
काठमाडौं । अमेरिकाबाट फर्किएकी गायिका एलिना चौहानले अर्की गायिका कला लम्सालप्रति असन्तुष्टि पोखेकी छन् । आफू बीचमै फर्किनुपर्दा लम्सालले खुसी मनाएको र खुच्यूँ गरेको उनको आरोप छ ।
एलिनाले हिजो नेपाल फर्किएलगत्तै आफूलाई दुई महिनाको कार्यक्रममा लैजाने आयोजकप्रति आक्रोश व्यक्त गरेकी थिइन् । आयोजकसँग विवाद भएपछि आफू कार्यक्रम नसकीकन आफैँ टिकट काटेर फर्किएको उनको भनाइ थियो ।
यसअघि सँगै अमेरिका गएकी कला लम्साल बिरामी परेपछि केही दिनमै फर्किनुपरेको थियो । हालै मात्र एक अन्तरवार्तामा लम्सालले आफू बिरामी पर्दा आयोजकले जबरजस्ती नेपाल पठाएको बताएकी थिइन् । आफूलाई एलिना र प्रताप दासले पनि साथ नदिएको उनले गुनासो गरेकी छिन् ।
यस सम्बन्धमा आज सञ्चारकर्मीहरूसँग बोल्दै एलिनाले कला लम्साललाई जबरजस्ती आयोजकले नपठाएको दाबी गरिन् । बिरामी भएर गाउन नसकेपछि कला आफैँ फर्केको उनको भनाइ छ ।
एलिनाले भनिन्, ‘उहाँ म जसरी फर्किनु भएको होइन । पुरानो बिरामी बल्झेर, औषधि नबोकेर, गाउन नसकेर फर्किनुभएको हो । कसैले जबरजस्ती टर्चर दिएर, कुटेर, दुर्व्यवहार गरेर फर्केको होइन ।’
अमेरिकामा छँदा आयोजकसँग केही बोल्न नसकेको र नेपाल आएर अन्तरवार्ता दिएको भन्दै एलिनाले कलामाथि थप आरोप लगाइन् ।
उनले थपिन्, ‘उहाँ आयोजकको अगाडि मुखै खोल्न नसक्ने, उहाँको भित्री मनमा के छ भन्ने कसरी थाहा पाउने ? मलाई गाह्रो भयो, नेपाल फर्किएर थेरापी गर्छु भन्नुभएको हो । अंगालो मारेर छुटेका हौँ । मैले सहयोग गरेको कुरा भगवानले देखेका छन् । यदि मलाई गाली खुवाएर उहाँको रोग निको हुन्छ, उहाँलाई शान्ति मिल्छ भने ठिक छ, अझै गाली खुवाउनुस् ।’
कलाले आफूसित चित्त दुखाउनुपर्ने कारण नरहेको पनि एलिनाको भनाइ छ । आफ्नो लागि आफैँले लड्नुपर्ने उनले बताइन् ।
‘उहाँलाई पिडा थियो होला, फर्किन म थिएन होला । मलाई मन छैन, नपठाउनुस् भनेर आयोजकसँग बोल्न सक्नुपर्थ्यो । आफ्नोलागि बोल्न नसक्नेले अरूलाई दोष लगाएर हुन्छ रु आफ्नो लागि आफैँले लड्नुपर्छ । अर्कालाई ब्लेम गर्नु एकदमै नराम्रो हो । म त आफ्नो लागि आफैँ बोल्न पर्याप्त छु । कसैको जरुरत पर्दैन । कसैलाई ब्लेम पनि गर्दिनँ । केही गर्दिनँ । उहाँ बोल्नुहुन्न भने जबरजस्ती गर्ने कुरा पनि भएन ।’
कलाको अवस्था धेरै गम्भीर पनि नरहेको उनले बताइन् ।
‘मर्न लागेको बिरामीलाई त प्लेनै चढाउँदैन नि एक्लै । ढाडले गर्दा हलचल गर्न गाह्रो भएको हो उहाँलाई । अमेरिकामा उपचार नेपालको जस्तो इजि हुँदैन । त्यो हिसाबले सबै आयोजकले मलाई के भएको भनेर प्रेसर दिएपछि क्लियर गर्नलाई स्टाटस लेखेको थिएँ । मैले सत्य कुरा लेखेको उहाँले पचाउन नसकेको हो । मैले उहाँलाई डुबाएर के हुन्छ ? उहाँलाई उठाएर के हुन्छ ? अहिले उहाँ खुसी हुनुहुन्छ होला । उहाँले अहिले खुच्चिङ बजाइरहनुभएको छ । यो उहाँको कुरा हो । उहाँलाई सन्तुष्टि मिलिरहेको छ, खुसी मिलिरहेको छ भने ठिक छ, आनन्दित हुनुस् । अझै ताली पड्काइ पड्काइ नाच्नुस्,’ एलिनाले भनिन् ।
आफूले नेपाल आएर कलालाई म्यासेज गरे पनि रिप्लाई नआएको उनले बताइन् ।

Leave a Reply