
काठमाडौं । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले ‘हामी नेपाल’ भन्ने एनजीओका सञ्चालक सुदन गुरुङको दबाबमा विभिन्न जिल्लाका सिडिओ र एसपीहरूको सरुवा भइरहेको आरोप लगाएका छन् ।
भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले हेटौंडामा गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष लामाले प्रहरीलाई अपराधी पक्राउ नगर्न गृह मन्त्रालयमा बसेर लठैतहरूले दबाब दिइरहेको दाबी समेत गरे ।
लामाले भने-जिल्ला प्रहरी प्रमुखहरूलाई सिधै गृहमन्त्रीज्यूले मौखिकरूपमा मुद्दा दर्ता नगर भनेर दबाब दिइरहनुभएको छ । अनि प्रहरीको मोरल कसरी जोगिन्छ ? सुधन गुरुङ को हो यो देशको ? उसको दबाबमा जिल्लाका सीडीओ, एसपीहरूलाई फर्काउने, देश कता जाँदैछ ? के हुन लाग्यो ? सम्मानित आयोगको अध्यक्षबाट हामी विधिको शासनको पक्षमा रहेकाहरूले अपराधीमाथि कारबाहीको अपेक्षा छ । के यो देशको मूलधारका राजनीतिक पार्टीका मान्छे सबै मरेका हुन् ? हामी कानूनी राज्यको पक्षमा छौं । विधिपूर्वक कारबाही हुन्छ भनेर हामीले प्रहरीलाई दबाब दिएनौं । २० मिनेटमा ५ सय मान्छे जम्मा गरेर हामी पनि हाम्रा घर जलाउने मान्छेहरूका भोलि ५ मिनेटमा घर जलाउन सक्छौँ । जलाऔं ? हामी प्रतिशोधको राजनीति गर्न चाहँदैनौं । जिल्लाका प्रहरीहरू बोल्नुहुन्न, सीडीओ सा’बहरू बोल्न सक्नुहुन्न, तर उहाँहरूलाई दबाब आइरहेको छ मुद्दा दर्ता गरिस् भने भनेर । हामीले हाम्रो धैर्यको बाँध थुनेर राखेका छौं, फुटेको दिन के हुन्छ ?
एमाले नेता समेत रहेका लामाले मल्लिक आयोगले दोषी किटान गरेका तत्कालीन मन्त्रीका छोराहरू अहिले नेपोकिड्स भन्दै अरुको घरमा आगो लगाएर हिँडिरहेको बताए । गृह मन्त्रालयबाटै प्रहरीको मनोबल गिराउने काम भइरहेको भन्दै लामाले घर जलाउने व्यक्तिको भिडिओ पेश गर्दा पनि प्रहरीमा दर्ता नभएको बताए ।

Leave a Reply