पार्टी एकताको नाममा ‘माओवादी आत्मा’ नमारौं

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा २०५२ सालदेखि २०६२–६३ सम्म चलेको १० वर्षे जनयुद्ध केवल सशस्त्र द्वन्द्व मात्र थिएन; त्यो नेपाली समाजको रूपान्तरणको अभियान थियो ।

सामन्ती व्यवस्थाको अन्त्य, जनताको अधिकार सुनिश्चितता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्र जस्ता उपलब्धि त्यसै जनयुद्धको जगबाट आएका हुन् । यी उपलब्धि आजको नयाँ नेपालका मूल आधारस्तम्भ हुन् । त्यसैले जनयुद्धको विचारधारात्मक, ऐतिहासिक र संगठनात्मक धरोहरको प्रतीकस्वरूप रहेको ‘माओवादी’ शब्द र ‘हसिया–हतौडा’ चिन्ह केवल एउटा नाम र प्रतीक होइन, त्यो क्रान्तिको आत्मा हो, जनताको रगत, पसिना र बलिदानको सम्झना हो ।

आज जब नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहबीच पार्टी एकताको तयारी भइरहेको छ, यो केवल राजनीतिक समीकरणको विषय होइन । यो विचार, सिद्धान्त र आन्दोलनको निरन्तरता र पहिचानको सवाल हो । जनयुद्धको नाममा लडेका, मरेका र बलिदान भएका हजारौं शहीदका सपना र आकांक्षाको सम्मान गर्ने हो भने, माओवादी शब्द मेटाएर वा हसिया–हतौडा चिन्ह हटाएर नयाँ पार्टी बनाउने प्रयास जनयुद्धकै आत्मालाई धोका दिने बराबर हुनेछ ।

‘माओवादी’ शब्द कुनै सामान्य राजनीतिक परिचय होइन । यो शब्दले नेपालको जनयुद्धको मूल वैचारिक दिशा प्रतिनिधित्व गर्छ, वर्ग संघर्ष, सामाजिक न्याय, शोषणविरुद्धको लडाइँ र जनसत्ताको स्थापना । यो शब्दले तत्कालीन राज्यसत्तासँगको विद्रोह मात्र होइन, जनताको आत्मसम्मान र समानताको लडाइँको भावना बोकेको छ ।

यदि एकता प्रक्रियामा ‘माओवादी’ शब्दलाई हटाइयो भने, त्यो केवल एउटा शब्द मात्रै हट्दैन, त्यो १० वर्षे जनयुद्धको सम्पूर्ण ऐतिहासिक योगदानलाई फ्याँक्ने काम हुनेछ । जनयुद्धले निर्माण गरेको जनचेतना, जनसंगठन र वैचारिक स्पष्टता बिस्तारै कमजोर पार्ने खतरा बढ्नेछ ।

‘माओवादी’ शब्द राख्नु भनेको क्रान्तिको निरन्तरता कायम राख्नु हो । आज पनि समाजमा वर्गीय असमानता, आर्थिक विषमता, सामाजिक अन्याय र राजनीतिक भ्रष्टाचार विद्यमान छन् । यी समस्या समाधान गर्न माओवादी विचारधाराको आवश्यकता अझै यथावत् छ । त्यसैले एकता पार्टीले चाहे जुनसुकै नयाँ स्वरूप लियोस्, मूल वैचारिक धरोहर ‘माओवादी’ शब्द मेटिनु हुँदैन ।

पार्टीको चिन्ह ‘हसिया–हतौडा’ केवल एउटा लोगो होइन, त्यो माओवादी आन्दोलनको आत्मा हो । हसिया किसानको प्रतीक हो, जसले माटोमा पसिना बगाएर देशलाई अन्न दिन्छ । हतौडा मजदुरको प्रतीक हो, जसले आफ्नो श्रमबाट देशको विकासको जग बसाल्छ । यी दुई उपकरण जनताको श्रम, उत्पादन र विद्रोहको संयुक्त प्रतीक हुन् । यही चिन्हले दुनियाँभरका श्रमिक वर्गलाई एकताबद्ध पारेको छ ।

यदि यही चिन्ह मेटाएर नयाँ चिन्ह खोज्ने प्रयास गरियो भने, त्यो जनताको मेहनत र वर्गीय पहिचानको मेटिने छ । राजनीतिक एकता केवल नेताबीचको सहमति होइन, जनताका भावना र विश्वासमाथि टेकेको हुन्छ । जनताको मनमा माओवादी पार्टी भनेको हसिया–हतौडा चिन्ह नै हो । यही चिन्हले हजारौं शहीदलाई प्रेरणा दिएको थियो, यही चिन्हले गाउँ–गाउँमा जनसत्ता स्थापना गरेको थियो, यही चिन्हले जनतालाई परिवर्तनको सपना देखाएको थियो ।

आज वामपन्थी पार्टीबीच एकताको चर्चा हुनु सकारात्मक कुरा हो । विगतमा विभाजन र आपसी अविश्वासका कारण वाम आन्दोलन कमजोर हुँदै गएको सत्य हो । तर, एकता नामको लोभमा विचार, पहिचान र जनभावनालाई बलि चढाउनु गलत हुनेछ । एकता विचारधारात्मक स्पष्टतामाथि हुनुपर्छ, जनताको पक्षमा, क्रान्तिको निरन्तरताका लागि र नयाँ समाज निर्माणका लागि । तर, यदि एकताले ‘माओवादी’ शब्द हटाएर, हसिया–हतौडा चिन्ह विस्थापित गरेर मात्रै सम्भव हुन्छ भने, त्यो एकता वास्तविक क्रान्तिकारी एकता हुँदैन; त्यो केवल पद र सत्ता बाँडफाँडको सम्झौता हुनेछ ।

१० वर्षे जनयुद्धमा झण्डै १७ हजार नेपालीले बलिदानी गरे । हजारौं नेपाली अंगभंग भए, लाखौं विस्थापित भए । ती सबै बलिदान केवल राजनीतिक परिवर्तनका लागि थिएनन्, त्यो नयाँ, न्यायपूर्ण र समानतामूलक समाजको निर्माणका लागि थियो । अब त्यही पार्टीले आफ्नो नामबाट ‘माओवादी’ शब्द हटायो भने ती शहीदको सपना मेटिनेछ । जनयुद्धको इतिहासलाई केवल किताबका पानामा सीमित पार्न खोज्नु क्रान्तिको अपमान हो । अहिलेको पुस्ताले यो जिम्मेवारी लिँदै माओवादी पहिचानको रक्षा गर्नुपर्छ ।

माओवादी आन्दोलन नेपालमा केवल राजनीतिक धारा होइन, त्यो देश रूपान्तरणको जनआन्दोलन हो । यसको पहिचान ‘माओवादी’ शब्द र ‘हसिया–हतौडा’ चिन्ह । यी दुवै तत्वले नेपालको राजनीतिक रूपान्तरणको सम्पूर्ण इतिहासलाई बोकेको छ । पार्टी एकता सकारात्मक दिशामा अघि बढोस्, तर त्यसले इतिहास मेटाउने होइन, इतिहासको सम्मान गर्ने कार्य गरोस् । माओवादी शब्द हटाएर र हसिया–हतौडा चिन्ह विस्थापित गरेर बनाइने नयाँ पार्टी केवल ‘नयाँ’ देखिएला, तर त्यो आत्माविहीन शरीर जस्तै हुनेछ ।

त्यसैले, पार्टी एकताको प्रक्रियामा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै नेता, कार्यकर्ता र शुभेच्छुलाई आग्रह छ, जनयुद्धको गौरव, शहीदको सम्मान र क्रान्तिको निरन्तरताको प्रतीकस्वरूप ‘माओवादी’ शब्द र ‘हसिया–हतौडा’ चिन्ह कुनै हालतमा पनि मेटिनु हुँदैन । यही नै सच्चा माओवादीको पहिचान हो, यही नै क्रान्तिको आत्मा हो र यही बाटोले मात्र वाम आन्दोलनको भविष्य उज्यालो बनाउन सक्छ ।

(केशव भुल माओवादी केन्द्रनिकट प्रेस सेन्टरका केन्द्रीय सचिव हुन्)

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *