
रुपन्देही । ०४६ सालको जनआन्दोलन र विशेषगरी मदन–आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा निधनपछि एमालेजनलाई जुरुक्क उठाउने गीत गाएर चर्चामा आएका जनगायक रमेश अर्याल सँधैका लागि अस्ताएका छन् ।
त्यो समयमा ‘म मरे पनि नरोए पियारी, अघि बढे हिम्मत गरेर’, ‘सेतो पहिरन पहिरेता पनि अघि बढे लाल सलाम ठोकेर’, ‘लाल सिन्दुर सिउँदैमा, कम्युनिस्ट सरकार बनाउ है यही आउँदो हिउँदमा’ लगायतका गीतहरू गाएर जनवादी गायकको छवि बनाएका रमेश अर्यालको निधनसँगै यी गीतहरु इतिहास बनेका छन् ।
आफ्ना क्रान्तिकारी गीतमार्फत राष्ट्रिय पहिचान बनाएका जनवादी गायक अर्यालको ८४ वर्षको उमेरमा कपिलवस्तुको वाणगंगा नगरपालिका–१ मन्द्रेली टोलमा गएराति निधन भएको हो । अर्यालको आज नै बाणगंगास्थित लक्ष्मणघाटमा अन्त्येष्टि गरिएको छ ।
एमाले महासचिव मदन भण्डारी र जीवराज आश्रित रहस्यमय मृत्युपछि अर्यालको रचना, संगीत र स्वरमा तयार भएका गीतहरू देशभर गुञ्जिन थालेपछि उनको चर्चा चुलिएको थियो । त्यो समयमा उनले आँफै मेहनत गरेर ‘म मरे पनि नरोए पियारी, अघि बढे हिम्मत गरेर’, ‘सेतो पहिरन पहिरेता पनि अघि बढे लाल सलाम ठोकेर’, र ‘कम्युनिस्ट सरकार बनाउ है यही आउँदो हिउँदमा’ जस्ता गीतहरू गाएपछि देशभर चर्चा बटुलेका थिए ।
एमालेका लागि यी गीत चुनावी मसला बनेका थिए । तत्कालीन राजनीतिक परिवेशमा जनचेतना जगाएका यी गीतका भावहरु मदन भण्डारीको रहस्यमय मृत्युपछिका कालखण्डमा चर्चामा पुगेका हुन् । एमालेका अधिकांश कार्यक्रममा उनलाई यी गीतका लागि निम्त्याइने गरिन्थ्यो । उनका गीत बच्चादेखि वृद्धसम्मकाले रूचाउँथे ।
अर्यालले २०५१ सालको मंसिरमा मध्द्यावधि चुनावमा आफैँले रचना गरेर गाएका यी गीतले बढी चर्चा मात्रै बटुलेन एमालेको पक्षमा जनलहर ल्याउन साथ दिएको उनका सहकर्मीहरुको स्मरण छ । उनले यस्ता थुप्रै प्रगतिशील गीत रचना गर्दै आँफै गाउँदै हिँडेका थिए । एमाले नेता टेकराज पौडेलका अनुसार अर्याल १६ वर्षको उमेरमा भारतको मेघालयमा कामको लागि पुगेपनि ३५ वर्षको उमेरमा नेपाल फर्केका थिए ।
सुरुमा कपिलवस्तुको बनकसबासामा बाख्रापालन गरेर बसेका अर्याल २०४५ सालमा गोरुसिङ्गेमा बसाई सरेर आइसके पछि उनको टहरामा आगो लागेको थियो । सानैदेखि गीत गाउने अर्याल पछिल्लो समय प्रगतिशील गीत गाउन थालेका थिए । असममा भारतीय कम्युनिस्ट पार्टीहरुको गतिविधि देखेसँगै प्रगतिशील राजनैतिक पार्टी र व्यवस्थाप्रति रुचि बढेको यसअघि बताउँदै आएका थिए ।
पारिवारिक पृष्ठभूमि काङ्ग्रेस रहे पनि अर्याल भारतबाट फर्केर नेकपा एमालेको सम्पर्कमा आएको उनका निकटस्थहरु बताउँछन् । उनी २०५१ सालमा कपिलवस्तु जिल्लामा बनाइएको जनसास्कृतिक मन्चको चुनाव केन्द्रित जनजागरण टीममा धर्म भुसाल, भवानीशंकर पौडेल , टेकराज पौडेल, निर्मला अधिकारी, सोम थापा (सालझण्डी)लगायतको टीमसँग अभियानमा हिंडेको टीमका सदस्यहरुको स्मरण छ ।
२०५४ सालबाट उनी राष्ट्रिय जनसाँस्तिक मन्चको केन्द्रीय समितिमा जेबी टुहुरे अध्यक्ष हुँदा सहभागी हुँदै एमालेको जनवर्गीय सङ्गठन राजसामन्चको रास्ट्रिय समितिमा रहेर काम गरेका थिए । २०६५ सालसम्म जनसाँस्कृतिक मन्चको केन्द्रीय साँस्कृतिक टीममा निरन्तर कारेका उनी त्यसपछि बढ्दो उमेरसँगै घर व्यवहारमा फर्किएका थिए । अर्यालको पार्थिव शरीरमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले झण्डा ओढाएर सम्मान गरेका थिए ।
उनलाई नजिकबाट चिन्ने पूर्वशिक्षा अधिकारी डबल बिसीले रमेश अर्यालका जोशिला क्रान्तिकारी गीत सुन्नैका लागि पनि जनसमुदायले सभा नछाड्थिने स्मरण गर्दछन् । ‘उहाँले गीत गाउने सूचना पाएपछि सभामा पुगेका सबै बस्ने गर्दछे, चेतनामूलक गीतबाट समाज रुपान्तरणमा उहाँले ठूलो योगदान गर्नुभएको छ । उहाँको जीवन सार्थक छ ।’ उनले भनेका छन् ।
युवा अवस्था भारतमै रोजगारीको सिलसिलामा बिताएपछि जनआन्दोलन ०४६/४७ पछिको संक्रमणकालमा उनका गीतहरूले गाउँ–सहरमा उत्साह, एकता र परिवर्तनको भाव फैलाएका थिए । त्यसपछिका वर्षमा २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार बनेपछि अर्यालका गीतहरू राष्ट्रिय गीतझैँ गुञ्जिन थालेपछि उनी धेरैसामु परिचित भएका थिए।
रमेश अर्याल सधैं गिटार बोकेर देशभरका सभा समारोहमा जनसांस्कृतिक अभियानका अगुवाको रूपमा सहभागी हुन्थे। उनले मेचीदेखि महाकालीसम्मका कार्यक्रमहरूमा सहभागिता जनाउँदै जागरण अभियान सञ्चालन गरेका थिए ।
लामो समयसम्म नेकपा एमालेको सांस्कृतिक फाँटको जिम्मेवारी सम्हाल्दै राष्ट्रिय जनसांस्कृतिक मञ्चका जिल्ला अध्यक्ष हुँदै केन्द्रीय टिममा समेत रहेर काम गरेका उनका गीतहरूले सामाजिक, सांस्कृतिक र राजनीतिक रुपान्तरणमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ ।
पछिल्ला वर्षमा उनी जेष्ठ नागरिक संस्थामा आवद्ध भई सामाजिक गतिविधिमा संलग्न रहे तर स्वास्थ्य समस्या बढेपछि केही समयदेखि घरमै आराम गरिरहेका थिए । आज कपिलवस्तुको लक्ष्मणघाटमा आयोजित अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बलराम अधिकारी, जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपाने, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, नगरप्रमुख चक्रपाणी अर्याललगायतले उनको योगदानको स्मरण गरे ।
पूर्वमन्त्री बलराम अधिकारीले भने ‘पुराना जनवादी गाएक रमेश अर्यालजस्ता सांस्कृतिक योद्धाको योगदानले नै आजको लोकतान्त्रिक अवस्था सम्भव भएको हो । उहाँले गीत संगित मार्फत जनताको भावना र चेतना जगाउनुभएको योगदान अतुलनीय छ ।’
उनको जीवन यात्रा र सांस्कृतिक योगदानबारे विस्तृत जानकारी प्रस्तुत गर्दै धर्मराज भुसालले भने “अर्यालले संगीतलाई जनजागरणको माध्यम बनाएर परिवर्तनका बीउ रोप्नुभएको थियो ।’ जनवादी गायक र सांस्कृतिक अभियन्ताका रूपमा रमेश अर्यालले संगीतमार्फत देशको राजनीतिक र सामाजिक रूपान्तरणमा गहिरो छाप छोडेको स्मरण गर्दै नेपाली जनसांस्कृतिक आन्दोलनले एउटा ऐतिहासिक स्तम्भ गुमाएको राष्टिय जनसाँस्कृतिक महासंघ कपिलवस्तुका पूर्वअध्यक्ष पूर्णचन्द्र परियारले जनाए।
विश्लेषक घनश्याम कोइरालाको स्मरणमा अर्यालले प्रवाससँगै स्वदेशमा गीतमार्फत ठूलो योगदान गरेको स्मरण गरेका छन् । ‘एमालेले माइली जितेरै छोड्ने भो यही लाग्छ रमाइलो । २०५१ को निर्वाचनमा गीतले तहल्का मच्चाएको थियोे । त्यसअघि दासढुङ्गा घटनामा मदन आश्रितका विषयमा पचास साल जेठ ३ गते साँझ, चिर्को पर्यो दासढुङ्गाको माझ, जनताको आँखाका नानीमा चम्केका जुनतारा, कुन बैरीले झार्यो पानीमा । गीतको सिर्जना पनि उहाँले नै गर्नुभएको थियोे । २०५२ सालमा हामीले उहाँ र प्रचण्डबहादुर बुढाथोकीलाई हामीले भारतमा बोलाएर अभिनन्दन गरेका थियौँ ।’ उनले भनेका छन् ।
एमाले नेता विष्णु रिजालले आफूले अर्याललाई पहिलो पटक ०५१ फागुनमा दुल्लू पटांगिनीमा मेची–महाकाली सांस्कृतिक अभियानका क्रममा देखेको स्मरण गर्दै जनताले बुझ्ने भाषामा सरल गीत गाउने स्रस्टाको रुपमा चिनेको बताउँछन् ।

Leave a Reply