
काठमाडौं । गायक तथा संगीतकार बबुल गिरी प्रेमिका नीतु पौडेलको आत्महत्या दुरुत्साहन अभियोगमा प्रहरी हिरासतभित्र छन् । प्रहरी वृत्त सिंहदरबारको हिरासतमा उनी अहिले एक्ला थुनुवा हुन् ।
जेनजी आन्दोलनपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाका सम्पूर्ण मुद्दा सम्बन्धित जिल्ला प्रहरी परिसरबाट चलाउने नीति लिइएको छ । प्रहरी वृत्तका हिरासतमा एक–दुई दिनमै छुट्ने सामान्य झैँझगडाका थुनुवामात्रै राख्ने गरिएको छ ।
यही कारण प्रहरी वृत्त सिंहदरबारले पनि अन्य थुनुवा त्यहाँ नराखी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर पठाइहाल्छ । गिरीलाई भने बुबाको बरखी बारिहेकाले त्यहीँ राखिएको हो ।
गिरीको अनामनगरस्थित स्टुडियोमा कात्तिक १ गते नीतुले आफ्नै शरीरमा आगो लगाएकी थिइन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा ७ गते उनको निधन भयो । त्यसै दिन आफैँ प्रहरी कार्यालयमा हाजिर भएका गिरीले आफू बुबाको बर्षान्त बारिरहेको भनेपछि प्रहरीले त्यहीँको हिरासतमा राखेको हो ।
गिरीका बुवाको गत वर्ष मंसिरमा निधन भएको थियो । उनले अहिलेसम्म सेतो लुगा नै लगाइरहेका छन् । हिरासतभित्र जे पायो त्यही खान मान्दैनन् । प्रहरीका अनुसार पहिले दुई दिन त उनले अम्बामात्रै खाएका थिए ।
‘उहाँ बुबाको वरखी चलिरहेकाले चाखो–नितो खान खोज्नुहुन्छ, प्रहरी हिरासतमा कहाँबाट चोखो–नितो ल्याएर दिनु ?’ वृत्तका एक प्रहरीले बताए ।
हिरासतमा एक्लै भएका कारण गायक तथा संगीतकार गिरीलाई प्रहरीको मेसमै पाक्ने खाना दिने गरिएको छ ।
जेनजी आन्दोलनमा त्यहाँ रहेको क्यान्टिन पनि नष्ट भएको थियो । नयाँ क्यान्टिन सञ्चालनमा आइसकेको छैन । अन्यथा, थुनुवाका निम्ति क्यान्टिनमा खाना बन्थ्यो । गिरी शाकाहारी खाना खाने कारण उनलाई जुप्र मेस(सिपाही–हवल्दार) को खाना दिने गरिएको त्यहाँका प्रहरीले बताए ।
सोमबार यो पंक्ति लेखिरहँदासम्म सिंहदरबार प्रहरी वृत्तको हिरासतमा गिरीबाहेक अरु कोही थुनुवा छैनन् । सामान्य झैँ–झगडा, मापसे र चोरीजस्ता घटनाका कारण पक्राउ गरिएका थुनुवालाई सकेसम्म हिरासतमा नराख्ने, राख्नै परे परिसर पठाइने गरिएको ती प्रहरीले बताए ।
प्रहरीहरुसँगको कुराकानीमा गिरीले प्रेमिका नीतुले आफ्नो स्टुडियोमा आफैँमाथि अगो लगाएपछि बचाउने प्रयास गरेको, तर नसकेको भनेका छन् ।
‘म काम गरिरहेको थिएँ, एक्कासी आएर आगो लगाइन्, मैले बचाउने प्रयास गरेँ, तर सफल भइनँ’, प्रहरीहरुसँग उनले भनेका छन् ।
गिरीसँग निकटस्थ व्यक्तिहरुले उनले नीतुलाई छोड्न नखोजेको दावी गरेका छन् ।
उनका एक मित्रले भने, ‘उसले छोड्न खोजेको होइन, बुवाको बरखी बारिरहेकाले अहिले बिहे गर्न मिल्दैन भनेको हो ।’
नीतुका परिवारजनले भने गिरीले ‘युज एन्ड थ्रो’ गरेको आरोप लगाएका छन् । नीतुले अन्तिम अवस्थामा पनि बाबुलको नाम लिइरहेको उनीहरुको भनाइ छ ।
नीतुको निधनपछि उनका परिवारले बाबुलविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिए ।सोही उजुरीको आधारमा पक्राउ गरेर प्रहरीले एक हप्ता म्याद थप गरेको छ । उनले अनुसन्धानमा प्रहरीलाई राम्ररी सघाइरहेको स्रोतले जानकारी दियो । भेट्न आउनेहरुसँग उनले आफूलाई नीतुले जुठो खप्ट्याएको बताउने गरेका छन् ।

Leave a Reply