बालेननिकटले थाले गृहमन्त्री अर्यालविरुद्ध ट्रेण्डिङ, प्रधानमन्त्रीलाई भेटेरै दिए हटाउन दबाब

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूविरुद्ध षडयन्त्र भइरहेको र सामाजिक सञ्जालबाट बुलि गरिएको बताइरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन साहनिकट युवाले उनलाई हटाउन दबाब दिने उद्देश्यले ट्रेण्डिङ चलाउन थालेका छन् ।

मेयर साहका कानूनी सल्लाहकार रहेका अर्याललाई उनले नै गृहमन्त्री बनाएको बताइएको थियो । तर, आफूले भनेबमोजिम केपी शर्मा ओलीलगायतलाई पक्राउ नगरेपछि चिढिएका बालेनले यसबीचमा प्रधानमन्त्रीलाई भेटेरै गृहमन्त्री हटाउन दबाब दिएको बताइएको छ ।

मेयर साहले तीन दिनअघि बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए । त्यसलगत्तै गृहमन्त्री हटाउने चर्चा र उनकाविरुद्ध जेन-जीकै एउटा समूहले अभियान थालेको थियो । एमआरआर ग्रुपमा बालेनका नजिकका सहयोगीहरूको टीमले गृहमन्त्री हटाउने वा राजीनामा गराउने अभियान चलाउने सल्लाह गरेका छन् ।

‘कायर गृहमन्त्री तुरुन्त राजीनामा गर, तिम्लाई गृहमन्त्री बनाउन ७५ जनाले बलिदान दिएको होइन’ भन्दै बालेनको सचिवालयमै रहेकाहरूले ट्रेण्डिङ चलाउन सर्कुलेट गरेको पाइएको छ । यसबाट के प्रष्ट हुन्छ भने मेयर बालेन साह गृहमन्त्री अर्याललाई हटाउन दबाब दिइरहेका छन् ।

गृहमन्त्रीले सोमबार कान्तिपुर टेलिभिजनको फायरसाइडमा अन्तर्वार्ता दिनेक्रममा पनि यसको संकेत गरेका थिए । मेयर बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई तुरुन्त पक्राउ गर्न दबाब दिइरहेका छन् । तर, कानूनबमोजिम चल्नुपर्ने बाध्यता सरकारले देखाएको छ ।

पछिल्लो समय दुर्गा प्रसाईँले आफ्नो आलोचना गर्न थालेपछि सर्वसाधारणमा आफ्नो लोकप्रियता घट्न थालेको महसुस गरेको मेयर शाहले प्रसाईँलाई पनि पक्राउ गर्न दबाब दिइरहेका छन् । पछिल्लोपटक बालुवाटारमा भएको दलका नेतासँगको छलफलमा गृहमन्त्री अर्यालले दुर्गा प्रसाईँको नाम नलिई उनीमाथि क्रिमिनलको व्यवहार गर्ने अवस्था आउन सक्ने बताएका थिए ।

सरकार ओली लेखकलगायतका नेतामाथि जाँचबुझ आयोगको सिफारिसपछि मात्र कारबाही गर्न सकिने अडानमा छ भने बालेनको टीम र जेनजी आन्दोलनका केही नेताले तत्काल पक्राउ नगरे गृहमन्त्रीले राजीनामा दिनुपर्ने भनिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *