
काठमाडौँ । यतिबेला सिनेनगरीमा कुनै चलचित्रको अत्यधिक चर्चा छ भने, त्यो हो अभिनेता अनमोल केसी अभिनित ‘जेरी अन टप’ । प्रदर्शनको ११ औं दिनसम्म आइपुग्दा यो चलचित्र हलहरुमा दर्शकको सुनामी नै ल्याइरहेको छ ।
गत असोज ३१ गते रिलिज भएको ‘जेरी अन टप’सँगै अहिले हलहरुमा ७ वटा चलचित्र प्रदर्शनरत छन् । कार्तिक ६ गते दुई नेपाली चलचित्रहरु ‘सोल्टिनीे’ र ‘वरिष्ठ बलराम’ रिलिज भए । कार्तिक ७ गते ‘मैझारो’ थपियो ।
तीन भारतीय चलचित्रहरु र एक हलिउड चलचित्रले पनि उल्लेख्य शो ओगटेका छन् । तर, यति तीव्र प्रतिस्पर्धाबीचमा पनि जेरी अन टप लामो रेसको घोडा बन्दै ‘ब्लकबस्टर’ बन्ने बाटोमा छ ।
प्रदर्शन भइरहेका अन्य नेपाली चलचित्रहरुमध्ये कुनैले पनि उत्साहजनक व्यापार गर्न सकिरहेका छैनन । दशैंमा रिलिज भएका चलचित्रलाई समेत लगानी उठाउन धौधौ परेको थियो । अनमोलको ‘जेरी अन टप’ ले भने प्रदर्शनको एघारौ दिन पुग्दा पनि आक्रामक व्यापार गरिरहेको छ ।
रिलिजको दुई दिनसम्म चलचित्रको व्यापार ठीकठाक मात्रै थियो । तिहारको विदाको मज्जाले सदुपयोग गर्दै जेरी अन टपले रफ्तार समात्यो । १० औं दिनमा आइपुग्दा चलचित्रले एकै दिन करोडको आँकडा छोयो । पहिलो दिनभन्दा १० औं दिनमा उच्च ब्यापार हुनु भनेको चलचित्रले लामो यात्रा गर्ने संकेत हो ।
प्रदर्शनको पहिलो दिन ७२ लाख ५९ हजार ४ सय ८ रुपैयाँ ग्रस कलेक्सन गरेको यो चलचित्रले रिलिजको दशौँ दिन अर्थात हिजो १ करोड माथिको ग्रस व्यापार गरेको छ । आज पनि चलचित्रको बुकिङ सन्तोषजनक देखिन्छ ।
आजका दिनसम्म ‘जेरी अन टप’ ले १० करोडभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमले जनाएको छ । अनमोलको कुनै पनि चलचित्रले १० करोडको ग्रस कलेक्सन नघाएको यो पहिलोपटक हो । त्यस हिसाबले उनको करिअरकै सर्वाधिक सफल फिल्म बनेको छ जेरी अन टप ।
आफ्नो १२ वर्षको अभिनय करियरमा अनमोलले ठ्याक्कै १२ वटा चलचित्रमा काम गरेका छन् । बाल्यकालमा बालकलाकारको रुपमा पिता भुवन केसीसँगै केही चलचित्रहरु गरेता पनि ‘होस्टेल’ बाट अनमोलले आफ्नो नायकको रुपमा डेब्यू गरेका थिए ।
पहिलो चलचित्रबाटै उनले सफलताको स्वाद चाखे । अभिनयभन्दा पनि लुक्सले नै अनमोललाई चर्चामा ल्याइदियो । उनका महिला फ्यानहरु बढि देखिए ।
बिस्तारै उनले दिएको अन्तर्वार्ताहरुबाट फ्यान फलोअर्स थप बढे । उनको सकारात्मक सोच र शालीन स्वभावका कारण उनलाई धेरैले रुचाए । अभिनयभन्दा पनि उनको व्यक्तित्व र लुक्सका फ्यानहरु धेरै छन् ।
पहिलो चलचित्र हिट भएपछि उनी थप चलचित्र गर्न आत्तिएनन् । अफर आएजत्ति चलचित्रमा साइन गर्नतिर लागेनन् । वर्षमा एउटामात्र चलचित्र खेल्दै आएका छन् । साथमा उनले आफ्नो स्टारडम पनि अरुलेभन्दा राम्रोसित मेन्टेन गर्न सफल भए ।
दुई वर्ष अघि प्रदर्शनमा आएको उनको ‘छड्के १’ ले अनमोललाई झट्का दिएको थियो । उक्त चलचित्र व्यवसायीकरुपमा फ्लप मात्र भएन अनमोलले पनि निकै आलोचना खेपे । त्यसपछि उनले आफू फेरि शून्यबाट अगाडि बढ्ने उद्घोष गरेका थिए ।
गत वर्ष अनमोलको नयाँ चलचित्र ‘फर्की फर्की’ आयो, जसले उनको करियरलाई केही राहत दियो । ‘छड्के’ बाट नराम्रोसँग पछारिएका अनमोललाई ‘फर्की फर्की’ ले केही हदसम्म उठायो । तर त्यो चलचित्रले पनि ब्लकबस्टर कमाइ भने गर्न सकेन ।
उसो त स्टारडम राम्रो भएपनि, अनमोलको अभिनयको सदैव आलोचना हुने गर्दछ । उनको अभिनयमा सुधार गर्नुपर्ने पाटोहरु धेरै भएको गुनासो अधिकांशको हुने गर्दछ । तर यसपटक भने उनले त्यो गुनासो गर्ने बाटो पनि छोडेनन् । फर्कीफर्कीदेखि उनको अभिनयमा सुधार देखिएको समिक्षकहरुको टिप्पणी छ ।
जेरी अन टप हेरेपछि धेरैले उनको अभिनय पहिलाभन्दा निकै राम्रो भएको प्रतिक्रिया दिइरहेका छन् । चलचित्रको कथा र पात्रमा उनी निकै फिट देखिन्छन् । पहिला केही न केही पक्षमा खोट लागिरहने अनमोललाई यसपटक सबै कुराबाट रुाहत मिलेको छ ।
आफ्नो करियरको बाह्र वर्षमा उनलाई दुवै हातमा लड्डु झैँ भएको छ । एकातर्फ राम्रो चलचित्र अनि कामको तारिफ पाएका छन् भने अकोतर्फ चलचित्र व्यापारको हिसाबले पनि ब्लकबष्टर हुने दौडमा छ ।
‘जेरी अन टप’ ले लाइफटाइम कलेक्सन कति गर्छ, त्यो भने हेर्न बाँकी छ । यो महंगो बजेटमा बनेको चलचित्र हो । तर, देश तथा विदेशमा भएको व्यापारबाट निर्माता सुरक्षित बनिसकेका छन् । अहिले पनि दर्शकको अकुपेन्सी राम्रो भएकाले अझै केही समय चलचित्र चल्ने निश्चित छ ।

Leave a Reply