पेचिलो बन्यो एसएसपी बढुवा- पाँच सीटका लागि १७ दाबेदार हुँदा योग्य एसपी तल परे

काठमाडौं । गृह मन्त्रालयले आइतबार पाँच एसएसपीलाई डीआईजी बढुवाका निम्ति सिफारिस गरेपछि पाँच एसपीलाई एसएसपी बढुवा गर्ने तयारी हुँदैछ । यसपटकको एसएसपी बढुवामा अघिल्लो पटक छुटेका केहीसहित इन्स्पेक्टर दर्जाको ११४ टोलीका अधिकृत मुख्य दाबेदार छन् ।

पाँच सीटका निम्ति १७ जना दाबेदार छन् । त्यसमध्ये व्यवसायिक प्रहरी कार्यमा कहलिएका एसपीहरू वरियताको तल्लो नम्बरमा छन् ।

बढुवा हुनुपर्नेमा पहिलो नम्बरमा विमल बस्नेत छन् । उनी गत साउन ५ मा ११ एसएसपी सिफारिस हुँदा छुटेका थिए । अमेरिका घुम्न गएका उनले उतैबाट गृह मन्त्रालयमा उजुरी पनि दिए । तर, उजुरी बदर गर्दै सरुवा सदर भयो ।

उनी ‘नमस्ते टोली’ भनिने राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ गते भर्ना भएका अधिकृत हुन् । उनका सबैजसो व्याची एआईजी र डीआईजी भइसकेका छन् । सुर्खेत ट्राफिक प्रमुख हुँदा आर्थिक हिनामिनामा परेपछि चार वर्ष बढुवा रोक्कामा परेका कारण उनी यसपटक एसएसपी हुने लाइनमा छन् ।

एसएसपी बढुवाका दोस्रो नम्बरका दाबेदार रामप्रकाश शाह हुन् । उनी पनि अनुसन्धान विभागको अधिकृतमा २०५५ भदौ २२ मा भर्ना भई २०६७ पुस २३ मा डीएसपी हुँदै अगाडि आएका हुन् । बढुवाको तेस्रो नम्बरमा रहेका भुवनेश्वर तिवारी २०५५ कात्तिक १ मा असई भर्ना भएर ११४ टोलीअन्तर्गत २०५८ साउन १८ मा इन्स्पेक्टरको प्रतिस्पर्धामा उत्तीर्ण भएका हुन् । डीएसपी बढुवादेखि नै उनी पछि पर्दै आएका छन् । उनी २०६९ फागुन १३ को बढुवाका डीएसपी हुन् ।

यो बढुवामा ११४ टोलीका अधिकृतमध्ये ऋषिराम कँडेल बढुवाको चौथो नम्बरमा छन् । त्यसपछि क्रमशः सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी एसएसपीको बढुवा वरियतामा छन् । अर्का दाबेदार नकुल पोखरेल २०५५ कात्तिक १ का असई हुँदै ११४ टोलीमा भित्रिएका हुन् । सोही टोलीका पदमबहादुर विष्ट र सुवासचन्द्र बोहोरा पनि एसएपी हुने योग्यता पूरा गरेका एसपी हुन् ।

२०५५ कै असई टोलीबाट इन्स्पेक्टरमा नाम निकालेका बासुदेव खतिवडा बढुवा वरियताको ११ नम्बरमा छन् । प्रजित केसी, राजकुमार सिलवाल, यागेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे र वीरेन्द्रबहादुर शाहीसमेत गरेर प्रतिस्पर्धी संख्या १७ पुगेको हो । तर, एसएसपी दर्जामा पाँच दरबन्दीमात्रै रिक्त छन् ।

आइतबार एसएसपीबाट डीआईजी बढुवा सिफारिस हुँदा जेनजी आन्दोलनमा काठमाडौं उपत्यकाको जिम्मेवारीमा रहेकै कारण विश्व अधिकारी छुटेजस्तै एसएसपीमा छुट्ने खतराबाट दाबेदारहरू प्रायः मुक्त छन् । ललितपुर प्रहरीको टुवाईसी रहेका एसपी पदमबहादुर विष्टमात्रै उपत्यकाको सुरक्षा जिम्मेवारीमा रहेका एसपी हुन् । उनी ९ नम्बरको वरियतामा छन् ।

११४ टोलीका अधिकांश अधिकृत एसएसपी भइसकेका छन् । २०८१ माघमा रमेश थापासहितका एसपीले एसएसपी बढुवा पाएका थिए । उक्त बढुवामा अजय केसी, अनुपमसमशेर जबरा, वीरबहादुर बूढा मगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होविन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महत्तो, बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, रञ्जयसिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल एसएसपी भएका हुन् । त्यसमध्ये थापा काठमाडौं प्रहरी प्रमुख छन् ।

अधिकारी उपत्यका ट्राफिक, कोइराला लागु औषध नियन्त्रण ब्युरो, बोगटी ललितपुर र पंगेनी मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रमुखका रूपमा कार्यरत छन् ।

यसपटक एसएसपी बढुवाका लागि योग्य भएर वरियतामा तल रहेका कतिपय एसपी कार्यसम्पादन, कमाण्ड कन्ट्रोल र प्रहरीकार्यमा योग्य मानिन्छन् । तर, वरियताका आधारमा बढुवा हुँदा उनीहरू एसएसपी हुने सम्भावना न्यून बनेको छ ।

अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, बासुदेव खतिवडा, सुवासचन्द्र बोहरा, प्रजित केसी, योगेन्द्रसिंह थापा, दिलीप घिमिरे, वीरेन्द्रबहादुर बस्नेतहरू व्यवसायिक प्रहरीकार्यमा कहलिएका अधिकृत हुन् । यद्यपि, वरियतामा उनीहरू तल परेका छन् । डीआईजी बढुवासम्मको स्थितिका आधारमा उनीहरू यसैपटक एसएसपी हुने सम्भावना कम भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *