
काठमाडौं । समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको चर्चाले दुवै पार्टीमा तरंग ल्याएको छ।माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच एकताको लागि लगभग राजी भएपछि पार्टी पंक्तिमा असन्तुष्टि बढेको छ।
माओवादीसँग एकता गर्न नेकपा एसको ठूलो पङ्क्ति सहमत छैन भने पाटीको नाम माओवादी र चुनाव चिन्ह नै छाड्नेगरी हुने भनिएको एकतामा माओवादी वृत्त पनि खुस छैन।
विचार मिल्ने र वामपन्थी शक्तिहरूबीचको एकताको लागि नाम फेर्ने माओवादीको निर्णय पुरानो हो। तर यो निर्णयप्रति सिंगो पार्टीपंक्ति सन्तुष्ट सुनिँदैन। माओवादी नाम आफैँमा एउटा ब्राण्ड हो जसमा चुनाव चिन्ह पनि।
यी दुवै छाडेर गएको चुनावमा गठबन्धनको बलमा पनि राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एससँग एकता गर्नु उपयुक्त नहुने कुरा माओवादीभित्रै उठेको छ। त्यसो त प्रचण्डले माधव नेपालसँग मात्रै होइन, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपासहित अन्य माओवादी घटकसँग पनि एकताको प्रयास जारी राखेका छन्।
मोर्चामा आबद्ध नेकपा एस र नेसपा बाहेक अन्य दल तत्कालै माओवादीसँग एकताको पक्षमा छैन। दुई पार्टीबीच एकताको अन्तिम गृहकार्य चलिरहेको छ। प्रचण्ड आफैँले तिहारलगत्तै एकता हुने दाबी गरेका थिए।
तर, दुई पार्टीबीच एकताको चर्चा चलेपछि हिजो प्रचण्ड सचिवालयले केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार मोर्चामा आबद्ध दल तथा अन्य वामपन्थी समूहहरुबीच एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा साङ्गठनिक विषयहरूमा घनिभूत छलफल जारी रहेको जनायो।
कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लागि नसकेको भनाइ छ। सचिवालयले भनेको छ, ‘विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र सङ्घर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पुरा गर्न एकता अनिवार्य सर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ ।’
सचिवालयले नाम र चुनाव चिन्हबारे कुनै सहमति नभएको दाबी गरेपनि नेकपा समाजवादी नाम राख्ने गरी लगभग सहमति भइसकेको छ। चुनाव चिन्ह गोलाकारभित्र कलम प्रस्ताव गरिएको छ। यद्यपि, विभिन्न विकल्पमा छलफल जारी रहेको दुवैतर्फका नेताहरू बताउँछन्।
माओवादीमा असन्तुष्टि
नेकपा एससँग एकता गर्दा जनयुद्धको भावना नभत्कने र समाजवादको बाटो नबिग्रने गरी अगाडि बढ्नुपर्ने माओवादीका युवा नेता केशव रावल बताउँछन्।
उनी भन्छन्, ‘३/४ वर्ष अगाडी नै पार्टी एकताको प्रसङ्ग नचल्दै पार्टीको नाम र चुनाव चिन्ह फेरौँ भन्ने माओवादी पदाधिकारी बैठकमै छलफल भयो। त्यही कुरामा समर्थन जनाएकाहरूले अहिले प्रचार गर्दै छन्।’
आन्तरिक एकता, पार्टी एकता आजको आवश्यकता भएको उनको भनाइ छ। माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पनि पार्टीले नेकपा एस लयागतसँगको पार्टी एकताका सन्दर्भमा पार्टीको नाम, विचार र कतिपय अरू विषयमा एस पार्टीका जिम्मेवार नेताहरूबाट गलत प्रचार गर्ने कोसिस गरिएको बताए।
उनले भनेका छन्, ‘यो विलकुल गलत तरिका हो । माओवादी केन्द्र हटाएर समाजवादी राख्ने वा समाजवादी हटाएर माओवादी राखेर एक अर्काको मनोविज्ञानमाथि हाबी हुने मानसिकताबाट एकता गर्न खोजिएको बिलकुलै होइन।’
वाम विचारका पार्टीहरुकोबीच हुने एकताबाट नयाँ मनोविज्ञान दिने पार्टीको नाम, चिन्ह र वैज्ञानिक विचारहरूको अवलम्बन गरेर अघि बढ्ने साझा धारणा भएको उनको भनाइ छ। उनले इमानदारीपूर्वक एकता गर्ने हो भने मिडिया ट्रायल नगरी खुरुखुरु आआफ्ना केन्द्रीय समितिमा लैजाने दस्ताबेजको ड्राफ्टमा लैजाने काम गर्न आग्रह गरे।
माओवादीका सचिव दिनानाथ शर्माले नेकपा एससँग एकता गर्ने विषयमा छलफलमा रहेपनि अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए।
उनले भने, ‘विचार, सिद्धान्तलगायतको विषयमा छलफल चलिरहेको छ। अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ। दुवै तर्फबाट सकारात्मक रूपमा छलफल चलिरहेकाले चाँडै टुङ्गिएला।’
उनले नाम, चुनाव चिन्ह, विचार परिवर्तनको विषयमा छलफल चलिरहेको पनि बताए। उनले थपे, ‘यो विषय दुवै पार्टीभित्र छलफल चलिरहेको छ। सबैको एउटै विचार हुँदैन। त्यसैले अहिले हामी विभिन्न विकल्पमा छलफल चलिरहेको छ।’
आफ्नो ब्राण्ड बनिसकेको माओवादी नाम र हँसिया हथौडा चुनाव चिन्ह छाड्न नहुने मत पार्टीभित्र रहेको पनि सचिव शर्माले स्वीकारे।
त्यसो त माओवादीभित्र पनि आन्तरिक शक्ति सङ्घर्ष जारी छ। प्रचण्डको कार्यशैलीप्रति वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मानिकट नेताहरू सन्तुष्ट छैनन्। नेतृत्व छाड्न दबाब बढेपछि केन्द्रीय कमिटी भङ्ग गरेर आफैँलाई संयोजक तोके।
तर, मंसिरमा महाधिवेशन गर्ने भनिएपछि त्यसअघि नै नेकपा एससँग एकता गर्ने नेतृत्वमा रहिराख्ने प्रचण्डको रणनीति छ।
नेकपा एसमा उस्तै रडाको
त्यसो त माओवादीसँग एकताको विषयले नेकपा एसभित्र पनि रडाको मच्चिएको छ। सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित ठूलो पार्टी तत्काल एकताको विपक्षमा उभिएका छन्।
अध्यक्ष नेपालको जोड बलले नै यो प्रस्ताव आगामी पोलिटब्युरो र केन्द्रीय समिति बैठकबाट लैजाने तयारी छ। पोलिटब्युरो ११ र केन्द्रीय समिति बैठक १२ गतेदेखि बोलाइएको छ।
नेकपा एसका प्रचार विभाग उपप्रमुख दामोदर अर्याल समग्र वाम आन्दोलनको एकताका लागि पार्टीले पहल गर्ने निर्णय गरिसकेको भन्दै माओवादीसँग मात्र गरिने एकताले समग्र वाम एकताको वातावरण बिथोलिने बताउँछन्।
उनी भन्छन्, ‘एकताको आधारका बारेमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा छलफल नै भएको छैन । एकताको आधार नै निर्माण नगरी गरिने एकता वार्ता एकपक्षीय हुने भएकोले यसको स्वामित्व सम्पूर्ण पार्टीले लिँदैन ।’
आफैँले धेरै समयदेखि उठाउँदै आएको र हालै सम्पन्न भएको जेनजी आन्दोलनको भावना पनि प्रमुख नेताहरूको अवकाश भएको उनको भनाइ छ। केन्द्रीय समिति बैठकमा महासचिव भुसालसहित केही नेताहरूले अध्यक्ष नेपालको राजीनामा नै मागेका थिए।
उनले थपे, ‘यो काम सम्पन्न नगरी गरिने एकताले जनतामा कुनै आशा जगाउँदैन । विचार, नीति, कार्यक्रम र समाजवादी कार्यदिशा निर्माणमा सबै वाम पार्टीहरू सहभागी भएको एउटा बृहत् गोलमेच सम्मेलन आवश्यकता छ ।’
अहिले चर्चामा आएको एकीकृत समाजवादी र माओवादी पार्टीको बिचको एकताको कुरा पार्टीको आधिकारिक कमिटीहरूमा छलफल नै नभएको जिकिर गरे। यद्यपि, माओवादीसँग एकताको गृहकार्य वरिष्ठ नेता वेदुराम भुसाल नेतृत्वको कार्यदलले काम गरिरहेको छ।
कार्यदलको सदस्य तथा नेकपा एसका उपाध्यक्ष प्रकाश ज्वालाले एकताबारे छलफल भइरहेपनि अन्तिम निष्कर्षमा नपुगेको बताए।
उनले भने, ‘अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ। नामबारे पनि कुनै सहमति भइसकेको छैन। एकता गर्दा बहुपदीय नगरौँ भन्ने ढङ्गले कुरा अघि बढेको छ।’ पार्टी पुनर्गठनको सन्देश जाने मोडालिटीमा जाने गरी छलफल भइरहेको बताए।
प्रवक्ता समेत रहेका ज्वालाले थपे, ‘नीतिगत विषयमा धेरै भिन्नता छैन। अहिले सङ्गठनात्मक विषयमा कुराकानी भइरहेका छन्। नेतृत्वबारे दुई अध्यक्षले नै टुङ्गो गर्नुहुन्छ। उहाँहरूले नै छलफल गरेर सहमति गर्नुहुन्छ।’
एकता गरेपछि बहु पदीयमा नजाने, भद्दा कमिटी नबनाउने भन्ने ढङ्गले छलफल चलिरहेको र कुन पदमा को रहने भन्ने टुङ्गोमा नपुगिसकेको सुनाए। माओवादीसँग एकताको विषयमा पार्टीभित्र केही नेताहरूले प्रश्न उठाएको स्वीकारे।
उनले थपे, ‘साथीहरूले अहिले धेरै हतार नगरौँ। बहस र छलफल गरेर टिकाउ हुने गरी जानुपर्छ भन्ने ढङ्गले कुरा राख्नुभएको छ। त्यो अस्वाभाविक कुरा पनि होइनन्। एकता नै गर्न हुँदैन भन्ने ढङ्गले पार्टीका कसैले भनेको हामीले सुनेका छैनौँ।’
विप्लवका बेग्लै कुरा
माओवादी र नेकपा एसबीच एकताको चर्चाका बीच नेकपाका महासचिव विप्लवले कम्युनिस्टहरू बीचको एकताको आवश्यकता झनै बढेको बताएको बताएका छन्। यद्यपि, उनी आफैँ भने तत्काल एकताको पक्षमा छैनन्।
विप्लव समाजवादी मोर्चाको संयोजक छन्। एकताको लागि नेकपा पनि सकारात्मक भएपनि अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन। नेकपाको हालैको बैठकले मोर्चामा आबद्ध दलसँग एकताको पहल गर्ने निर्णय गरेको थियो। तर त्यसभन्दा पनि विप्लवले आफैँ नेतृत्वमा नयाँ समाजवादी केन्द्र बनाउनुपर्ने कुरालाई प्राथमिकता राखेको छ।
एकताबारे विप्लवको भनाइ छ, ‘एकता सङ्गठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुङ्गो लागिसकेको छैन ।’
यद्यपि कुनै पार्टीहरूबीच हुने एकतालाई सकारात्मक रूपले लिनुपर्ने उनको भनाइ छ। देशको स्वाधीनता गम्भीर सङ्कटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनुपर्ने उनको भनाइ छ।

Leave a Reply