
सिड्नी । अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय ब्याट्सम्यान श्रेयस ऐयर घाइते भएपछि सिड्नीको एक अस्पताल भर्ना भएका छन् । अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय म्याचका क्रममा उनलाई छातीको तल्लो भागमा चोट लागेको थियो ।
अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनको उपचार भइरहेको छ । हाल उनको अवस्था स्थिर रहेको भएपनि चिकित्सकहरूको निगरानीमा छन् । ऐयर डिस्चार्ज कहिले हुन्छन् भन्ने निधो छैन ।
बीसीसीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानले प्लीहामा चोट देखाएको छ । उनी उपचारमा छन् । चिकित्सकीय रूपमा स्थिर छन् र राम्रोसँग रिकभर हुँदैछन् ।’
बीसीसीआईको मेडिकल टोलीले सिड्नी र भारतका विशेषज्ञहरूसँग समन्वय गरेर उनको चोटको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ । भारतीय टोलीका डाक्टर सिड्नीमा नै श्रेयससँग बसेर उनको दैनिक प्रगति मूल्यांकन गरिरहेका छन् ।
श्रेयसले यो चोट अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा सिड्नीमा एलेक्स क्यारीको क्याच लिने क्रममा पछाडि दौडँदा लागेको थियो । क्याच लिएपछि उनले तुरुन्तै आफ्नो पेटको भाग समातेर मेडिकल सहायता मागेका थिए । उनलाई तत्काल मैदानबाट बाहिर लगिएको थियो र उनले अष्ट्रेलियाको ब्याटिङ अवधिमा फर्कन सकेनन् ।
त्यतिबेला, बीसीसीआईले उनलाई थप चेकजाँचका लागि अस्पताल लगिएको संक्षिप्त जानकारी दिएको थियो । हालसम्म श्रेयस कहिले खेलमा फर्कन सक्छन् भन्ने स्पष्ट छैन । बीसीसीआईको मेडिकल टोलीको एक सदस्य श्रेयससँग सिड्नीमा नै बसेका छन् । अन्य एकदिवसीय खेलाडीहरूले सोमबार अष्ट्रेलिया छोडिसकेका छन् । टी-२० टोलीका खेलाडीहरू क्यानबरातर्फ प्रस्थान गरेका छन् । मंगलबार उनीहरूको पहिलो प्रशिक्षण सत्र भएको थियो ।
भारतले तेस्रो एकदिवसीय खेल ९ विकेटले जिते पनि पर्थ र एडिलेडमा भएको पहिलो र दोस्रो खेल हारेपछि तीन खेलको शृंखला २–१ ले गुमाएको छ । तीन खेलको टी-२० शृंखला अक्टोबर २९ मा क्यानबराबाट सुरु हुँदैछ, त्यसपछि मेलबर्न र होबार्टमा खेलहरू हुनेछन् । श्रेयस टी-२० टोलीको हिस्सा होइनन् । भारतले अब दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखला खेल्नेछ, जुन नोभेम्बर ३० मा राँचीबाट सुरु हुनेछ ।

Leave a Reply