जेनजी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला पुगे एमाले महासचिव पोखरेल , क्षतिग्रस्त संरचनाको अवलोकन

रुपन्देही। नेकपा (एमाले)का महासचिव शंकर पोखरेल जेनजी आन्दोलनपछि पहिलो पटक गृहजिल्ला दाङ पुगेका छन् ।

उनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न सरकारी तथा निजी संरचनाको स्थलगत अवलोकन गरेका छन् ।

आन्दोलनपछि पहिलो पटक गृहजिल्ला पुगेका पोखरेलले मंगलबार दिउँसो तुलसीपुरका विभिन्न स्थानमा पुगेर क्षतिग्रस्त संरचनाहरूको अवस्थाबारे जानकारी लिएका हुन् ।

महासचिव पोखरेलले अवलोकनका क्रममा तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत तुलसीपुर इजलास, जिल्ला प्रशासन कार्यालयको आसपासका क्षेत्र, कोमल रिसोर्ट, साथै नेपाली कांग्रेसका नेताहरू गेहेन्द्र गिरि र डिल्ली चौधरीका घरलगायतका संरचनाहरूमा पुगेका थिए।

भदौ २३ र २४ गते तुलसीपुरमा भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक गतिविधिका कारण सरकारी सम्पत्तिसहित निजी घर तथा व्यवसायिक प्रतिष्ठानहरूमा ठूलो क्षति पुगेको थियो।

सोही घटनापछि पहिलोपटक जिल्ला पुगेका पोखरेलले क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्नु दुःखद भएको बताएका छन् ।

उनले भने, ‘लोकतान्त्रिक प्रणालीमा असन्तुष्टि जनाउने अधिकार सबैलाई छ, तर त्यो शान्तिपूर्ण र जिम्मेवार ढङ्गले हुनुपर्छ।सार्वजनिक सम्पत्ति तोडफोड गरेर जनताको नै धन र अधिकारमाथि प्रहार गर्नु लोकतन्त्रको भावना विपरीत हो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *