
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले २०८२ सालको प्रवेश वर्षका लागि सार्वजनिक गरेको नयाँ शुल्कप्रति आपत्ति जनाएको छ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको कार्यालयमा पुगेर अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाको नेतृत्वले ज्ञापनपत्र बुझाएको हो।
१६ देखि ५० प्रतिशतसम्मको वृद्धि गरिएको र रामपुर कृषि क्याम्पसमा पूर्वाधार अभाव भन्दै रोकिएको भर्ना प्रक्रियाप्रति अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको हो।
ज्ञापन पत्रमा भनिएको छ, ‘शिक्षा अधिकार हो, व्यापार होइन भन्ने सिद्धान्तलाई पाखा लगाउँदै गरिएको यस्ता शुल्क वृद्धि अन्यायपूर्ण र गैरजिम्मेवार छ । गुणस्तरीय शिक्षाका लागि उचित योजना र परामर्शको खाँचो छ तर अहिलेको अवस्थामा, शिक्षण सिकाइ प्रणाली, प्रयोगशाला सुविधा, अनुसन्धान सहयोग, तथा प्राविधिक स्रोतहरूको सुधारमा पर्याप्त प्रगति नदेखिँदा शुल्क वृद्धि विद्यार्थीमाथि गरिएको अन्याय हो । विश्वविद्यालय जिम्मेवार नबन्दा शुल्क वृद्धि र रामपुर कृषि क्याम्पसमा रोकिएको नयाँ विद्यार्थी भर्ना प्रक्रियाले आम नेपाली विद्यार्थीहरू कृषि तथा पशु विज्ञान शिक्षा लिनबाट वञ्चित हुने स्पष्ट देखिन्छ ।’
मनोमानी ढंगबाट गरिएको शुल्क वृद्धि तुरुन्त खारेज गरी भर्ना प्रक्रिया रोकिएका क्याम्पसमा तत्काल विद्यार्थी भर्नाका आगामी कार्यक्रमहरू सुचारु गर्न माग गरेको छ। मागलाई सम्बोधन नगरे विद्यार्थीहरूका न्यायका लागि शुल्क शोषण र गुणस्तरीय शिक्षा लिन पाउने अधिकार बाट वञ्चित हुने अवस्थाका विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।


Leave a Reply