सात रुपैयाँ हाल्दा झुक्किएर आशिकाको संस्थामा सात हजार आएपछि….

काठमाडौं । आशिका तामाङले आशिका फाउन्डेसनमार्फत् विकट जिल्लाका बालबालिकाका लागि न्यानो लुगा अभियान चलाइरहेकी छन् । यसका लागि उनले एक रुपैयाँ चन्दा अभियान चलाइरहेकी छन् ।

एक रुपैयाँ चन्दा अभियानमा सहभागी हुनलाई आफ्नो फाउन्डेसनको लिंक सेयर गरेकी छन् । उक्त लिंकमा गएपछि त्यहाँ डोनेट भन्ने अप्सनमा क्लिक गरेर एक रुपैयाँ चन्दा दिन सकिन्छ ।

उनको यो अभियानमा हजारौँ नेपालीले साथ दिइरहेका छन् । तर, एकजना प्रयोगकर्ताले ७ रुपैयाँ हाल्न खोज्दा ७ हजार ट्रान्सफर भएको छ । भुलवश ७ रुपैयाँको ठाउँमा ७ हजार ट्रान्सफर भएपछि चन्दादाताले आफ्नो पैसा फिर्ता मागे । यसबारे जानकारी दिँदै आशिकाले उक्त पैसा फिर्ता गर्न नमिल्ने बताएकी छन् ।

सामाजिक संजालमा उनले यस बारे उल्लेख गर्दै लेखेकी छन्, ‘एकजनाले सात रुपैयाँ डोनेसन गर्न खोज्दा ७००० रुपैयाँ झुक्किएर ट्रान्सफर भएछ । उहाँले रकम फिर्ता माग्नुभएको रहेछ ।सबैलाई विनम्र अनुरोध के गर्न चाहन्छु भने यो संस्था हो । संस्थामा आएको रकम मैले स्वइच्छाले चलाउन मिल्दैन । र फिर्ता दिन पनि मिल्दैन । मैले मोबाइल बैंकिङबाट रकम चलाउन पनि मिल्दैन । जम्मा भएको रकम हेर्न मात्रै मिल्छ ।’

यदि खाताबाट पैसा निकाल्न चाहेको खण्डमा संस्थाको सातजना सदस्यको सहमति समेत चाहिने उनले उल्लेख गरेकी छन् । साथै संस्थाको चेक कोषाध्यक्ष र अध्यक्षको सिग्नेचर भएपछि मात्रै चल्ने समेत उनले बताएकी छन् ।

त्यसैले चन्दा पठाउँदा चन्दा रकम राम्रोसँग चेकजाँच गरेर मात्रै पठाउन अनुरोध गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *