
रुपन्देहीको भैरहवास्थित पञ्चकन्या ग्रुपको उद्योग परिसर अहिले असामान्य रूपमा शान्त छ । जहाँ बिहानैदेखि मेसिन गर्जिन्थे, ट्रकहरू लोड–अनलोडमा व्यस्त रहन्थे र कामदारहरूको आवतजावतले गेट भरिभराउ जस्तै देखिन्थ्यो ।
तर, अहिले उद्योगको अवस्था अर्कै बनेको छ । उद्योगमा अहिले न मेसिनको आवाज सुनिन्छ न त मजदुरहरूको चहलपहल नै देखिन्छ । छ त केवल सन्नाटा मात्रै ।
पाँच दशकभन्दा लामो समयदेखि चम्किरहेको पञ्चकन्या उद्योगका मेसिनहरू अहिले एकसाथ शान्त भएका छन् । उद्योग परिसरबाट धुवाँको मुस्लो निस्कन छाडेको छ । हजारौँ मजदुरको रोजगारी अन्यौलमा परेको छ ।
५३ वर्षको इतिहासमा एकै पटक पञ्चकन्या ग्रुपका उद्योगका उत्पादनहरू पूर्ण रूपमा ठप्प भएका छन् । नेपाल विद्युत् प्राधिकरणले गएको शुक्रबार बिजुलीको लाइन कोटेपछि पञ्चकन्या ग्रुपका सबै उद्योग बन्द भएका छन् ।
बिजुली काटिएपछि भैरहवा प्लान्टका सबै उद्योग बन्द भएको पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘विद्युत् प्राधिकरणले शुक्रबारदेखि बिजुली काटेको छ । अहिले भैरहवा प्लान्टभित्र रहेका सबै उद्योग बन्द भएका छन् । उत्पादन ठप्प छ ।’
यसरी सबै उद्योगमा एकैसाथ उत्पादन ठप्प भएर उद्योगीदेखि कामदारसम्म अन्यौलमा परेको सम्भवतः पहिलो पटक हो । यसअघि यसरी उद्योगमा ढोका लगाउने पर्ने स्थिति नआएको उनको अनुभव छ ।
‘दशकौँदेखि पञ्चकन्याका उद्योग निरन्तर चलेका थिए । तर, यसरी सबै एकैचोटि बन्द भएको यो फरक अनुभव हो’, कार्यकारी निर्देशक श्रेष्ठले नेपाल प्रेससँग भने ।

भैरहवाको औद्योगिक क्षेत्रमा पञ्चकन्या ग्रुपका उद्योगहरू मुख्य रोजगारीको स्रोत हो । हजारौँ कामदारले यिनै उद्योगहरूमा आश्रित भएर परिवार चलाइरहेका छन् । तर, उद्योग बन्द हुँदा त्यहाँका कामदारहरू बेरोजगार बनेका छन् । उत्पादन शून्यमा झरेको छ ।
‘उद्योग अन्धकारमा छ । उद्योग परिसरभित्र क्वार्टरमा बस्नेहरूका लागि जेनेरेटर चलाएर बत्तीको जोहो गरिएको छ । कार्यालयमा पनि त्यसरी नै बत्ती बालिएको छ’, उनले भने ।
०००
देशकै ठूलो पञ्चकन्या ग्रुपका उद्योग बन्द हुनुको कारण हो– विद्युत् महसुल विवाद । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल विवादकै कारण विद्युत् प्राधिकरणले गएको शुक्रबार उद्योगको लाइन काट्यो ।
हुन त यो विवाद अहिले नयाँ सिर्जना भएको भने होइन । डेडिकेटेड तथा ट्रंकलाइनको विवाद २०७५ सालदेखि कै हो । यसको महसुल उठाउने विषय २०७५ साल यता सुल्झिन सकेको छैन ।
प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलो पटक डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौताबारे अध्ययन गरेदेखि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ ।
विशेषगरि कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि यो विवाद उत्कर्षमा पुगेको थियो । अहिले घिसिङ ऊर्जामन्त्री भएपछि विद्युत् महसुल विवाद बल्झिएको छ ।
यो विवाद अदालतदेखि संघीय संसद्को सार्वजनिक लेखा समिति हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।
वि.सं २०७२ सालदेखि २०७५ सालसम्म डेडिकेटेड तथा ट्रंकलाइनबाट बत्ती चलाएको पैसा तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले २०८० सालमा पनि उद्योगहरूमा लाइन काटिदिएको थियो । त्यसबेला सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा न्यायिक समितिले विवाद सुल्झाउने सुझावसहित प्रतिवेदन बुझायो र पछि उद्योगहरूको पुनः लाइन जोडियो ।
यो बीचमा केही उद्योगहरूले महसुल तिरे । तर, केही उद्योगीहरूले भने आफूहरूले डेडिकेटेड र ट्रंकलाईन प्रयोग नै नगरेकाले भन्दै महसुल नतिर्ने अडान लिए । उनीहरूको उद्योगमा फेरि लाइन काटियो । त्यसबेला सरकारसँग उद्योगीहरूले गुहार मागेपछि लाइन जोडिएको थियो ।
उद्योगहरूमा लाइन जोड्ने र काट्नेक्रम चलिरहेकै बेला घिसिङ विद्युत् प्राधिकरणबाट हटे । उनी प्राधिकरणबाट बाहिरिएपछि साम्य भएको यो विवाद फेरि ऊर्जामन्त्री भएपछि महसुल उठाउन प्रयास थालियो । पदभार ग्रहणकै दिन उनले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल उठाउने निर्णय गरेका थिए ।
जस अनुसार प्राधिकरणले गत असोज १२ गते उद्योगहरुलाई २१ दिनभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना जारी गर्यो । त्यसबेला प्राधिकरणले किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दियो । तर, उद्योगीहरू बक्यौता तिर्न आएनन् र प्राधिकरणले लाइन काटिदियो ।
लाइन काटिएकाहरूमा पञ्चकन्यासहित २५ वटा उद्योगहरू रहेका छन् । लाइन काटिदा पञ्चकन्या ग्रुपलाई भने ठूलो धक्का दिएको छ । उत्पादन पूर्ण रूपमा ठप्प भएको छ ।

यो समस्या प्राधिकरणले सिर्जना गरेको पञ्चकन्याका कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ । प्रयोग नै नगरेको विद्युतको महसुल तिराउनु खोज्नु अन्याय गर्नु बराबरको रहेको उनको तर्क छ ।
‘हामी सधैँ कानूको पालना गर्ने उद्योगी हौँ । हामीले हरेक महिना नियमित बिल भुक्तानी गर्ने गर्छौँ । हामीले प्रयोग नै नगरेको विषयमा बखेडा खडा गरेर प्राधिकरणले तिराउन खोजेको छ’, उनले भने ।
यो समस्या उद्योगीको नभएर विद्युत् प्राधिकरणको भएकोले आफूहरू कानूनी उपचारमा जाने तयारीमा रहेको उनले बताए । अबको कदमबारे आन्तरिक छलफल गरिरहेको बताउँदै श्रेष्ठले भने, ‘हामीमाथी प्राधिकरणले अन्याय गरेको छ । प्राधिकरणविरुद्ध हामी कानुनी उपचारका जान्छौँ ।’
उनका अनुसार प्राधिकरणको ‘गलत’ कदमका कारण पञ्चकन्या ग्रुपलाई मात्रै होइन, यसका उद्योगहरूमा आश्रित हजारौँ मजदुर र उनीहरूका परिवारको भविष्यलाई पनि अन्धकारमा धकेलिदिएको छ । उद्योग परिसरमा सधैँ हुने मेसिनको कोलाहलको ठाउँमा आज निराश मजदुरहरूको मौनता छाएको छ ।
यो विवादले सरकार र उद्योगीहरूबिचको दूरी मात्रै बढाएको छैन की औद्योगिक क्षेत्रमा संकट पैदा गरेको छ । यो समस्या छिट्टै समाधान नभए देशको अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने देखिन्छ ।
०००
नेपालमा ठूला व्यवसायिक घरानाको समूहको नाम लिनुपर्दा ‘पञ्चकन्या’ अग्रस्थानमै पर्छ । यो सफलता पञ्चकन्या ग्रुपले रातारात प्राप्त गरेको भने होइन । । एउटा सानो किराना पसलबाट शुरु भएको पञ्चकन्याको यात्रा पाँच दशक लामो संघर्षपछि यो स्थानमा आइपुगेको हो ।
पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार पञ्चकन्याको औद्योगिक घरानाको यात्रा कुनै ठूलो सहरबाट नभई इलाममा एउटा सानो किराना पसलबाट सुरु भएको थियो । जसको नेतृत्व संस्थापक प्रेमबहादुर श्रेष्ठले गरेका थिए । पारिवारिक दायित्व र कठिन परिस्थितिका बीच उनले स्थानीय उत्पादनको व्यापारबाट व्यावसायिक यात्रा थालेका थिए । उनै प्रेमबहादुरले बसाएको पञ्चकन्या ग्रुपको जगलाई उनका सन्ततिले पनि इँटा थप्दै थप उचाइका लागि निरन्तरता दिइरहेका छन् ।
श्रेष्ठ परिवारले किराना पसलबाट हुने आम्दानीले झापामा काठ मिल खोले । त्यसमा सफल भएपछि राइस मिल खोले र जसको नाम राखे पञ्चकन्या । सोही नामबाट पञ्चकन्या समूहले भैरहवामा स्टिल उद्योग स्थापना गर्यो । त्यसयता पञ्चकन्या ग्रुपको सफलता निरन्तर जारी छ ।
‘यो यात्रा सहज भने थिएन । निकै उतारचढावपूर्ण रह्यो । हामीले थुप्रै सास्ती भोग्नु परेको दिनहरू पनि छन् । अप्ठ्यारो परिस्थिति आएपनि हामी विचलित भने भएनौँ’, उनले भने ।
देशको आवश्यकता हेरेर आफूहरूले काम गर्दा समेत सरकारले अनेक किसिमको बाधा र व्यवधान गर्ने गरेको कार्यकारी निर्देशक श्रेष्ठले गुनासो गरे । सरकारले अव्यवहारिक नीति अवलम्बन गर्दा उद्योगीहरूले समस्या भोगिरहनु परेको उनको भनाई छ ।
‘थप उज्यालो बनाउने गरी भविष्यको बाटो कोरिरहेको पञ्चकन्यामा सरकारले अन्धकारको बादल पठाएको छ । सरकारका कारण उद्योग बिग्रने डर थपिएको छ । बेरोजगारको सङ्ख्या बढाउन सरकार नै कस्सिएको छ’, श्रेष्ठले भने, ‘परिस्थिति जस्तो आएपनि हामी विचलित हुनेछैनौँ । हाम्रो भविष्य अझै उज्ज्वल बनाउने प्रयास जारी राख्नेछौँ ।’

राज्यले उद्यमीसँगै उद्यमशीलताको आत्मामा अपमान गरेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहु बताउँछन् । ‘यो नीति महसुल होइन, फिरौती जस्तै हो, पैसा देऊ, नभए उद्योग बन्द गर भन्ने एकोहोरो दबाब छ’ उनी भन्छन्, ‘हामीले राज्यलाई राजश्व तिरेका छौँ, हजारौँलाई रोजगारी दिएका छौँ तर अहिले उल्टै राजश्व नतिरेको भनेर उद्योगलाई बदनाम गरियो । यो उद्योगी मात्र होइन, उद्यमशील आत्माको अपमान हो ।’
राज्यकै कारण उद्योग चलाउन नेपालमा अप्ठ्यारो परिस्थिति सिर्जना गरिएको उनको तर्क छ । आज आफूहरूमाथि अन्याय गर्दा भोलि अन्य कुनै उद्योगी पनि लगानी गर्न डराउने उनको जिकिर छ । सरकारले उद्याेगीहरुमाथी अपमान गर्दा त्यसको असर देशको अर्थतन्त्रमा समेत पर्ने उनले बताए ।
महाप्रबन्धक साहुका अनुसार यस ग्रुपले फलामजन्य उत्पादनसहित पाइप, पीभीसी पाइप, रेडिमेड कंक्रिटसहितका उत्पादने गर्दै आएको छ । यसबाहेक यस ग्रुपले बैंक, बीमा, जलविद्युत, निर्माण कम्पनी, अटो, सूचना तथा प्रविधि लगायत क्षेत्रमा पनि लगानी गरेको छ । यस ग्रुपले एक दर्जनभन्दा बढी प्रतिष्ठान समेत चलाइरहेको छ ।


Leave a Reply