
काठमाडौं । बैङ्क केवल मुद्रा राख्ने थलो मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हो । नेपालमा बैङ्क खुलेको ८८ वर्ष पुगेको छ । राणाकालीन शासनदेखि वर्तमान समय सम्मका नेपालको बैंकिङ अभ्यास र इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ ।
मोरङ पथरी शनिश्चरे–१ निवासी खोजकर्ता लेखक दिपेन्द्रराज तिम्सिनाले लेखेको यस पुस्तकमा नेपालको मुद्रा निष्कासन को इतिहास, राणकालदेखि वर्तमान सम्मको बैङ्किङ अभिलेख समेटिएको छ । ‘नेपालको बैङ्किङ इतिहास’ नामक पुस्तक बजारमा आइसकेको उनले बताए ।
यो पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरुको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसमेत १८ जना गभर्नरको फोटो सहितको जीवनी, द्वन्द्वकलामा बैङ्कमा भएको आक्रमण, नेपाली बैङ्क मर्जरको इतिहास, राणाकालमा बेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैङ्क भित्र्याउने डा. प्रकाश चन्द्र लोहनी सहितको इतिहास मिहिन गरी खोजेर राखिएको छ ।
नेपाली बैङ्कले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागिता, विपतमा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, कानुनहरू, खारेज भएका बैङ्कहरु, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकाल देखिका मुद्रा खोज गरी पुस्तकमा समेटिएको छ ।
कुन कुन बैङ्क कहिले स्थापना भए भन्नेदेखि समस्या ग्रस्त बैङ्कहरू, भोजपुरको टक्सारको इतिहास , पूर्वमा खुलेका बैङ्कहरु, डेपुटी तथा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिना, बैङ्किङ अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु लगायतका विभिन्न ५१ बटा विषयमा समेटेर लेखिएको २७२ पेजको पुस्तकमा नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैङ्कमा भएको क्षतिको विषय समेत समेटिएको छ ।
झापा दमकको स्रष्टा छापाखानाबाट प्रकाशित लिला निरौला प्रकाशक रहेको यो तिम्सिनाको १४ औं पुस्तक हो । लेखक तिम्सिनाले विगत एक दशकदेखि निरन्तर खोजमुलक पुस्तक लेखन गर्दै आएका छन् । नेपाली बैङ्किङ इतिहास बुझ्न यो पुस्तक सहयोगी बन्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन् ।
तिम्सिनाका प्रकाशित कृतिहरु टेलिफोन डायरी (२०६८) मोरङको सामुदायिक वन एक चिनारी (२०६९) मोरङको क्षेत्र नं २ एक चिनारी (२०७०) पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण (२०७८) धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म (२०७८) इतिहासमा पथरी शनिश्चरे (२०७८) मोरङका जनप्रतिनिधि संङगालो (२०७९) ‘माइखोलादेखि पुनर्वाससम्म’ (२०८०) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८०) गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण (२०८१) गुमनाम एक इतिहास बिसे नगर्ची दोस्रो संस्करण (२०८१) रहेका छन् । पृथ्वीनारायण शाहको सल्लाहकार विसे नगर्चीको इतिहास गोरखा सम्म नै पुगेर गहन खोज गरी लेखिएको थियो भने नेपाली भाषी भुटानी शरणार्थीको कथा व्यथा समेटिएको कृति माईखोलादेखि पुनर्वाससम्म, तराईका आदिवासी ‘धिमाल जातिको इतिहासझझ र इतिहासमा पथरी शनिश्चरेझझ’ जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्मझ तिम्सिनाको चर्चित पुस्तकहरू हुन् ।

Leave a Reply