सन्तान नजन्माउने राजेश हमालको घोषणा, बरु एडप्ट गर्ने

काठमाडौं । ‘बच्चा कहिले जन्माउने ?’ राजेश हमाल र मधु भट्टराईले लामो समयदेखि झेलिरहेको प्रश्न हो यो । ११ वर्ष अगाडि विवाह गरेको यो दम्पत्तिलाई अहिले पनि दर्शक, सुभेच्छुक र मिडियाले बारम्बार सोधिरहने प्रश्न हो यो ।

अहिले राजेश हमालले बच्चाको विषयमा एकमुष्ट रुपमा जवाफ दिएका छन् । आफ्नो आत्मकथा ‘युगदेखि युगसम्मः जीवन, सिनेमा र समाज’मा आफूहरुले बच्चा नजन्माउने निर्णयमा पुगेको बताएका छन् ।

लेखक तथा पत्रकार यज्ञशसँगको अन्तर्वार्ता शैलीमा प्रकाशित आत्मकथामा यज्ञशले सोधेका छन्, ‘सन्तानका विषयमा तपाईंहरुको सोच के छ ?’

जवाफमा हमाल भन्छन्, ‘अहिले त उमेरका हिसाबले पनि यस्तो अवस्थामा छु कि जीवनका बाँकी समय आफूमा खर्चिऊँ कि अरुमा समर्पित गरुँ ! सन्तान हुर्काउनलाई जिम्मेवारी मात्रै नभएर समय र समर्पणको पनि खाँचो हुन्छ ।’

अनि हमालले फेरि थपेका छन्, ‘हामी दुईजनाले सल्लाह गरेर नै सन्तान नजन्माउने निर्णयमा पुगेका हौं । यस्तो निर्णयमा पुग्नुको कारण के हो भने सन्तान जन्माउने र हुर्काउने कुराले समय र समर्पणको माग गर्छ ।’

तर, कुनै बच्चा एडप्टेसन गर्ने सम्भावना भने प्रशस्त रहेको बताएका छन् । कुनै समयमा एउटा बालक वा बालिकाको सहारा बन्ने अवसर जुर्यो भने आफूहरु पछि नहट्ने बताएका छन् । तर, यो सम्भावनालाई पनि आफूहरुले भविष्यलाई नै छाडिदिएको बताएका छन् । योजनाबद्ध हिसाबले एडप्टेसनतिर भने लागिनसकेको प्रष्ट पारेका छन् ।

ढिला विवाह गर्नुका पछाडि पनि सन्तान जन्माउने कुराप्रति आफ्नो बेग्लै सोच भएका कारण विवाह पनि ढिला गरेको हमालले बताएका छन् । आफूले विवाह गरे पनि सन्तान जन्माउने पक्षमा नरहेको कारण खुलाएका छन् । यो कुरामा मधुले पनि साथ दिएको हमालले बताएका छन् ।

भर्खरै प्रकाशित हमालको आत्मकथामा उनले नीजि जीवनको अलवा चलचित्र यात्रा, संघर्ष र सफलताबारे खुलेर कुराकानी गरेका छन् । पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *