तिहारः विगतको रमझम एक स्वर्णिम सम्झना यस वर्ष गाउँ नै सुनसान

तिहार अर्थात् यमपञ्चक, नेपाली समुदायले बडादशैँ पछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने एक विशेष चाड हो। सामान्यतया पाँच दिनसम्म मनाइने यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गरिन्छ र अन्तिम दिन भाइटीका अर्थात् दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर असीम प्रेम साट्ने गर्छन्।

झिलिमिली बत्ती, मखमली र सयपत्रीको सुगन्ध, देउसी–भैलोको मीठो धुनले यो पर्व नेपाली समाजको एक महत्वपूर्ण हिस्सा हो। तिहारसँगै देउसी–भैलो खेल्ने चलन छ लक्ष्मीपूजाको दिन भैलो र गोवर्धन पूजारभाइटीकाको दिन देउसी खेल्ने प्रचलन रहँदै आएको छ।

विगतको उल्लास र मौलिक रौनक विगत भनौँ या करिब ६–७ वर्षअघिसम्म गाउँघरमा तिहार आउनुअगावै छुट्टै रमझम छाउँथ्यो। तिहारको माहोल दशैँ सकिएलगत्तै सुरु भइहाल्थ्यो। दिदीबहिनीहरू भाइटीकाको तयारीमा जुट्थे भने गाउँका टोलैपिच्छे देउसी–भैलो खेल्ने समूहहरूको चहलपहल बढ्थ्यो। सेलरोटी पाक्ने बास्ना, घर लिपपोत गर्ने चटारो र फूलमाला गाँस्ने होडबाजीले गाउँका गल्लीहरू गुञ्जयमान हुन्थे।

देउसी–भैलोमा टोलहरूबीच कसले बढी दक्षिणा बनाउने भनेर प्रतिस्पर्धा नै चल्ने गर्थ्यो। मौलिक लोकगीतहरूमा ‘सिमल बारुलै’ गीतमा मनैदेखि नाच्दै, ‘भन भन भाइ हो देउसिरे, राम्ररि भन देउसिरे’ भन्दै भट्याउँथे।

‘ए रातो माटो चिप्लो बाटो’ लड्डैर पर्डै हामी त्यसै आयनौ बलिराजाले पठाय भन्दै भट्याउँदै अरुण उपत्यका को देउसी गीतमा गाउँका दाजु, दिदी, साथीभाइ मिलेर देउसी खेल्दै हिँड्दाको रमाइलो अविस्मरणीय हुन्थ्यो। दक्षिणामा पाएको चामल बोक्ने पालो कसको भनेर झगडा पर्थ्यो, र प्रायः जो अलिक सोझो छ, उसलाई चामल बोक्ने जिम्मेवारी पर्थ्यो। दक्षिणा बाँड्दा भट्याउनेलाई केही बढी दिएर अरूले बराबरी बाँड्ने प्रचलनले त्यो बेलाको उत्साह र रौनक बेग्लै थियो।

वर्तमानको सन्नाटा र संस्कृतिमा ह्रास

तर, अहिले ती सबै क्षणहरू केवल ‘सम्झनामा मात्र सीमित हुन थालेका छन्। अहिले धेरै गाउँको तस्वीर फेरिएको छ। तिहारको झिलिमिली र उल्लास शहरकेन्द्रित भएको छ भने ग्रामीण भेगहरू शून्यप्रायः छन्। विगतमा घरका दलिनमा फूलमालाको चाङ लाग्थ्यो यसपालि त फूल टिप्ने मान्छे नै कम छन्’ भन्ने गुनासो गाउँका पाका व्यक्तिहरूका मुखबाट सुन्न पाइन्छ।

गाउँ सुनसान हुनुको मुख्य कारण रोजगारी, शिक्षा र स्वास्थ्यका लागि भएको बसाइँसराइ हो। अधिकांश युवापुस्ता अध्ययन, रोजगारी वा अन्य कामका सिलसिलामा सहर तथा विदेशतिर पलायन भएका छन्। तिहारमा हुनुपर्ने चहलपहल अब सुनसान हुँदै गएको छ। गाउँमा न त देउसिरे भट्याउनेहरू छन्, न ती भैलेनी गाउने ६–७ वर्षअघिका अनुहारहरू नै छन्। चाडपर्व मनाउन भनेर मुस्किलले आएका ३–४ जनाभन्दा बढी युवापुस्ताका अनुहार भेट्न सकिँदैन।

पहिले जसरी देउसी–भैलो खेल्ने र रमाउने रहर अब उनीहरूमा पनि छैन। गाउँमा प्रायः वृद्ध उमेरका बुढाबुढी र विद्यालय जाने उमेरका बालबालिका मात्र रहेका छन्। जसले अहिले देउसी भैलो खेल्ने प्रयास गर्छन्, तिनीहरू पनि साउन्डबक्समा अनेक थरीका गीत बजाएर नाच्ने किसिमले मात्र गर्छन्, आफैँ भट्याउन जान्दैन्न।

पर्वको मर्म र चुनौती

यस वर्षको सुनसान गाउँले स्पष्ट रूपमा देखाउँछ कि युवा पुस्ताको बसाइँसराइको चपेटामा परेर हाम्रो मौलिक संस्कृति र चाडपर्वको वास्तविक मर्म आफैँ हराउँदै जाँदै छ। गाउँले जनशक्तिको अभावमा तिहारको मौलिकता र रौनकतामा ह्रास आउनु एक गम्भीर सामाजिक चुनौती हो।

यदि यस्तै क्रम जारी रहे, भोलिका दिनमा हाम्रा पर्व र संस्कृतिहरूलाई जगेर्ना गर्ने को रहलारु सम्बन्धहरूलाई जोड्ने र समुदायलाई एकताबद्ध गर्ने हाम्रो महान् चाड तिहारले फेरि गाउँघरमा आफ्नो पुरानो रमझम फर्काउन सकोस्। तिहारको बत्तीले सहरलाई मात्र होइन, गाउँका हरेक घरलाई उज्यालो बनाओस्, जहाँबाटै हाम्रो संस्कृतिले जीवन पाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *