
रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले अहिलेको अवस्थामा एमालेबिनाको देश केपी ओलीबिनाको एमाले कसैले कल्पना नगर्न चेतावनी दिएका छन् ।
आज अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेले आयोजना गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले धमिलो पानीमा माछा मार्न पाउनेगरी केही पाटीभित्र र बाहिरका व्यक्तिहरुले चलाएको गलत हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै पार्टीमा केपी ओलीको नेतृत्वको विकल्प नभएको जनाए ।
‘अहिले केही तत्वहरु एमालेबिनाको देश र केपी ओली बिनाको एमालेको कल्पना गर्दै हिंडेका छन्, एमालेभित्र पनि केही व्यक्तिहरु त्यो खिचडी बनाउन चाहेका होलान् तर उनीहरुले कुनै दिवासपना नदेखे हुन्छ अहिले देशमा एमालेबिना चल्नसक्दैन र एमाले केपी ओलीको नेतृत्वबिना चल्न सक्दैन, मंसिर महिनामा हुने महाधिवेशन अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्छ कसैले भ्रम नपाले हुन्छ ।’
उनले एमालेको चिन्ता गर्दै सामाजिक सन्जालमा अभियान चलाएकाहरुलाई भने ‘हिजो पार्टीमा रहेर अहिले चर्न गएकाहरुले बढी यस्ता कुरा उठाएका छन्, केही कांग्रेस, माओवादी वा यस्तै यस्तैले चलाएका छन्, एमालेको चिन्ता अरुले नगरे हुन्छ, आफ्नो थैली बाँधे हुन्छ, एमालेले आफ्नो निर्णय आफै गर्न सक्छ । हाम्रो नेतृत्व हाम्रो आवश्यकताको आधारमा गर्नसक्छ, कसैले बाहिर बसेर गोहीको आँशु नचुहाए हुन्छ ।’
नेता थापाले भदौ २३ र २४ गतेको आन्दोलन ठूलो राष्ट्रघाती गिरोहको योजनामा भएको र अर्बौको नोक्सानी भएको जनाए । ‘हामीले जेनजीहरुका जायज मागमा साथ दिन्छौं तर उनीहरुलाई मोहोरा बनाएर विध्वंश मच्चाउनेहरुलाई कुनै पनि मानेमा साथ दिन सकिदैन । राष्ट्रिय सम्पति र व्यक्तिगत सम्पतिमा आगो लगाउनेलाई पानीमुनि गएपनि छाडिने छैन, अपराधीले छुट पाउनेछैन ।’ उनले भने–‘आन्दोलन कसको अगुवाईमा भएको रहेछ भन्ने केही खुल्दैछ र केही खुल्नेक्रममा छ, यो घटनाको निष्पक्ष छानविन हुनुपर्छ अहिलेको आयोगले केही गर्न सक्दैन ।’
आन्दोलनपछि केही अन्यौलमा परिरहेको समयमा एमालेले बिस्तारै सबै जिल्लामा यसखालका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै उनले देशभरका ७७ जिल्लामध्ये अर्घाखाँचीले पहिलोपटक यति ठूलो प्रदर्शन गरेर देशव्यापी सन्देश दिएको जनाए । उनले एमाले कार्यकर्ताको बल अडिएको पार्टी भएकाले हरेक विषय वास्तविकतामा आधारित रहेर अघि बढ्न सुझाए ।
‘कागले कान लग्यो भनेर दौडने होइन आफ्नो कान हेरेर अघि बढ्नु कार्यकर्तालाई अनुरोध छ । सामाजिक सन्जालमा आएका गलत प्रचारबाट जोगिएर तथ्यमा गएर अघि बढ्न आग्रह छ । एमाले कार्यकर्ताको बलमा अडिएको पार्टी हो’ उनले भने । नेता थापाले देशव्यापी एमालेमाथि आक्रमण हुनु बलियो शक्तिलाई कमजोर बनाउने षडयन्त्र भएको जनाए ।
अहिलेको सरकार कुनै कानुनी आधारमा नभएकाले संसद पुनःस्थापना हुने अपेक्षमा रहेको नेता थापाले जनाए । ‘अहिले रुल अफ ल होइन, हुल अफ ल चलेको छ, हुल आफ ल मुर्दावाद, यसले देशलाई निकास दिँदैन, यो सरकार कुनै कानुनी आधारमा बनेकै छैन संसद पुनःस्थापनाबाट मात्रै समस्या समाधान हुन्छ, एमाले चुनावको विरोधी होइन तर यो अवस्थामा अहिलेको सरकारले निर्वाचन गराउन सक्दैन ।’
एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताए ।

आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराए । उनले भने,‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।’ मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए ।
उनले भने, ‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ ।’ अर्का केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताए । उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाए ।
विश्वकर्माले भने,‘निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ । तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन ।’ संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निकालिएको उक्त बृहत् सद्भाव र्यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, किसान, विद्यार्थी र शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

Leave a Reply