
बताइरहनु नपर्ला कि रवीन्द्र मिश्र एक नेतामात्र नभएर ‘पार्टटाइम कवि’ पनि हुन् । ‘पार्टटाइम’ यस अर्थमा कि उनको कवि हृदय नियमित रूपमा नभएर आकस्मिक रूपमा यदाकदा मात्रै छचल्किन्छ ।
मिश्रका ५ वटा प्रकाशित पुस्तकमध्ये एउटा मात्र कविता संग्रह रहेको छ । उनी दोस्रो कविता संग्रहको तयारीमा थिए । कविताहरू सङ्कलन भइसकेर प्रकाशकलाई पठाउन ठिक्क परेका बेला उनको राजनीतिक जीवनमा एउटा अनपेक्षित घटना घट्यो । गत चैत १५ गतेको राजावादी आन्दोलनपछि उनी पक्राउ परे र ५० दिन हिरासतमा बस्नुपर्यो । अहिले पनि मुद्दा खेपिरहेका छन् ।
माथि भनेझैँ यदाकदा मात्रै छचल्किने मिश्रको कवि हृदय यो हिरासतबासमा भने मज्जासँग पोखियो । हिरासतभित्र उनले कविताको बाँध नै फुटाए । गत जेठ २ गते सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण आदेशमा थुनामुक्त हुँदासम्म ३ दर्जन कविता उनको स्टकोटको गोजीमा थुप्रिसकेका थिए । फलतः यसअघि निकाल्न ठिक्क परेको कविता संग्रहलाई अहिले थाँती राखेर उनले हिरासतभित्र लेखिएका कविताहरूको मात्रै संग्रह निकाल्न लागेका छन् । ‘माथिको आदेश छ’ शीर्षकको यो कविता संग्रह आउँदो शनिबार विमोचन हुँदैछ ।
सहरमा विभिन्न कद र काँटीका कविहरूको भीड छ । यो भीडमा मिश्रको औसत कवि व्यक्तित्वले ठूलो स्पेस नपाउन सक्ला । तर, उनको यो कविता संग्रह यसकारण विशेष महत्त्वपूर्ण छ कि उनले जटिल परिस्थिति र असामान्य मनोदशामा यसको सिर्जना गरेका थिए । यस किताबका कविताहरूले हिरासतभित्र उनको मानसिक उतारचढावलाई राम्रैसँग झल्काउँछन् । कुनै कवितामा उनी एकदम आत्मविश्वासी त कुनैमा नर्भस, कुनैमा चिन्तित त कुनैमा दृढनिश्चयी सुनिन्छन् । एकाध प्रेमिल कविता चाहिँ कसरी फुरे भन्ने प्रश्नको जवाफ पाउन चाहिँ तपाईंले उनको अन्तर्वार्ता नै सुन्नुपर्ने हुन्छ ।
यो पनि जानकारी दिइहालौँ, मिश्रको यो अन्तर्वार्ता उनी हिरासतबाट निस्किएयताको पहिलो हो । प्रायः टक शोहरूमा छाइरहने मिश्र पछिल्लो केही महिनादेखि पूरै गयल थिए । राजनीतिक गतिविधिहरूमा पनि उनको सक्रियता अलिकति खुम्चिएको महसुस योबीचमा भएको हो । यद्यपि, बदलिएको परिवेशसँगै उनी फेरि पुरानै लयमा फर्किने जमर्को गरिरहेका छन् ।
मिश्रसँगको यो अन्तर्वार्ता राजनीतिक विषयवस्तुमा केन्द्रित छैन । मूलतः उनको प्रकाशोन्मुख कविता संग्रह र हिरासत बसाइको सेरोफेरोमा कुराकानी गरिएको छ । कविता संग्रह ल्याएपछि मात्रै राजनीतिक अन्तर्वार्ता दिने उनले बताएका छन् ।
प्रायः सञ्चारमाध्यममा छाइरहने अनुहार हो तपाईंको । हिरासतबाट निस्किएयता भने अलिकति गुमनामजस्तो बन्नुभयो नि, किन हो ?
हो, हिरासतबाट निस्किएपछि मैले अन्तर्वार्ता दिएकै छैन । पटक्कै दिएको छैन । र, आज तपाईंसँग त्यहाँ लेखिएका कविता र हिरासत बसाइको सेरोफेरोमा संवाद गर्दैछु । आउँदो कार्तिक १५ गते यो किताब विमोचनपछि चाहिँ राजनीतिक अन्तर्वार्ताहरू पनि दिन सुरु गर्छु ।
हिरासतबाट निस्किसकेपछि तपाईंमा केही बदलाव आएको हो ? अलिकति रिजर्भ बस्न थाल्नुभएको हो ?
होइन नि । मलाई चाहिँ… साथीहरूको बीचमा के छलफल भयो भने, हिरासतमा लेखिएको जुन कविता संग्रह छ, यो पहिले प्रकाशित गरौँ, अनि बोल्न थालौँ । पहिलो प्राथमिकता यसलाई दियौँ भन्ने कुरा भयो ।
यसको अर्थ यो पुस्तक पनि अलिकति राजनीतिक उद्देश्य प्रेरित छ ?
हिरासतमा बसेर कतिपय राजनीतिकर्मीहरूले आत्मवृत्तान्त लेखेका छन् अथवा अन्य साहित्यिक रचनाहरू गरेका छन् । तर हिरासतमा वा जेलमा बसेर लेखिएका कविताहरूको संग्रह अरू छ कि छैन मलाई थाहा भएन । यसलाई अलिकति केन्द्रमा राख्नको लागि पनि त्यो नगरिएको हो एउटा कुरा ।
दोस्रो कुरा चाहिँ मेरा अधिवक्ताज्यूहरूले, वरिष्ठ अधिवक्ताज्यूहरूले सबैभन्दा बढी तपाईंलाई तारो बनाइएको छ भन्नुभएकाले पनि केही समय शान्त बस्न सुझाव दिनुभएको थियो ।
हिरासतबाट छुटिसकेपछि अदालतले बोलाउँदा उपस्थित हुनुभएन, फरार हुनुभयो भनेर पनि समाचारहरू आएका थिए नि ? त्यसको वास्तविकता के हो ?
म बन्दी प्रत्यक्षीकरणबाट छुटेँ, ५० दिनपछि । धवलजी बिरामीको कारणले २५ दिनमै छुटिसक्नुभएको थियो । हामीलाई जस–जसले जमानी बसेर छुटाउनुभएको थियो, श्यामबहादुर शाही र बसन्त ब्लोन तामाङ, उहाँहरूलाई बिहान ९–१० बजे खबर आयो कि १२ बजेसम्ममा अदालतमा हाजिर गराउनु भनेर । कमसेकम दुई दिन त अगाडि खबर गर्नुपर्छ । अथवा एक दिन अगाडि, २४ घण्टा अगाडि, १२ घण्टा अगाडि त खबर गर्नुपर्छ । मसँग फोन थिएन त्यतिबेला । फोन प्रहरीले सिज गरेर राखेको थियो । अनि मलाई सम्पर्क भएन भनेर ‘रवीन्द्र मिश्र फरार’ भनेर सबैतिर आयो । त्यो फरार–सरार भएको केही पनि होइन । त्यो बेलामा सम्पर्कै नभएकाले हामी उपस्थित हुन सकेनौँ । अदालतमा निश्चित समयसम्ममा उपस्थित हुँदा कुनै पनि कुरा गैरकानुनी हुँदैन भन्ने भएर हामी पछि उपस्थित भयौँ ।
अब अलिकति सुरुबाटै जाऔँ न । चैत १५ गतेको आन्दोलनपछि आफू पक्राउ पर्न सक्छु भन्ने तपाईंलाई अनुमान थियो ?
यस्तो थियो । हामी बी एन्ड बी हस्पिटलमा पुगेका थियौँ, धवलजी र म । त्यहाँ थुप्रै घाइतेहरू राखिएको थियो । त्यहाँ जाने बेलासम्म पनि हामीलाई पक्राउ गर्लान् भन्ने शंका थिएन । आन्दोलनमा गएको भनेको ध्यान शिविरमा गएको त होइन नि । आन्दोलनमा कराउने–चिच्याउने नै हो । हिंसा झल्किने अथवा हिंसा हुने किसिमको केही गरेकै छैन । त्यसो हुनाले पक्राउ परिएला भन्ने थिएन । बी एन्ड बीमा गएपछि चाहिँ तपाईंहरूलाई पक्रिँदैछ भन्ने खबर आयो ।

खबर आएपछि के सल्लाह भयो त तपाईंहरूबीच ?
सुरुमा त के गर्ने ? लुक्ने ? भन्ने कुरा भयो धवलजी र मेरो । अनि मैले भनेँ, “किन लुक्ने ? कति दिन लुक्ने ? केका लागि लुक्ने ? केही पनि गल्ती गरेकै छैन । नलुक्ने।”
धवलजीले, “म त भैँसेपाटीमा मेरो ज्वाइँकहाँ जाँदैछु, त्यहीँ बस्ने भए, यू आर अल्सो वेलकम” भन्नुभयो । अनि मैले भनेँ, “तपाईं त्यतै जाँदै हुनुहुन्छ भने, सँगै जाऔँ, मेरो घर त्यहीँ हो, म घर जान्छु।” अनि हामी त्यहाँबाट निस्किएर दुई, तीन सय मिटर अगाडि मात्रै बढेका थियौँ, प्रहरीको मोटर रोकियो । हामीलाई झ्यापझुप समातेर स्कर्पियोमा हालिहाल्नुभयो ।
त्यहाँबाट कता लगियो ?
सुरुमा हामीलाई टेकु लगियो । त्यहाँ दुई–तीन जना प्रहरी अधिकृतहरू हुनुहुन्थ्यो । मैले भनेँ, “ठिकै छ, पक्डेर त ल्याउनुभयो, कमसेकम शिष्टाचार त पालना गरौँ, म रवीन्द्र मिश्र, तपाईं को ?” भनेर सोधेँ । र त्यहाँ परिचय भयो । अनि हामीलाई कति राख्नुहुन्छ ? भनेँ । “होइन, यहाँ १०–१५ मिनेट मात्रै हो” भन्नुभयो । मेरो मोबाइलको चार्ज सकिएको थियो । मैले ‘तपाईंहरूसँग टाइप सी चार्जर छ ?’ भनेर केहीबेर चार्ज पनि गरेँ मोबाइल ।
क्यान्टिनको भाइ आउनुहुन्थ्यो खाना पुर्याउन । उहाँले के–के खान खाने भनेर टिप्न कागजको टुक्राहरू ल्याउनुहुन्थ्यो । म उहाँसँग आफ्नो लागि अतिरिक्त कागज मगाउँथेँ । पेन पनि भित्रै मागेको थिएँ । त्यही कागजहरूमा लेखेर राख्थेँ ।
अनि त्यहाँबाट १०–१५ मिनेटपछि त हामीलाई अपराधी राख्ने भ्यानमा राखेर यता भद्रकाली ल्याइयो । भद्रकाली परिसरमा प्रवेश गर्नेबित्तिकै सबभन्दा पहिला मोबाइल खोसे । मलाई त थाहै थिएन मोबाइल खोसिन्छ भनेर । मैले त सुरुमा इन्कार गरेँ, “यो त पर्सनल कुरा हो” भनेर । तर जबर्जस्ती लिहाल्नुभयो । अनि भद्रकालीबाट तुरुन्तै हामीलाई वीर हस्पिटलमा स्वास्थ्य परीक्षणको लागि भनेर लिएर जानुभयो । त्यो स्वास्थ्यपरीक्षण बेकारको औपचारिकता मात्रै रहेछ ।
पहिलो रात कसरी बित्यो त हिरासतमा ? निदाउन सक्नुभयो ?
हामीलाई वीर हस्पिटलबाट फेरि भद्रकाली लाँदाखेरि मलाई लाग्छ साढे १२–१ बजिसकेको थियो । धवलजी चाहिँ माननीय पनि हुनाले, उहाँलाई छुट्टै कोठामा बेड दिएर राखियो । मलाई चाहिँ अर्को पैँतीस, चालीस जना थुनुवा भएको एउटा ठूलो हलमा पठाइयो । त्योभन्दा अगाडि मलाई हिरासतभित्र कस्तो हुन्छ भन्ने पनि थाहा थिएन ।
कस्तो हुँदो रहेछ त ?
त्यो त हामी भाग्यमानी, किनभने हनुमान ढोका अथवा टेकु परेको भए त बिजोगै हुने रहेछ । धेरैले भन्दै थिए, त्यहाँभित्र डुङडुङ गन्हाउने, हावा पनि हत्पति नआउने, एकदमै सफोकेटिङ हुन्छ रे । यो चाहिँ नयाँ बनाएको भवन हुनाले राम्रो थियो । गर्मीको समय भएकाले पनि सजिलो भयो । त्यहाँ त धेरै कुरा खुला हुन्छ । डन्डी लगाएको हुन्छ, झ्याल हुँदैन । अब जाडोमा चाहिँ त्यहाँ धेरैलाई धेरै गाह्रो हुन्छ होला ।
त्यो ठूलो कोठाको बाहिर कोरिडोरबाट फ्लड लाइट भित्र बालिएको हुन्छ । त्यो चाहिँ किन रे भने, भित्र कैदीहरूले झगडा गर्न सक्छन् । आफूले आफैँलाई हानि पुर्याउने काम गर्न सक्छन् । जे पनि हुनसक्छ नि । त्यो भिडियो सेक्युरिटी क्यामेराले खिच्नुपर्यो । त्यसैले फ्लड लाइट बालिएको हुन्छ । त्यो फ्लड लाइट बालेकोतिर फर्केर सुत्नुपर्छ । त्यो लाइट आँखामा परेर पहिलो रात मलाई त्यति निद्रा लागेन । बिहान ४ बजेदेखि नै कसैले खाकखाक–खुकखुक गर्न सुरु भइहाल्यो ।
अलि पर, १०–१५ मिटरजस्तो पर ट्वाइलेटहरू थियो । पर्खालले छेक्न त छेक्छ, तर खुला भनौँ न । त्यो ट्वाइलेटको आवाज आउने । खाकखुक बिहान ४ बजेदेखि नै भइहाल्छ ।
पहिलो दिनको अनुभव कस्तो रह्यो?
पहिलो दिनको पहिलो बिहानीको एउटा प्रसङ्ग पनि सुनाउँछु । बिहान कैदीहरूले आफू बस्ने कोठा, ट्वाइलेट सफा गर्नुपर्ने रहेछ । अनि मप लगाउनुपर्ने, त्यो सबै सफा गर्नुपर्ने । ट्वाइलेट सफा गर्न चाहिँ धेरै जना हिच्किचाउँदा रहेछन् । त्यो सबै खकार-सकार, जालीमा गएर अल्झेको हुने, फोहोर अल्झेको हुने भएर हिच्किचाउँदा रहेछन् । त्यो फोहोर राख्दा त आफैँलाई गनाउने हो त्यहाँ । अनि म उठेर गएर, अब त्यहाँ त पन्जा–सन्जा छैन, हातैले त्यो खकार–सकार सबै उठाएर बाल्टिनमा हाल्दिएँ । र, एकछिन मप–सप लगाएँ । जति नै फोहोर भए पनि साबुनले हात धोएपछि त सफा भइहाल्यो नि, हैन ?
हिरासतभित्र तपाईंलाई चिन्ने अन्य कैदी–बन्दीहरूले कस्तो व्यवहार गर्थे ?
त्यसबेला त सबैजसो चैत्र १५ गतेकै घटनासँग सम्बन्धित नै थियौँ हामी । जम्मैलाई एउटै कोठामा राखेको थियो । कतिलाई तल अर्को कोठामा पनि राखेको थियो । महिलाहरूलाई छुट्टै राखेको थियो ।
पहिलो केही दिन हामीलाई नराम्रोसँग दानवीकरण गरियो । त्यो हामीलाई भेट्न आउने साथीहरूले भन्थे । हामीसँग त फोन थिएन । पत्रिका चाहिँ पढ्न पाइन्थ्यो । टेलिभिजन हामी बसेको फ्लोरमा थिएन । मूलधारको सञ्चारमाध्यमले राजसंस्थाको एजेन्डा मन नपराउनेहरूलाई नराम्रोसँग भिलिफाई गरेको प्रष्ट देखिन्थ्यो ।
तपाईंले आफूलाई छुट्टै राख्न माग गर्नुभएन ?
पहिलो दुई–तीन दिन मलाई त्यही कोठामा राखियो । धवलजी अर्को कोठामा हुनुहुन्थ्यो । बाहिरपट्टि ठूलो बरन्डा छ । हामी बिहान उठेर हिँड्थ्यौँ । दुई–तीन दिनपछि त धवलजी र मलाई सँगै एउटै कोठामा राखियो ।
खाना चाहिँ तपाईंहरूले त्यहीँको खानुहुन्थ्यो कि घरबाट मगाउनुहुन्थ्यो ?
खाना गजबको थियो त्यहाँ । घरबाट मगाउन मिल्छ, तर त्यहाँ जाँचेर मात्रै खाना दिनुहुन्छ । पहिला–पहिला उहाँहरूको घटना कस्तो छ भने, केराभित्र लागुपदार्थ समेत ल्याइएको रहेछ । त्यसो हुनाले चेक गरेर मात्रै दिनुहुन्थ्यो बाहिरबाट आएका खानाहरू । तर क्यान्टिनको खाना एकदमै सफा थियो । मलाई गजब लागेको, २००–२५० त्यहाँका कैदीहरूलाई दिनदिनै पकाउँदाखेरि पनि तपाईंको खानामा कुनै, कुनै, कुनै समस्या थिएन । त्यस्तो क्लिन थियो ।
क्यान्टिनमा पाकेको सबै खाना निःशुल्क त होइन होला ?
त्यहाँ सरकारी खाना भन्ने हुन्छ । सबै पैसा तिर्नसक्ने कैदीहरू त हुँदैनन् नि । उनीहरूलाई त्यो बेसिक दाल, भात, तरकारी, अनि नुन पनि छुट्टै राखेको हुन्छ, त्यो बेसिक खाना सबैलाई बाँड्नुहुन्छ । हामीले सरकारी खाना पनि खायौँ । तर अलिकति पैसा हुने मान्छेहरूले चाहिँ मलाई आज सागको तरकारी, अलिकति बाक्लो दाल, अथवा यस्तो भात ल्याइदिनुस् भन्न मिल्छ । त्यसको पैसा तिर्नुपर्छ । हामीले घरबाट मगाएनौँ । अँ, क्यान्टिनकै खाना नै खायौँ सधैँ ।
त्यहाँ प्रहरीहरूले तपाईंहरूलाई त आम थुनुवाहरूभन्दा सम्मानजनक व्यवहार गर्थे कि ?
हामीलाई एकदमै सम्मानजनक ढंगबाटै व्यवहार गरियो । स्नेह पनि व्यक्त गर्नुहुन्थ्यो । तर एउटा कुरा चाहिँ मैले भन्नुपर्छ, प्रहरीमा राजनीतिको हस्तक्षेप कति चर्को छ भन्ने स्पष्ट महसुस मैले गरेँ । यो भन्दा मलाई केही पनि अप्ठ्यारो छैन ।
कसरी त्यस्तो महसुस भयो ?
व्यावहारिक रूपमा उहाँहरू (प्रहरी अधिकारी) अत्यन्त सौहार्दपूर्ण हुनुहुन्थ्यो । स्नेहपूर्वक व्यवहार गर्नुहुन्थ्यो । बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चले जब जवाफ माग्यो, प्रहरीको जवाफ पढ्दाखेरि ‘आइ वाज शक्ड’ । किन ‘शक्ड’ भएँ भने उहाँहरूले मलाई भन्ने गरेका कुरा, मलाई गर्ने गरेको व्यवहार र उहाँहरूले लेखेको जवाफमा ठूलो विरोधाभास थियो । त्यो जवाफ राजनीतिक प्रभावका कारण प्रेरित थियो ।
राजनीतिक प्रभाव प्रहरीसम्म मात्रै पुगेको महसुस भयो कि अदालतसम्म पनि ?
हामीलाई म्याद थपको लागि लिएर गइयो । सबभन्दा पहिला त म्याद थपको समय गुज्रिएपछि हाम्रो म्याद थपिएको थियो । म्याद थप गर्ने बेलामा पहिलो सुनुवाइमा के भनियो भने, “हेर्नुस् अब यो राज्यको अधिकार पनि हो । राज्यलाई छानबिन गर्न दिनुपर्छ” भनियो र म्याद थपियो ।
दोस्रो चोटिको म्याद थप बहसमा, “पहिलो बेन्चले गरिसकेको निर्णयलाई निरन्तरता दिन दिनुपर्छ” भन्नुभयो । अनि मैले बोल्दा के भनेँ भने, “त्यो निरन्तरता दिनैपर्ने हो भने हामीलाई लिएर आएर यो सानो कोठामा भेडा बाख्रा राखे जस्तो किन कोचेको ? स्वतः निर्णय गर्दिए भइहाल्यो । दुई घण्टा, चार घण्टा हाम्रो तर्फबाट वकिलले किन बोल्नुपर्यो ? अधिवक्ताले किन बोल्नु पर्यो ? हाम्रो कुरा किन सुन्नु पर्यो ?” मैले भनेँ नै । तर फेरि म्याद थपियो । तेस्रो चोटिको बहसमा लाँदाखेरि मैले भनेँ, “श्रीमान्, ममाथि छानबिन गर्न जति दिन म्याद थप्नु पर्छ एकैपटक म्याद थप्दिनुस्” भनेर भनेपछि सबभन्दा लामो १५ दिन एकै चोटि थपियो । त्यसपछि चौथो बहसमा स्पष्ट रूपमा आदेशमा के लेखियो भने, “रवीन्द्र मिश्रको हकमा प्रमाण पुगेन । ३ दिनमा कि थप प्रमाण ल्याउनु कि छोडिदिनु” भनेर स्पष्ट रूपमा लेखियो । अब तीन दिनमा कि प्रमाण ल्याउनु पर्यो कि त हामी छुट्छौँ भन्ने भयो ।

त्यसपछिको बहसमा जाँदा थप प्रमाण पनि छैन, छोड्दा पनि छोडिएन हेर्नुस् । कुनै प्रमाण छैन, तर फेरि हिरासतमै पठाइयो । कहाँको प्रभाव पर्यो ? यसरी लगातार म्याद थप्दै गएपछि हामी बन्दी प्रत्यक्षीकरणमा गयौँ । ५० औँ दिनमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइका लागि मलाई सर्वोच्चमा लगिनेवाला थियो । कोरिडोरमा एकजना अलिकति वरिष्ठ प्रहरी अधिकृत भेटिनुभयो । उहाँले के भन्नुभयो थाहा छ ? “हेर्नुस्, तपाईं ५० दिनपछि बन्दी प्रत्यक्षीकरणमा जाँदै हुनुहुन्छ, न्यायाधीशले पनि यो मान्छेलाई न्याय नचाहिने रहेछ भन्ठान्नु हुन्छ होला ।” ठिस्स यो वाक्य बोल्नुभयो । शुभकामना, शिष्टाचारको कुरै छैन ।
अर्को एकजना अफिसर भेटिनुभयो फेरि । उहाँको भाषा पनि त्यस्तै थियो । “तपाईंको नाममा चैत्र १५ गते पक्राउलगत्तै बन्दी प्रत्यक्षीकरणको फाइल गरिसकेको रहेछ र त्यतिबेलै सर्वोच्चले अस्वीकार गरिसकेको रहेछ । त्यतिबेलै अस्वीकार गरिसकेको हुनाले अब स्वीकृत हुने सम्भावना चाहिँ खासै म देख्दिनँ।” प्रहरीले त्यो भन्नुपर्छ ? ५० दिनदेखि हिरासतमा बसेको मान्छेलाई त्यो भनिनुपर्ने वाक्य हो ?
समग्रतामा भन्दा प्रहरीदेखि न्यायालयसम्म हस्तक्षेपमुक्त छैनन् ?
म प्रहरी, न्यायाधीश, न्यायकर्मीहरूलाई धेरै दोष दिन चाहन्नँ । किनभने न्यायकर्मी बिग्रिने, प्रहरी बिग्रिने, प्राध्यापक बिग्रिने, डाक्टर बिग्रिने, इन्जिनियर बिग्रिने, सबै बिग्रिने पहिलो दोष प्रणालीले लिनुपर्छ । राजनीतिकर्मीले लिनुपर्छ । त्यो हो ।
यो सबै देखिरहँदा तपाईंलाई विभिन्न प्रपञ्च गरेर भित्रै सडाउँछन् कि भन्ने खालको डर–त्रास कतिको हुन्थ्यो मनमा ?
त्यो भयो नि । त्यो नहुने कुरै छैन ।
त्यो कुन बेला भयो बढी ?
मलाई ४२ औँ दिनमा आएर आपराधिक उपद्रवको पत्र थमाउनुभयो । यो थमाइएको किन रहेछ भने संगठित अपराध र राज्य विरुद्धको कसुर त प्रमाणित गर्ने कुनै आधारै नहुने भयो । आपराधिक उपद्रव चाहिँ अलिकति त्यहाँ आगजनी, सागजनी, हिंसा भएको हुनाले प्रमाणित गर्न सकिन्छ कि भन्ने उहाँहरूलाई लाग्यो होला । त्यहाँ रहेका बन्दीमध्ये कतिलाई माथि लगेर बयान लिने क्रममा “रवीन्द्र मिश्रको, धवल शमशेरको नाम लिनुस्” भनेर समेत भनिएको रहेछ । उनीहरूको नाम लियो भने तपाईंहरूलाई सजाय कम हुन सक्छ भनेर आश्वासन दिइएको मलाई एक दुईजनाले बताए । त्यसरी नाम पोलेपछि आपराधिक उपद्रवको मुद्दा लगाउन सजिलो हुने भएर पत्र दिनुभएको रहेछ ।
दुर्गा प्रसाईंले पनि तपाईंहरूलाई पोल्नुभएको हो ?
दुर्गाजीले हाम्रो बारेमा त्यस्तो नराम्रो बोलेको थाहा छैन । बाहिर निस्किएर त उहाँले के के भन्नुहुन्छ । तर त्यो बयानमा उहाँले त्यस्तो गरेको जस्तो लाग्दैन ।
तपाईंलाई अदालत लैजाँदा हातमा हत्कडी लगाइयो नि, त्यो बेलामा प्रतिवाद गर्नुभएन ?
यो चाहिँ एकातिर त प्राविधिक विषय जस्तो लाग्छ । सामान्य जस्तो लाग्छ । थुनुवालाई हत्कडी लाउने कुरामा कि प्रहरीको स्वविवेकले काम गर्दो रहेछ कि माथिको आदेशले । कसैलाई देखाइदिउँ न त भनेर पनि लगाइँदो रहेछ । मेरो हकमा त्यस्तै भएको हुनुपर्छ । म भाग्छु भनेर त पक्कै होइन ।
सुरुको चोटि मैले, “किन हत्कडी लगाउने?” भनेर सोधेँ । “हैन हजुर, लाउनुपर्छ, लाउनुपर्छ” भनेर लगाइदिहाले । मलाई केही पनि समस्या भएन । तर मैले एकदिन म्याद थप बहसमा भनेँ, “तपाईंहरूले मलाई जति हत्कडी लगाएर अदालत ल्याउनुहुन्छ र जति बढी हिरासतमा राख्नुहुन्छ, तपाईंहरूले राज्यलाई खलनायक र मलाई चाहिँ नायक बनाउनुहुन्छ ।”
मैले साथीहरूलाई नमस्कार गर्दाखेरि पनि मेरो हात झार्दिने प्रहरीलाई म दोष दिन चाहन्नँ । बुझ्नुभएन ? दोष कहाँ हो त भने हामीसँग निर्देशिका छ ? अदालतको दायरा थियो त्यो । अदालतभित्र पसिसकेपछि हत्कडी लगाउन मिल्दैनथ्यो । अदालतको कोठामा बस्दा पनि प्रहरीले बोल्नु, नबोल्नु, यहाँनिर उभिनु, तपाईं यता बस्नु, उता बस्नु भनेर भनिरहेका हुन्थे ।
हिरासतभित्र हुँदा बाहिरको माहोलबारे कत्तिको जानकार हुनुहुन्थ्यो, पार्टीदेखि साथीभाइहरूबाट कत्तिको साथ र सहयोग पाउनुभयो ?
पहिलो केही दिन हामीलाई नराम्रोसँग दानवीकरण गरियो । त्यो हामीलाई भेट्न आउने साथीहरूले भन्थे । हामीसँग त फोन थिएन । पत्रिका चाहिँ पढ्न पाइन्थ्यो । टेलिभिजन हामी बसेको फ्लोरमा थिएन । मूलधारको सञ्चारमाध्यमले राजसंस्थाको एजेन्डा मन नपराउनेहरूलाई नराम्रोसँग भिलिफाई गरेको प्रष्ट देखिन्थ्यो । तर जब सोसल मिडियामा व्यापक रूपमा त्यो दिनको घटनाको फुटेजहरू बाहिर आउन थाल्यो, “ए होइन रहेछ” भन्ने भयो । र हामीप्रतिको सद्भाव व्यापक रूपमा बढ्यो ।
मलाई असाध्यै नै चित्त दुखेको कुरा, जुन मैले यो ‘माथिको आदेश छ’ कविताको भूमिकामा पनि लेखेको छु, त्यो चाहिँ के हो भने हामीलाई पकडिएपछि केही नजिकका मित्रहरूले पनि खेद्न थाले । संकटमा पर्दा मानवीय सद्भावसमेत देखाएनन् । तीमध्ये कसैसँग म विश्वविद्यालयदेखि सँगै पढेका मित्र पनि हुनुहुन्छ। कोही पत्रकारको रूपमा चिनेका मित्र हुनुहुन्छ। कोही सामाजिक रूपमा चिनेको मित्र हुनुहुन्छ । ती मैले असाध्यै नजिक ठानेका मित्रहरू हुन्, जोसँग बसेर कफी खाएको छु । कसैसँग खानै खाइयो होला, कसैसँग घुम्नै गइयो होला । ती मित्रहरूले “यही हो मौका, ठोक” भनेर ठोकेको देख्दा खेरि चाहिँ नराम्रोसँग चित्त दुखेको हो । कतिपयले आफैँ ठोकेनन् तर अरूले ठोकेकोलाई रिट्विट गरेर बसे ।
ए बाबा, दुई–चार दिन त पर्खिदिएको भए हुन्थ्यो नि । तथ्यहरू उजागर हुँदै थिए । तर मौका यही हो, ठोक भनेर ठोके । यसमा मैले ‘मौका ढुकेर बसेको मित्र’ भन्ने एउटा कविता लेखेको छु । त्यो चाहिँ मलाई असाध्यै नै नराम्रोसँग चित्त दुखेकाले लेखेको हो । बाहिर निस्किएपछि मैले उहाँहरूसँग सम्पर्क गरेको पनि छैन ।
तपाईंको नजिकको साथी संकटमा पर्दा त “बिचरा” भनिन्छ नि । आफ्नो धर्म पत्रकारको रूपमा निभाउने आफ्नो ठाउँमा होला, तर यही हो मौका भनेर ठोक्ने हो र ? होइन नि ।
तपाईंले आफ्नो पार्टी राप्रपा र यसका नेताहरूबाट चाहिँ सोचेजस्तो साथ पाउनुभयो कि भएन ?
पार्टी र पार्टीका नेताहरूको बारेमा म धेरै प्रवेश गर्न चाहन्नँ । मैले पछि भेटेर कुरा गर्दा अथवा त्यहाँ हामी बस्दा खेरि सबैले सहयोगको भाव व्यक्त गरेकै हो । तर पार्टीबाट जति सहयोग हुनुपर्ने हो, त्यति भएन भनेर पत्रपत्रिकादेखि लिएर सामाजिक सञ्जालमा चर्चा भएकै हो ।
तपाईंले प्रहरी हिरासतभित्रको तनावपूर्ण वातावरणमा बसेर कविता चाहिँ कसरी फुराउनुभयो ?
मैले यसको भूमिकामा पनि लेखेको छु । मलाई तपाईंले कसैले ‘राइटिङ रिट्रिट’ (लेखकीय आवासीय छुट्टी भनौँ न) मा कसैले सबै खानपानको व्यवस्था गरेर “तिमी कविता लेख” भन्यो भने म लेख्न सक्छु होला जस्तो मलाई लाग्दैन ।
तिमीले निबन्ध लेख, स्तम्भ लेख भन्यो भने सक्छु । कविता लेख भन्यो भने सक्ला जस्तो लाग्दैन । सबैको आफ्नो लेख्ने तरिका हुन्छ र त्यो कविता कसरी आउँछ भन्ने पनि आफ्नो फरक-फरक अनुभूति हुन्छ । मेरो अनुभव चाहिँ के छ भने कविता मलाई हाच्छ्युँ आएको जस्तै अनायासै आउनुपर्छ । अधिकांश केसमा कहिलेकाहीँ कुनै पृष्ठभूमिमा लेखिएका कविताहरू पनि छन् । तर अधिकांशतः मलाई हाच्छ्युँ आए जस्तै अनायासै आउनु पर्छ । र, हावाको झोका बहे जस्तै बहनु पर्छ ।
सुरुमा हामीलाई टेकु लगियो । त्यहाँ दुई–तीन जना प्रहरी अधिकृतहरू हुनुहुन्थ्यो । मैले भनेँ, “ठिकै छ, पक्डेर त ल्याउनुभयो, कमसेकम शिष्टाचार त पालना गरौँ, म रवीन्द्र मिश्र, तपाईं को ?” भनेर सोधेँ । र त्यहाँ परिचय भयो । अनि हामीलाई कति राख्नुहुन्छ ? भनेँ ।
कुनै कुराबाट प्रेरित भएर कविता लेख्न बस्छु । तर कहिलेकाहीँ एक वाक्यबाट दोस्रो वाक्यमा जाँदैन । त्यस्ता अनुभवहरू धेरै छन् । र कहिलेकाहीँ सोच्दै नसोचेका विषयमा अनायासै कविता आउँछ । त्यस्तो बेलामा मैले मोटर बाटोको छेउमा पार्क गरेर त्यहीँ फोनमा टिपिहालेको र घर जाने बित्तिकै पूरा गरेका कविताहरू पनि धेरै छन् ।
हिरासतभित्र बस्दाखेरि एउटा सौभाग्य के भन्नु पर्छ भने म माथि त्यो बरण्डामा एक्लै बस्न पाउथेँ । म सोच्मग्न भएर बस्थेँ र कविता लेख्थेँ । कुनै–कुनै दिन कविता आएन । कुनै–कुनै दिन दुईवटा पनि आयो ।
कविता लेख्न कागज चाहिँ कसरी उपलब्ध हुन्थ्यो ?
क्यान्टिनको भाइ आउनुहुन्थ्यो खाना पुर्याउन । उहाँले के–के खान खाने भनेर टिप्न कागजको टुक्राहरू ल्याउनुहुन्थ्यो । म उहाँसँग आफ्नो लागि अतिरिक्त कागज मगाउँथेँ । पेन पनि भित्रै मागेको थिएँ । त्यही कागजहरूमा लेखेर राख्थेँ ।
तपाईंको पहिलो श्रोता चाहिँ धवलशमशेर राणा हुनुहुन्थ्यो हैन ?
सुरुमा चाहिँ धवलजीलाई सुनाउथेँ । उहाँले भारतमा अध्ययन गर्नुभएको हो । उहाँ भाषण नेपालीमा राम्रो गर्नुहुन्छ । नेपाली राम्रो बोल्नुहुन्छ सबै छ । तर उहाँको नेपाली साहित्यिक बुझाइ चाहिँ स्वभाविक रूपमा अलिकति कमजोर हुने नै भयो । अनि म उहाँलाई, “ल बस्नुस्, कविता सुन्नुस्” भनेर भन्थेँ । उहाँ ध्यान दिएर सुन्नुहुन्थ्यो । मैले कुनै शब्द बुझ्नुभएन कि भनेर सोध्दा ‘यति त बुझिहाल्छु नि’ भन्नुहुन्थ्यो ।
उहाँ २५ दिनमा निस्किनुभएपछि भने कविता लेख्दै गोजीमा राख्दै गर्न थालेँ ।
तपाईंको किताबमा तीन चारवटा रोमान्टिक टाइपका कविता पनि रहेछन् । त्यस्तो तनावको माहोलमा रोमान्टिक कविता कसरी फुरे ?
हो, अँ । म असाध्यै नै रोमान्टिक कविता, प्रेमिल कविता लेख्न रुचाउने मान्छे हुँ । म पाब्लो नेरुदाबाट एकदमै प्रभावित छु । रुमीबाट प्रभावित मान्छे हुँ । यसैगरी सारा टेसेल । प्रेमिल कविताहरूबाट चाहिँ म असाध्यै प्रभावित मान्छे हुँ ।

म अलिअलि लेख्ने पनि गर्थेँ प्रेमिल कविताहरू । अनि त्यहाँ बसेको बेलामा मलाई एउटा बिन्दुमा के महसुस भयो भने, “म त सबै यो सामाजिक, आध्यात्मिक र राजनीतिक कविता मात्रै लेखिरा छु हैन । यहाँभित्र प्रेमिल भावना आउँदै नआउने भन्ने त हुँदैन नि ।” त्यो भावना पनि आउनु पर्यो भन्ने महसुस भयो मलाई । त्यसअनुसार केही कविता आयो पनि ।
एउटा कवितामा तपाईंले हिमालयन जाभाको कफी निकै मिस गरेको बताउनुभएको छ । तपाईं कफीको पारखी हो ?
म धेरै कफी खाने मान्छे होइन । म दिनमा एउटा कफी खान्छु । त्यो पनि समय मिलेको खण्डमा । समय मिलेको खण्डमा चाहिँ म कफी खान सामान्यतया हिमालयन जाभामै जान्छु । हिमालयन जाभा भित्रको त्यो वातावरण मलाई किन किन असाध्यै मन पर्छ । हिमालयन जाभामा बस्दाखेरि चाहिँ म तनावमा छु भने पनि त्यो कफी खान डेढ घण्टा, दुई घण्टा लगाउँछु समय छ भने । र त्यो मलाई स्ट्रेस रिलिज गर्ने अवधि पनि हो ।
हिमालयन जाभामै बसेर मैले धेरै काम पनि गर्छु । फोनहरू गर्नेदेखि लिएर, कविता लेख्नेदेखि लिएर तनावलाई न्यूनीकरण गर्नेदेखि लिएर धेरै कुरा गरेको छु । मैले हिरासतभित्र हिमालयन जाभाको कफी मिस गरेकै हो । ‘हिमालयन जाभाको कफी’ भन्ने एउटा कविता पनि त्यो संग्रहमा संग्रहित छ ।

Leave a Reply