
कुनै समयमा नेपाली चलचित्र हलमा राजेश हमालको फोटो मात्र टाँसिएर पनि फिल्म हिट हुने गर्थ्यो। हलको बाहिर लामो लाइन, भित्र सिटको अभाव, अनि पर्दामा हमालको इन्ट्रि हुने बित्तिकै सिङ्गो हल सिठी, ताली र हर्षध्वनीले गुन्जिन्थ्यो। त्यो केवल एक कलाकारको लोकप्रियता होइन, त्यो युगको सामूहिक भावना थियो- जहाँ ‘राजेश हमाल’ नामले नै चलचित्रलाई वैधता दिन्थ्यो।
उनी केवल पर्दाका नायक होइनन्, एउटा पुस्ताको भावनात्मक पहिचान हुन्। दशकौँ बितिसक्दा पनि, नेपाली जनमानसमा राजेश हमालको प्रभाव कम भएको छैन; बरु उनी अझ परिपक्व, विचारशील र आत्मस्वीकृत बनेका छन्। अहिले उनी आफ्नै जीवनका अध्यायहरू पल्टाउँदै, आत्मकथनका स्वरमा प्रस्तुत भएका छन्- पुस्तक “युगदेखि युगसम्म” मार्फत, जसलाई लेखक यज्ञश ले तीन वर्षको धैर्य, शोध र आत्मीय अन्तर्वार्ताबाट तयार पारेका छन्।
यो पुस्तक केवल जीवनी होइन; यो आत्मसंवाद हो- जसमा चलचित्रको भित्री संसारदेखि मान्छेको आत्मभ्रम र आत्मबोधसम्मका तहहरू मिसिएका छन्। यहाँ कला, दर्शन, समाजशास्त्र, राजनीति, मनोविज्ञान, प्रेम र व्यक्तिगत जीवन सबै एकै सूत्रमा बाँधिएका छन्। यज्ञश कहिले कठोर अन्तर्वार्ताकार बनेका छन्, जसले हमालका दृष्टिकोणहरू चुनौती दिन्छन्; कहिले आत्मीय मित्रजस्तै कोमल भएर उनको मनको गहिराइमा प्रवेश गर्छन्। यही संवेदनशीलता र कठोरता बीचको उतारचढावले पुस्तकलाई सजीव बनाएको छ। पढ्दा लाग्छ- यो केवल अन्तर्वार्ता होइन, एउटा चलचित्रको कथा हो, जसको स्क्रिप्ट जीवनले नै लेखेको हो।
राजेश हमालले यस पुस्तकमा आफूलाई पुरापुर सत्यका साथ प्रस्तुत गरेका छन्। बाल्यकालका स्मृतिदेखि युवावस्थाका संघर्ष, प्रेम र सम्बन्धका प्रसङ्गदेखि वर्तमानको बौद्धिक परिपक्वतासम्मका कथाहरू बडो स्वाभाविक ढङ्गले बग्छन्। उनले आफ्नो प्रेम, सम्बन्ध र ‘कम्पानियनशीप’ का प्रसङ्गहरूमा असाधारण खुलापन देखाएका छन्। महिलाहरूसँगका सम्बन्ध र भावनात्मक अनुभवहरूमा उनले कुनै आडम्बर राखेका छैनन्। ती अंशहरू पढ्दा पर्दामुनिको मान्छे देखिन्छ- नायक होइन, संवेदनशील प्राणी। यद्यपि, केही प्रसङ्गहरू अझ गहिरो खोतल्न सकिने देखिन्छन्; प्रेम र रोमान्समा उनको आत्मसंघर्षबारे अझ विस्तार गरिएको भए पुस्तकको आत्मीयता अझ बलियो हुने थियो। तर हमाल जहाँ जसरी प्रस्तुत हुन्छन्, त्यहाँ उनको करिश्मा हराउँदैन। प्रेममा पनि उनी ‘महानायक’ जत्तिकै गम्भीर देखिन्छन्- आत्मानुभूतिको नयाँ रूपमा।
