विध्वंसका प्रमाण सुरक्षित गर्न एमालेले खोल्यो सूचना बैंक, सुरक्षा निकायसँग पनि समन्वय

काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्नहरूको प्रमाण संकलन गरेर कारबाहीका लागि सबुत जुटाउन सूचना बैंक स्थापना गरेको छ । पार्टीको सबै पंक्तिले संकलन गरेका प्रमाण केन्द्रीय कार्यालयमा रहनेछन् ।

विभिन्न व्यक्तिले तत्कालीन समयमा आफैँले राखेका भिडिओहरू टिकटक र रिलबाट डाउनलोड गरेर सोहीबेला राखिएका र नयाँ प्रमाणहरू समेत भेटिँदै जाँदा सबैलाई सबुतका रूपमा सुरक्षित गर्न सूचना बैंक खोलिएको पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपाल प्रेसलाई बताए ।

पार्टीले देशभरका सरकारी कार्यालय, प्रहरी व्यापार प्रतिष्ठान, निजी सम्पत्ति आगजनी तथा तोडफोड र लुटपाटका घटनाको भिडिओ, फोटो तथा अन्य प्रमाणहरू संकलन गर्न केन्द्रीय कार्यालयबाटै डेस्क तयार पारेको छ ।

विध्वंसका घटनामा संलग्नहरूको पहिचान हुने सबै प्रमाण संकलन गरेर सूचना बैंकमा राख्ने र प्रहरीलाई उपलब्ध गराउने प्रक्रिया चलिरहेको संगठन विभागका सचिव माधव ढुंगेलले बताए । अहिलेको सरकारले दोषीलाई उन्मुक्ति दिए पनि भोलि राजनीतिक दलको सरकार आएपछि कानूनी दायरामा ल्याउनका लागि प्रमाणहरू संकलन गरेर एकै ठाउँमा राखिएको उनको भनाइ छ ।

कतिपय सूचना तथा प्रमाणहरू सुरक्षा निकायसँग पनि समन्वयमा संकलन भइरहेको एमाले स्रोतले जनाएको छ । प्रहरी अधिकारीहरूसँग एमालेको कोर टीमले समन्वय गरेर सुरक्षाकर्मीको हत्या गर्नेदेखि हतियार लुट्नेहरूको जानकारी समेत उपलब्ध गराइरहेको नेताहरूले बताएका छन् ।

एमाले स्रोतले भन्यो- हाम्रो पार्टीको देशभरको संयन्त्रले घटनाको लगत्तैदेखि ती प्रमाणहरू नष्ट नहुन् भनेर भिडिओ डाउनलोड गरेर राखेको थियो । महेश बस्नेत मैदानमा उत्रिएपछि देशभरको पंक्ति पनि बौरियो । हाम्रा देशभरका डेढ सय भन्दा बढी नेता कार्यकर्ताको घरमा आगजनी र लुटपाट गर्नेहरू अधिकांशको पहिचान गरिसकेका छौँ । ती प्रमाणका आधारमा भोलि हाम्रो सरकार आएपछि कसैलाई छाडिन्नँ, देशै छाडेर गएछन् भने पनि प्रमाण त यहिँ नै रहनेछन् ।

एमालेले आगजनी हिंसा तोडफोडमा संलग्नहरूको प्रमाण संकलन गर्ने, सुरक्षा निकायसँग पनि समन्वय गर्ने उद्देश्यले सूचना बैंक बनाएको बस्नेतको भनाइ छ । यस्ता घटनामा संलग्नहरूको पृष्ठभूमि केलाउने, उनीहरूको नेक्सस कोसँग भनेर खोज्ने र अमनप्रताप अधिकारीलगायत नेपो बेबीहरू यो विध्वंसमा को-को थिए भनेर सुक्ष्म विश्लेषण गर्ने काम पनि भइरहेको एमालेले जनाएको छ ।

आगजनीमा नेपालीमात्र नभएर विदेशीहरूको समेत संलग्नता पाइएको हालसम्म प्राप्त भिडिओमा देखिएको र यसबारे सुरक्षा निकायलाई पनि जानकारी गराइएको उनीहरूको भनाइ छ । कन्टेन्ट क्रियटर, कलाकार, सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगर, कमेडियनहरूको बढी संलग्नता देखिएको र भड्काउनमा उनीहरूको हात रहेको पाइएको बस्नेतले नेपाल प्रेसलाई बताए ।

गोकुल बास्कोटाको घरमा आगो लगाउन कमेडियन अपूर्व क्षितिज आफैँ गएको भिडिओ बाहिर आएको छ भने विमलेन्द्र निधिको घरमा दीपकराज गिरी देखिएका छन् । घरहरूको लोकेसन पठाउने समूह समेत पहिचान भएको प्रहरीले जनाएको छ । २४ को विध्वंशअघि निश्चल बस्नेत, सुमना श्रेष्ठ, दीपकराज गिरीहरूसहितको बैठक बसेको र त्यसबाट ग्रुपहरूमा सर्कुलेट भएको एमाले नेताहरूको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *