
कैलाली । चौथो कपिलमुनी खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक कपिलमुनी युवा क्लब लक्ष्मीपुरले हात पारेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरमा मङ्गलवार सम्पन्न फाइनल खेलमा आयोजकले सिता कुवा युवा क्लब गैडाखेडालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
विजेता बनेको कपिलमुनी युवा क्लबले ३५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता सिता कुवा युवा क्लब गैडाखेडाले २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
प्रतियोगिताको समापन समारोहमा क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत गत असोज २४ गते राति घोडाघोडी नगरपालिका–८ जरैमा हत्या गरिएका केशरबहादुर बुढाको परिवारका लागि आर्थिक सहयोग पनि गरेको छ ।
दर्शकहरूबाट सङ्कलित ५ हजार १ सय रुपैयाँ र क्लबको तर्फबाट थप ५ हजार रुपैयाँ गरी १० हजार १ सय रुपैयाँ स्व। बुढाको परिवारलाई राहतस्वरूप प्रदान गरिएको क्लबले जनाएको छ ।
समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगर प्रमुख खडकबहादुर रावतले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र स्वाभिमानी बनाउने बताए । उनले खेलाडी जीवनमा अनुशासनको महत्त्व जोड्दै खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर काम गरिरहेको उल्लेख गरे ।
‘लागूपदार्थ दुर्व्यसनले धेरै युवाको जीवन बिग्रँदै गएको छ, त्यसको रोकथामका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्न जरुरी छ । खेलकुद नै युवालाई असल नागरिक बनाउने प्रभावकारी माध्यम हो’ नगर प्रमुख रावतले भने ।
कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मान पत्र र कदर पत्र प्रदान गरिएको थियो ।
कपिलमुनिका अध्यक्ष जयराज गरीको अध्यक्षतामा सुरु भएको समापन कार्यक्रम प्रशान्त थापाले सञ्चालन गरेका थिए ।

Leave a Reply