पुस्तकको अर्को बलियो पाटो हो- हमालको बौद्धिकता, समाजप्रतिको दृष्टि र जीवनबोध। उनी चलचित्रका पर्दाभित्र मात्र होइन, समाजका संरचनाभित्र पनि सोच्ने र प्रश्न गर्ने नागरिक हुन्। देशका पछिल्ला राजनीतिक घटनाक्रमलाई उनले सूक्ष्म रूपमा विश्लेषण गर्दै नयाँ बिहानी त आएको तर घाम अझ झुल्किन बाँकी रहेको तर्फ इंगित गरेका छन् जुन राजनीतिक पक्षबाट मात्र होइन, दार्शनिक पक्षबाट पनि यथार्थ हो। हमालको आवाज यहाँ कलाकारको होइन, नागरिकको बन्छ- चिन्तित तर निराश नभएको नागरिकको। यही क्षणमा ‘युगदेखि युगसम्म’ साधारण जीवनीभन्दा माथि उठेर युगको बौद्धिक आत्मचित्र बन्न पुग्छ।
लेखक यज्ञश ले पुस्तक लेख्न तीन वर्षको समय दिएका छन्।
कहिले पत्रकारिताको दृष्टिले विश्लेषण गर्छन्- स्पष्ट, कठोर र तर्कसंगत; कहिले साहित्यिक ढङ्गले भावनालाई आकार दिन्छन्- सौन्दर्यपूर्ण, सरल र आत्मीय। यज्ञश कहिले हमालका विचारहरूसँग असहमत हुन्छन्, कहिले उनीभित्रका मौन पीडासँग सहानुभूति राख्छन्। हमालका उत्तरहरू कतैकतै दर्शन बन्न पुग्छन्- जस्तै उनले भनेका छन्, ‘देअर इज नो ह्याप्पी इन्डिङ् इन लाइफ’ त्यो वाक्यमा एउटा जीवनदर्शन छ- जीवनलाई उनी न त केवल सपनाको रूपमा, न नै निराशाको रूपमा, बरु यात्राको रूपमा बुझ्छन्।
हमालको व्यक्तिगत जीवन यस पुस्तकको सबैभन्दा आत्मीय अंश हो। बुवासँगको असमझदारी, आमा र हजुरआमाप्रतिको माया, मित्रताका उतारचढाव र पारिवारिक सन्दर्भहरू अत्यन्त संवेदनशील रूपमा लेखिएका छन्। यहीँ एउटा बिन्दुमा उनको जीवनको मौनता र एक्लोपन प्रकट हुन्छ। हिन्दीमा एउटा गहिरो कहावत छ- ‘दुनियाँ में दो तरह के लोग होते हैं, एक वो जो काफी अकेले होते हैं, और दूसरे वो जो अकेले ही काफी होते हैं।’ यही भनाइ राजेश हमालको जीवनमा सटीक रूपमा लागू हुन्छ। उनले प्राप्त गरेको सफलता र त्यो बिन्दुसम्मको यात्रा दुवै एकल प्रयासले सम्भव भएको हो- त्यसैले लाग्छ, दुवै व्यक्ति ‘राजेश’ नै हुन्; एक जो धेरै एक्ला थिए, र अर्को जो एक्लै पर्याप्त थिए।
युवावस्थाको स्वतन्त्रता, उत्सव र ‘मोजमस्ती’ का क्षणहरू पनि उस्तै जीवन्त छन्। उनले करियरको सुरुवाती चरणमा भोगेका संघर्ष, असफलता र चलचित्र उद्योगको कठिन यथार्थ पनि इमानदार रूपमा मानेका छन्। यद्यपि, यी संघर्षका अंशहरूमा अझ गहिरो विवेचना गरिएको भए, पाठकको अनुभव अझ प्रबल हुने थियो।
पुस्तकमा गरिबी, जातव्यवस्था, धर्म, दर्शन, राजनीतिजस्ता गम्भीर विषयहरूमा हमालले दिएको टिप्पणीले उनी केवल अभिनेता होइन, चिन्तक हुन् भन्ने साबित गर्छ। उनी समाजशास्त्रीय दृष्टिले सोच्ने व्यक्ति हुन्, जसको चेत औसत कलाकारभन्दा धेरै माथि छ। धर्म, राष्ट्रियता र नैतिकताबारे उनी स्पष्ट छन्- भावनात्मक होइन, तर्कसंगत। उनले राष्ट्रवादलाई अन्धभक्तिको रूपमा होइन, आत्मसम्मानको रूपमा व्याख्या गर्छन्। यही कारण, हमाल यहाँ कलाकारभन्दा बढी विचारक देखिन्छन्- शान्त, विवेकी र जिम्मेवार।
विशेष रूपमा उल्लेखनीय भाग हो- राजेश हमालको ‘तर्क र विश्वासको द्वन्द्व’ बारे विचार। उनले ‘पिस अफ माइन्ड’ लाई केवल आन्तरिक शान्ति होइन, आत्मसंयमको अवस्था मानेका छन्। जीवनबारे उनी यथार्थवादी छन्- कुनै कृत्रिम आदर्शवाद होइन, व्यवहारिक दर्शनका अनुयायी। उनले जीवनलाई चार शब्दमा समेटेका छन्- ‘कोपीङ्, एडजस्टिङ्, एडाप्टिङ्, र कम्प्रमाइजिङ्.’ यी शब्दहरूले उनको जीवन दृष्टि जनाउँछन्- संसारलाई बदल्नुभन्दा पहिले त्यससँग चल्न सिक्ने मान्छे। उनी जीवनका कठिनाइहरूप्रति सकारात्मक छन्; उनको सोच अमोर फाटी (Amor Fati- भाग्यलाई प्रेम गर्ने) र मोमेन्टो मोरी (Memento Mori – मृत्यु स्मरण गर्ने) जस्ता ल्याटिन दर्शनसँग मेल खान्छ। उनले परिश्रमलाई प्राथमिकतामा राख्छन्, तर भाग्यलाई पनि नकार्दैनन्।
पुस्तकमा एउटा रोचक पक्ष हो- कसरी एक कलाकारले कलाकारितालाई आफ्नो धर्मजस्तो ग्रहण गर्छ। राजेशका लागि कलाकारिता केवल पेशा होइन, साधना हो। उनी किताबमा व्यक्त पनि गर्छन् कलाकारले भूमिकामा होइन, जीवनमा बाँच्नुपर्छ। यही कारण, उनले अझै पनि ऐतिहासिक पात्रमा आफ्नो अभिनय प्रस्तुत गर्ने चाहना व्यक्त गरेका छन्- एउटा भूमिकाबाट युगको कथा बोल्ने आकांक्षा। साथै, उनी ‘रूल अफ लाइफ’ बारे पनि बोल्छन्- जीवनका नीतिहरू, आत्मअनुशासन र निर्णय क्षमताबारे। यी विचारहरूले हमाललाई केवल अभिनेता होइन, एक कूटनीतिज्ञझैँ प्रस्तुत गर्छन्- विवेकशील, संयमी र रणनीतिक व्यक्ति।
यज्ञशले कलाकारको मनोविज्ञानलाई अत्यन्त साहित्यिक शैलीमा प्रस्तुत गरेका छन्। राजेशका भावनात्मक संक्रमणहरू- आत्मविश्वासदेखि आत्मसंघर्ष, उत्साहदेखि शून्यतासम्म- शब्दमा बगिरहेका छन्। लेखनमा कृत्रिमता छैन, सत्य छ, तर त्यो सत्यमा सौन्दर्य मिसिएको छ। बाल्यकाल, युवावस्था र परिपक्व अवस्थासम्म पुग्दा पुस्तक पनि हमालकै जीवनजस्तै परिपक्व बन्छ। सुरुमा रमाइलो छ, बीचमा सोच्ने बाध्य बनाउने र, अन्त्यमा दर्शन- यही क्रम यसको संरचनागत शक्ति हो।
अन्ततः, ‘युगदेखि युगसम्म’ केवल एक कलाकारको कथा होइन- यो नेपाली समाज, समय र मनोविज्ञानको सामूहिक कथा हो। यहाँ एउटा व्यक्तिले आफ्ना युगहरू भेट्छ- बाल्यकालदेखि वर्तमानसम्म, भ्रमदेखि बोधसम्म। राजेश हमाल केवल पर्दाको नायक होइनन्; उनी आफ्नै जीवनको निर्देशक हुन्।
यो पुस्तक पढिसकेपछि पाठकको मनमा एउटा भाव रहन्छ- जीवन सधैँ नाटकीय हुन्छ, तर त्यसको स्क्रिप्ट हाम्रै हातमा हुन्छ। ‘युगदेखि युगसम्म’ त्यो स्क्रिप्टको एउटा सुन्दर अध्याय हो- जहाँ कलाकार, जीवन र युग, तीनै एकै स्वरमा बोल्छन्।
पुस्तक गहिरो छ, आत्मीय छ, विचारशील छ। जब हामी यो पुस्तक पढ्छौँ, हामी पर्दामुनिको राजेश हमाल मात्र होइन, आफ्नै जीवनका नायकसँग पनि भेट्छौँ- जसले सिकाउँछ, युगहरू बदलिन्छन्, तर सोच्ने मान्छेहरू कहिल्यै पुराना हुँदैनन्।

Leave a Reply