जेन-जी आन्दोलन: चितवनमा मारिएका २ जना अपराधिक कार्यमा संलग्न रहेको पुष्टि, एकजना भारतीय

चितवन । जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते चितवनमा मृत्यु भएका दुई युवा अपराध र अराजक गतिविधिमा सामेल भएको जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ । सँगै उनीहरूलाई ‘सहिद’ घोषणा गर्न नहुने भन्दै प्रमाणसहित सरकारलाई सिफारिस गरिएको चितवनका सीडीओ गणेश अर्यालले नेपाल प्रेसलाई बताए ।

समितिले २३ र २४ का गतिविधिलाई आन्दोलन, अपराध र अराजकता छुट्याएर आपराधिक क्रियाकलापमा सामेल भएकालाई सहिद घोषणा गर्न नहुने निर्णय गरेको हो ।

चितवनमा २४ गते भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको घरमा आगो लगाएर लुटपाट गर्ने क्रममा १९ वर्षका सरोज गुरुङको जलेर मृत्यु भएको प्रहरी रिपोर्ट छ । गुरुङ ग्यास सिलिन्डर पड्किएर जलेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको रिपोर्ट जिल्ला सुरक्षा समितिसँग रहेको सीडीओ अर्यालले जानकारी दिए ।

मृत्यु हुने अर्का व्यक्ति भारत विहारका १८ वर्षीय साहिल मिया छन् । रत्ननगर नगरपालिकाका मेयरको कार्यकक्षमा उनी जलेको अवस्थामा मृत भेटिएका थिए ।

उनीहरू दुवैजना आपराधिक कार्यमा संलग्न भएको सुरक्षा रिपोर्ट छ । उनीहरूको अपराध विवरणको स्पष्ट विवरणको प्रमाणसहित सुरक्षा समितिले नेपाल सरकारलाई दुई साताअघि नै केन्द्र सरकारमा पठाएको अर्यालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *