
काठमाडौं । । यहीँ कार्तिक १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘परान’ को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी सोमबार अर्थात आज बिहान ११ बजे नेपाल आइपुगेकी हुन् । अभिनेत्री चन्दलाई स्वागत गर्न परानका निर्देशक दिपक प्रसाद आचार्य (काकु) विमानस्थल पुगेका थिए।
विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेत्री चन्दले आफू चलचित्र प्रचारका लागि करिब एक महिना नेपाल रहने बताइन् । परानलाई लिएर आफू निकै उत्साहित रहेको उनले प्रतिक्रिया दिइन् ।
उनले भनिन,‘परान मेरो लागि एकदमै विशेष छ। पारिवारिक कथामा बनेको चलचित्र भएकाले सबैलाई मनपर्छ भन्ने मेरो विश्वास छ। चलचित्रमा निर शाहज्यूसँग काम गर्न पाए, झनै खुसी छु।’
सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यदीप आचार्यको अभिनय छ।

Leave a Reply