
काठमाडौं । प्रतीक्षित चलचित्र ‘जारी २’को ट्रेलरले दुई दिनमा दश लाख भ्युज कटाएको छ । उपेन्द्र सुब्बाद्धारा निर्देशित यस चलचित्र दुई वर्षअघि ब्लकबस्टर बनेको ‘जारी’को सिक्वेल हो । श्रीमान् र श्रीमतीबीचको सुमधुर सम्बन्धबाट सुरु भएको ट्रेलरले चलचित्रको कथा पनि ‘जारी’को सिक्वेल भएको देखाएको छ । घरपरिवार मिलेर बस्दा ‘जारी २’मा भर्खर जन्मिएको छोरी स्कुल जाने भएकी छ । ‘जारी’मा भने बालबच्चा भएको थिएन ।
सार्वजनिक ट्रेलरमा मेला र पर्वको रमाइलो र च्याब्रुङको तालसँगै कथालाई अगाडि बढाइएको छ । तर, सानो कुराले श्रीमान् र श्रीमती अर्थात् दयाहाङ राई र मिरुना मगरबीच खटपट सुरु हुन्छ । आफ्नो छोरीचेलीले श्रीमानको घरमा इज्जत नपाएको थाहा पाएपछि माइतीपक्ष लिन जान्छ। दुईतिरको समाज बस्छ ।
माइतीले दिएको र बजाउन सिकाइदिएको च्याब्रुङ च्यातिएँगै दीनदशा सुरु हुन्छ । ससराली खलकले लखेटेको रिस श्रीमानले श्रीमतीमाथि पोखेपछि ऊ माइती जान्छे । बालख छोरीले आमा खोज्छे, बाउले छोरालाई बुहारी लिन जान दबाब दिन्छन् । एक्लोपनको महसुस गर्न थालेको छोरो अर्थात् दयाहाङको अनुहारमा पश्तापको भारी देखिन्छ । तर, मुखले व्यक्त गर्दैन ।
यता, विजय बरालकी श्रीमती पनि माइत गएपछि घर फर्किन मान्दिन । तर ससुरालीले जिउको बदला जिउ भन्दै नयाँ दुलही अन्माइदिन्छ । तर, दुलहीको एउटा आँखा हुँदैन । त्यसको पिरमा विजयको तनाव देखिन्छ । त्यही बेला घर छोडेर माइत बसेकी मिरुनालाई नयाँ प्रस्ताव आउँछ । ज्वाइँ लिन आएनन्, लाउरेले मन पराएको छ, जारी तिर्न सक्ने हो भने बाटो खुला छ।
अथवा ‘जारी २’ भयो लाहुरेको इन्ट्री । तर, लाहुरे को हो ट्रेलरले सस्पेन्स राखेको छ । यता, मेलामा दयाहाङलाई पनि सोल्टिनीसँग देखिन्छ । लिम्बु संस्कृतिभित्र रहेर वैवाहिक जीवनको उतारचढाव देखाएको ट्रेलरले सिनेमालाई प्रतिक्षित बनाएको छ ।
श्रीमान् र श्रीमतीबीचको प्रेम, खुसी परिवार, श्रीमान् र श्रीमतीबीचको नोकझोक, इज्जतको हुर्मत, बियोग, पुनरमिलनको पखाई र त्यसभित्रको ट्विस्टलाई ट्रेलरमा देखाइएको छ । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ । चलचित्र यही कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Leave a Reply