जेनजी युनाइटेडका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर भने- हामीलाई एकताबद्ध बनाइदिनुस्

काठमाडौं । जेनजी युनाइटेडका नाममा संगठित समूहबाट ९ जना युवायुवतीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफूहरूलाई एकताबद्ध बनाइदिन माग गरेका छन्।

प्रधानमन्त्री कार्की भेट्न सिंहदरबार पुगेका जेनजी युनाइटेडले सरकारको तर्फबाट आफूहरूलाई एकताबद्ध गराइदिन पहल गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीलाई भेटेर बाहिरिने क्रममा प्रतिनिधि सदीक्षा राईले आफूहरूको मागलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिइएको बताइन्।

उनले भनिन्, ‘हामीले प्रधानमन्त्री र गृहमन्त्रीलाई हाम्रो मागसहितको पत्र बुझाइसकेका छौँ। उहाँहरूबाट पोजेटिभ रेस्पोन्स आएको छ। एकताबद्ध हुन उहाँहरुले सहयोग गर्छु भन्नुभएको छ। उहाँप्रति आशावादी नै छौँ।’

प्रधानमन्त्री कार्कीले पनि सबै खालका जेनजीहरूसँग संवाद गरिरहेको र आफ्नो तर्फबाट सक्ने सहयोग रहने बैठकमा जवाफ दिइन्। गत शनिवार सो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *