको समितिले उनलाई क्लीन चिट दिएको बुझिएका छ । सोही आधारमा प्रशासकीय अधिकृत गुरागाईँले उनलाई कारबाही फुकुवाको पत्र दिए । यद्यपि, उक्त पत्रको बोधार्थ उपमेयर लगायत जनप्रतिनिधिहरूलाई दिइएको छैन ।

आज उच्चले पाण्डेको रिट खारेज गर्ने अन्तिम निर्णय सुनाएको छ । महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले आदेश आफूकहाँ नआएकाले यसबारे केही भन्न नसक्ने बताए । ‘के आधार र कारण देखाएर रिट खारेज गरिएको हो भन्ने बुझेपछि मात्रै नगर प्रमुखको निलम्बन कायम रहे/नरहेको भन्न सकिन्छ,’ उनले भने ।

उनले कारबाही फुकुवा भइसकेको कारण देखाएर रिट खारेज गरिएको हो भने पाण्डे नगरप्रमुखमा यथावत् रहने बताए ।

यस विषयमा बुझ्न पाण्डेसँग सम्पर्क गर्दा उनले आदेशबारे केही बोल्न चाहेनन् । उनले यति मात्र भने, ‘बाहिर चर्चा भएजस्तो होइन । म भोलि पनि कार्यालय आएर यथावत् काम गर्छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *