जब हाम्रो कुरा कसैले सुन्दैनन्- नितु पौडेलदेखि अमनप्रतापसम्म !

आजको समयमा हाम्रा भावना र विचार केवल शब्दमा सीमित छैनन् । हाम्रा भावना र विचारहरू स्क्रिनमा देखिन्छन् । भिडियोमा देखिन्छन् । पहिले एक ठाउँको खबर अर्को ठाउँ पुग्न महिनौँ लाग्थ्यो, अहिले एक मिनेटमै सारा संसार विचरण गर्छ ।

तर, हजारौँ दर्शक/पाठकसम्म पुग्ने भावना भावना र विचारलाई जब उनीहरूले मानिदिँदैनन् वा सुनिदिँदैनन्, हाम्रो मन भित्रैबाट भाँचिएर जान्छ । झनै सामाजिक सञ्जालसँग जोडिएका हाम्रा भावना र विचारलाई एकै पटक अस्वीकार गरिँदा त्यसको परिणाम धेरै नै भयावह र विकराल बनेर जान सक्छ ।

पछिल्लो समय यस्ता घटनाहरू दिन प्रतिदिन घटिरहेका छन् । केही दिनअघि मात्रै गायिका नितु पौडेल आत्मदाह प्रकरणले सामाजिक सञ्जाल रंगियो । नितु पौडेल प्रकरण पछिल्लो समय गहिरो सामाजिक मनोवित्रान उजागर गर्ने प्रतिनिधि घण्टा हो ।

गायिका नितुले प्रेमसम्बन्ध, पारिवारिक दबाब, व्यावसायिक अड्चन र सामाजिक अस्वीकृतिका कारण आफूलाई पेट्रोल खन्याएर आत्मदाह गरिन् । उनले सामाजिक सञ्जालमा आफ्नो निर्णय लेखिन् । प्रहरी वृत्त पुगिन् । अनि अन्ततः आगोको मुस्लोमा परिणत भइन् ।

यस घटनाले देखाउँछ, सामाजिक/प्रेम सम्बन्धमा हुने अस्वीकृतिले व्यक्तिको आत्म-मूल्यांकनमा धक्का पुर्‍याउँछ । सामाजिक सञ्जालमा व्यक्त गरिएको सम्भावित संकेत (उदाहरणका लागि “आजको दिन सबैभन्दा ठूलो निर्णय लिँदैछु” भन्दै पोस्ट) अक्सर समयमै नबुझिन सक्छ । अस्वीकृतिको विभिन्न तह, पारिवारिक दबाब, सामाजिक अपेक्षा, प्रेम सम्बन्ध मिलेर विषाक्त संयोजन बन्न सक्छ ।

यो केवल व्यक्तिगत कमजोरी होइन । यो सामाजिक र डिजिटल युगको डरलाग्दो मनोवैज्ञानिक सन्देश हो । मानव प्राणी स्वभावतः सामाजिक हो । उसलाई अरूले आफूलाई विना दोहोरो संवाद “बुझोस्” भन्ने चाहना हुन्छ । तर जब कसैले हाम्रो कुरा सुन्न वा मान्न तयार हुँदैन, मस्तिष्कले त्यसलाई अस्तित्वमाथिको खतरा ठान्छ ।

मनोवैज्ञानिक म्यास्लोको आवश्यकताको पिरामिडमा “स्वीकृति” र “सम्मान” बिना जीवन असन्तुलित हुन्छ । त्यही कारण जब हामीलाई बुझिँदैन, हामी पीडित महसुस गर्छौँ । जब हाम्रो कुरा अस्वीकार गरिन्छ, हामी रिसाउँछौँ । जब हाम्रो अस्तित्व नै नदेखिए जस्तो लाग्छ, हामी मन भित्रबाटै दुखी हुन्छौँ । अरूले कुरा नमान्दा मान्छे पहिले दुखी हुन्छ । त्यो दुःखलाई रोक्न नसक्दा ऊ रिसाउँछ, चिच्याउँछ, गाली गर्छ । तर त्यो गाली दुःखी भएर मात्रै गरिएको हुँदैन, भित्रैदेखि टुटिसकेपछि पोखिएको पीडा हो ।

पछिल्लो समयमा पूर्व फुटबलर तथा टिभी प्रस्तोता अमन प्रताप अधिकारीले संसद् भवन अगाडि भएको आन्दोलनका क्रममा सार्वजनिक प्लेटफर्ममा उग्र भाषा (अश्लील शब्दसहित) र धम्कीपूर्ण अभिव्यक्ति सहितको भिडियो साझा गरेका छन् । जसमध्ये उनले भनेका छन्, “अब सबको ज्यान जान्छ…” ।

यसले देखाउँछ कि डिजिटल प्लेटफर्मले भावनालाई तुरुन्त सार्वजनिक बनाउँछ, तर त्यसको परिणाम सामाजिक र कानुनी दुवै रूपमा गम्भीर हुन सक्छ । यस्तो व्यवहार केवल एक व्यक्तिको रिस होइन, नबुझिएको समाजको मनोवैज्ञानिक प्रतिबिम्ब हो । यो अवस्थालाई “इगो हर्ट रेस्पोन्स” भनिन्छ । अहम् वा आत्मसम्मानमा चोट पुगेपछि मस्तिष्कले प्रतिक्रिया स्वरूप आक्रोश निकाल्छ । तर यस्तो प्रतिक्रिया क्षणिक मात्र हुन्छ ।

दुःखले शान्ति माग्छ, तर रिसले युद्ध जन्माउँछ । जब शब्दले काम गर्दैन, मान्छेले धम्की, मुद्दा, अपमान, वा प्रतिशोधका रूपमा व्यवहारिक नियन्त्रण खोज्छ । उसको मनोविज्ञानले भन्छ, “अब बल प्रयोगले मात्र मलाई सबैले सुन्नेछन्।” तर यस्तो व्यवहारले सम्बन्ध र समाज दुवै टुटाउँछ ।

जब सबै प्रयास विफल हुन्छन्, तब लाग्छ- “अब केही बाँकी छैन ।” त्यो क्षण सबैभन्दा नाजुक र पीडादायक हुन्छ । यहीँबाट आत्मविनाशको विचार सुरु हुन्छ । उसले सोच्दछ, “कम्तीमा मेरो अन्त्यले त अरूलाई महसुस गराओस् !” तर वास्तवमा त्यो कुनै प्रतिशोध होइन, त्यो एक मौन सन्देश हो, “मेरो भावनालाई मैले आफ्नो ठानेको मान्छेले वा अरू कसैले बुझेन ।”

आज यो सम्पूर्ण मनोवैज्ञानिक यात्रा सामाजिक सञ्जालमा झन् तीव्र बनेको छ । हजारौँ मान्छेको अगाडि सामाजिक सञ्जालले मानिसको भावना, आक्रोश, र पीडालाई उत्तेजित गर्छ । सामाजिक सञ्जालमा “लाइक”, “रियाक्सन”, “कमेन्ट”, “फलोअर” नै आत्मसम्मानको मापन बनेका छन् । कसैले हाम्रो पोस्टमा प्रतिक्रिया दिएन भने हामी सोच्न थाल्छौं, “म महत्त्वपूर्ण छैन।” यही सोचले मानिसलाई डिप्रेशन, एक्लोपन र आत्मग्लानीतर्फ ढलाउँदै लगिरहेको छ ।

पहिले अस्वीकृति केवल दुई जनाबीच सीमित हुन्थ्यो, तर अहिले त्यही कुरा फेसबुक, टिकटक, एक्समा भाइरल हुन्छ । जब कसैको विचार वा भावना ट्रोलिङ र अपमानमा बदलिन्छ, त्यो डिजिटल भीडको सामूहिक हिंसा हो । सामाजिक सञ्जालले सबैले आफ्नो ‘सफल’ रूप मात्र देखाउँछन् । तर अरूको सफलता हेर्दा र आफ्नो कमजोरी देख्दा आत्मविश्वास घट्छ । त्यस्तो निरन्तर तुलनाले अन्ततः मानसिक सन्तुलन बिगार्छ ।

हामीले बुझ्नुपर्ने कुरा सरल छ- हरेक आक्रोशको पछाडि एक नबुझिएको पीडा हुन्छ । व्यक्तिगत स्तरमा अरूको कुरा सुन्ने अभ्यास गरौँ, केवल उत्तर दिने होइन । सामाजिक सञ्जालमा आलोचना होइन, सहानुभूति बढाऔँ । सामाजिक स्तरमा विद्यालयमा मानसिक स्वास्थ्य र सहानुभूति शिक्षाको अभ्यास सुरु गरौँ । साइबर उत्पीडन, डिजिटल बुलिङ र उग्र भाषणविरुद्ध ठोस नीति बनाऔँ । मानसिक स्वास्थ्य, आत्महत्या रोकथामका हेल्प लाइनहरूलाई समान पहुँचयोग्य गराऔँ । सार्वजनिक प्लेटफर्ममा बोल्ने/लेख्ने मानिसहरूलाई उत्तरदायित्ववोध बढाऔँ । “मेरो लेखाइले, मेरो प्रतिक्रियाले, मेरो बोलीले अरूलाई कसरी असर गर्छ?” भन्ने प्रश्न आफूलाई सोध्ने संस्कार बढाऔँ । आफूभित्रको सामाजिक संस्कार र चेतको विकास गरौँ, सबै कुरालाई राजनीतिसँग जोडेर व्यक्ति र समाजवाद विखण्डनतिर नधकेलौँ ।

जब मानिसको कुरा सुन्ने कोही हुँदैन, ऊ मौन हुन्छ । जब मौनता पनि कसैले महसुस गर्दैन, ऊ हराउँछ । कहिलेकाहीँ त सधैँका लागि हराउँछ । सामाजिक सञ्जालले हामीलाई जोडेको छ, तर बुझ्ने क्षमताबाट टाढा पुर्‍याएको छ । अब समय आएको छ- “रियाक्सन” होइन, “रिलेशन” बनाउने संस्कृतिको किनभने अन्ततः हरेक मान्छेलाई सामाजिक प्राणीको रूपमा बाँच्न केवल एक कुरा चाहिन्छ, त्यो हो: “मलाई कसैले बुझोस् !”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *