
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको कारण देखाउँदै हायात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द गरिएको छ । मर्मतपछि खोल्ने नखोल्नेबारे होटल व्यवस्थापनले केही बताएको छैन,सरकारले पनि यसप्रति चासो भने दिएको छ ।
होटलका मानव संशाधन निर्देशक मोहम्द यूसुफ यानीले एक सूचना निकालेर मर्मत तथा पुनःर्निर्माणको जोखिम र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल बन्द गरिएको उल्लेख गरेका छन् ।

होटलका क्रियाशील ट्रेड युनियनसँग छलफल भई श्रमिकहरूलाई अर्को सूचना प्रेषित नहुँदासम्म होटल परिसरमा नआउन भनिएको सूचनामा उल्लेख छ । तर होटलमा क्रियाशील ट्रेड युनियनका नेताहरुले भने वार्ता जारी रहेका बेला व्यवस्थापन पक्षले एकतर्फीरुपमा बन्दको सूचना जारी गरेकोमा आश्चर्य जनाएका छन् ।
हायातमा वर्षौंदेखि कार्यरत् श्रमिक र ट्रेड युनियन नेताहरूले एक्कासी होटल बन्द गरेर आफूहरूमाथि अन्याय गरेको बताएका छन् । लामो समयदेखि आफ्ना सेवा सुविधालाई लिएर व्यवस्थापनसँग असमझदारी कायमै रहेको अवस्था, साथै अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थामा यो निर्णय लिइएको उनीहरूको दाबी छ ।
यस विषयमा केही श्रमिक तथा तीनका नेता नेपाल प्रेसको सम्पर्कमा आएका छन् । तर, सूचना बाहिर लगेको निहुँमा आफूहरूलाई बर्खास्त गर्न सक्ने कर्मचारी नियमावलीका कारण जोखिम नमोल्ने भन्दै उनीहरूले आफ्नो नाम गोप्य राखिदिन आग्रह गरेका छन् ।
हायातले विज्ञप्तिमा उल्लेख गरेजस्तो होटल बन्द गर्न र श्रमिकलाई काममा रोक लगाउनेबारे आफूहरूले सहमति नगरेको उनीहरूको भनाइ छ ।
एक श्रमिक नेताले भने– ’व्यवस्थापन, श्रमिकका संगठन र बौद्धका डीएसपीसमेतको रोहबरमा वार्ता भएको थियो । हामीले होटल बन्द र कर्मचारीलाई घर पठाउने कुराको विरोध गर्यौं । निरन्तर दबाबपछि कात्तिक २ गते नै बेलुका अर्को सूचना निकालियो ।’
दोस्रो सूचनामा भनिएको छ, ’आज मिति २०८२ साल कातिक २ गते प्रतिष्ठान र प्रतिष्ठानका क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरू बीच श्रमिकहरूले उठाएका विषयवस्तु उपर वार्ता भएकोमा यसै विषयमा केन्द्रित रही दुवै पक्षबीचको यस बैठकलाई तिहारपश्चात् निरन्तरता दिइने सम्पूर्णमा जानकारी गराइन्छ ।’

तर, त्यसपछि श्रमिकलाई प्रवेश निषेध गरिएको साथै भान्सा र स्टाफले प्रयोग गर्ने ट्वाइलेटमा समेत ताला लगाइएको बताइएको छ । हिजो पनि श्रमिकहरू बाहिरै धर्ना बसेर फर्किएका छन् ।
हायातमा होटल र क्यासिनोमा समेत गरी स्थायी र करारका ८/९ सय कर्मचारी रहेको बताइन्छ । यसअघि देखि नै होटल रेनोभेट गर्ने योजना थियो । करिब २६ वर्ष पुरानो यो होटललाई नयाँ र आधुनिक रूप दिन लक्जरी सामान राख्ने तयारीसाथ रेनोभेट गर्ने व्यवस्थापनले बताउँदै आएको थियो ।
२८० वटा कोठा रहेको हायातलाई १४० वटा कोठालाई २ चरणमा पुनर्निर्निर्माण गर्ने साथै होटल बन्द नगरी ५० प्रतिशत बुकिङ लिएर सुचारु गरिने भनिएको थियो ।
भदौ २४ गते राति १०–११ बजेतिर होटलको लबि र केही भाग जलेको बताइएको छ । सय जनाजतिको संख्यामा छिरेका आन्दोलनकारी भनिनेहरुले आक्रमण गर्दा भाग्ने क्रममा लडेकी एक भारतीय पर्यटक महिलाको निधन भएको थियो ।
‘भाटभटेनीको त्यत्रो शाखाहरू जल्दा पनि त्यहाँका कर्मचारीहरूलाई निकालिएन । तर, यहाँ आन्दोलनको डेढ महिना पुगेपछि निहुँमात्र बनाइएको हाम्रो शंका छ । कति समय चाहिने हो मर्मतमा हामी पनि सहयोग गर्न तयार छौं । तर, सयौंको रोजगारी नै गुम्नेगरी यो निर्णय हुनुहुन्न’, एक श्रमिक भन्छन् ।

होटलको जग्गा र सम्पत्तिको सरकारी स्वामित्व निकाय तारागाउँ विकास समितका रानि बाङसँग यस विषयमा प्रतिक्रिया लिने प्रयास गर्दा उनको फोन नउठेको र मेसेजको रेस्पोन्स नभएकाले सफल हुन सकेन ।
होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले पनि चासो राखेकी छन् । अर्थमन्त्री रामेश्वर खनालले सुरक्षाको पूर्ण प्रत्याभूतिका लागि सरकार तयार रहेको भन्दै कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका थिए ।

Leave a Reply