
दाइ ! तँ जहाँ छस्, खुशी रहनु, सुखी रहनु । यो लोकमा हुँदासम्म जसरी कसैको केही बिगारिनस्, त्यो लोकमा पनि त्यस्तै हुनु है । तँलाई श्रद्धाञ्जली त म आज पनि भन्नै सक्दिनँ । धनगढीको मोहना नदी किनारमा तेरो भौतिक शरीरलाई धुवाँले आकाश तर्फ लैजाँदै गर्दा बासको छहारीमा बसेर आँसु बगाइरहेँ तर पनि तँलाई श्रद्धाञ्जली भन्नै नसकेको कुरा तेरो आत्माले थाहा पायो होला नि है । आज पनि यत्ति भन्छु, तँ जहाँ छस्, यहाँ जस्तै मस्तीले जिउनु । आफ्नै रवाफमा जिउनु र कसैको दबाबमा जिउँदै नजिउनु। यो भाइटीकामा तेरो बैनीको तर्फबाट आशीर्वाद यत्ति नै ।
दाइ, आज भाइटीका । अस्तिदेखी नै हो रातभर निदाउन नसकेको म । मोबाइलको क्लालेन्डरमा जतिजति तिहारको तिथि नजिकियो, त्यति नै पर मेरो चयन पुग्यो र तेरा यादहरु खहरे बनेर आए । मेरो मोबाइलको गुगलमा सुरक्षित तेरा हँसिला तस्वीरहरु नियाल्छु, तैले बोल्छस् कि जस्तो भान हुन्छ । लोग्शरी भन्छस् कि जस्तो महसुस हुन्छ । मन कताकता पुग्छ, मुटु धड्किन थाल्छ, आँखा रसाउन थाल्छन् । मन त्यसै भक्कानिन्छ दाइ । रोएर केही हुन्न, जानेहरु त गैसके, तैँले आफूलाई रुवाएर किन पीडा दिन्छेस् भन्छ दिमागले त । तर सम्हाल्दा सम्हाल्दै पनि घरीघरी आफैलाई सम्हाल्नै सक्दिनँ दाइ। अनि बेलगाम छोडिदिन्छु यो मनलाई । दायाँबायाँ हेर्छु र बेलाबेला भक्कानो छोड्छु एकान्तमा ।
दाइ, तलाई थाहा छ, आजसम्म पनि तेरो फोनको अर्थहीन पर्खाइमा थिएँ म । दशैँ सक्किए लगत्तै सुरु भएको तिहारले यसपालि यती धेरै रुवाउछ भन्ने त कल्पनै गरेको रहिनछु । तैँले छोडेर गएपछी याद नआएको पनि कुनै दिन, घन्टा, मिनेट थियो होला र ? तर एउटा पर्वले यति बिघ्न गलाउछ, रुवाउछ भन्ने त सोचेकै पो रहिनछु मैले । तिहार सुरु भएर आज भाइटीकाको दिन लाग्दा समेत तेरो नम्बरबाट फोन नआउँदा साँच्चै नै मन दुखेको छ मेरो, पहिलोपटक । भाइटीकाको महिनौं दिन अघिबाट बेलुकपख कल गरेर ‘तिहारमा आइजा न भाउ (बैनी) । बरु छिट्टै गैहाल्नु । तँ भैनस् भने कस्तो कस्तो लाग्छ’ भन्दै अनुनय बिनय गर्ने तेरो नम्बरबाट फोन नआउँदा मेरो कोही छैन कि १ भन्ने महसुस भाछ दाइ । प्लिज दाइ, एकपटक फेरि सम्झा न मलाई । ‘भाउ आ है जसरी पनि’ भन न एकपटक ल । आठ महिनादेखि तेरो आवाज सुन्न नपाउदा तड्पिएको छु म । सानातिना दुस्ख पनि पहाड जस्तै लाग्छन् अचेल । एक्लो एक्लो, रित्तो रित्तो छु । बेचैनीले तहसनहस बनाएको छ दाइ ।
यो तिहार त आँसु लिएर आयो दाइ । तीन वर्षको दौरानमा आमाबुबा दुबै जना गुमाएका हाम्ले तेरो प्रस्थानसङ्गै गुमाउन बाकी त केही रहेन । बुबाआमा हुँदासम्म दशैँको टीकाको दिन टीका थाप्ने आफन्तले पालो कुरेर बस्न पर्थ्यो । चाड पर्वमा बुबाका आफन्त र नातेदारको ओहोरदोहोरले घरमा मेला लागे जस्तो हुन्थ्यो । टोलमा सबैभन्दा बढी मान्छे आउनेजाने घर हाम्रै हुन्थ्यो । बुबाआमासङ्गै गुमेको घरको ज्योति तँ गएपछि त झन् पूरै अन्धकार मात्रै भएको छ दाइ । तीन सन्तान पाइसकेपछी पनि बुबाआमाको काख छोडेर दुई दिन छिमेकमा समेत बस्न नसकेको तँलाई सायद आफैसङ्ग राख्न होला, बुबाआमाले लिएरै जानुभयो । तँ त बुबाआमासङ्ग रमाइरहेको होल्लास् । लडाइँ, झगडा, जिद्दी के के गरेर हो आमालाई सताएर, फकाएरै आफ्नो रक्सी खाने चाहना पूरा गर्दो होलास् । तर हाम्रो लागि तिमीहरूको अभाव कति पीडादायी छ शब्दमा बर्णन गर्न सक्दिनँ ।
एक दशक अघि एकजनाले मेरो चरित्रमा प्रश्न गर्दा नाङ्गो खुकुरी लिएर काट्छु भन्दै गएको थिइस् नि त, याद छ नि है । कुनै पीडामा म रुँदै गर्दा छेउमा बसेर ‘गरीब छु तर तेरो लागि म छु । बिनाकारण तँलाई कसैले केही भन्यो भने म सहन सक्दिनँ । त्यसको घाँटी देखाइदिनु, चटक्क पारेर जेल जान्छु’ भन्दै ढाडस दिँदा जीवनको आधा दुस्ख त्यसै त्यसै कम भएको महसुस गरेको थिएँ दाइ मैले । व्यक्तिगत र व्यवसायिक जीवनमा झेलेका कठिनाइमा तँबाट प्रत्यक्ष सहयोग धेरै भएन तर मानसिक रुपले तँ हुँदा म कति बलियो थिएँ, त्यो त दैबलाई थाहा छ ।
मलाई याद छ, २५र२६ वर्षको अवधिमा तैले रक्सी धेरै नै खाइस् । तर मलाई याद छैन, बुबाको महाप्रस्थानसङ्गै तैले रक्सीमै आफूलाई कतिसम्म डुबाइस्, र आमाले छोडेपछि कतिसम्म सक्काइस् भन्ने कुरा । तँ अति इमानदार थिइस् । अलि मूर्ख थिइस् । तर यतिसम्म कम्जोर थिइस्, मैले सोचेकै थिइनँ । हुनत तँ असाध्यै डरपोक थिइस्, जुन कुरा मलाई बचपनमै थाहा थियो । अछाम, पायलको मोटेलामा म जन्मिएको घरको माथिल्लो तल्ला (पाँण) मा राखिएको पूजा कोठामा बेलुकाको बत्ती बाल्ने जिम्मा तेरो र मेरो हुन्थ्यो। अँध्यारो भैसकेको अवस्थामा मैले अगरबत्ती बालेर सक्काएको हुदैनथ्यो । तँ चाहिँ सुरुमै टिनिनीनी घन्टी बजाएर मलाई त्यहीँ छोड्दै ‘लोग्शरी भूत आयो’ भन्दै तर्साउँदै आफू लिस्नोबाट टाप कस्थिस् । तैँले बिहे गर्दासम्म पनि राती पिसाब फेर्न जाँदा कहिले भाउजू त कहिले आमाको गुन्यूको फेर समातेर गएको कुरा अहिले पनि झल्झली याद आउँछ दाइ । तर पनि बुबाआमाले छोड्दैमा तैले सास फेर्न पनि बिर्सन्छस् भन्नेसम्म त सोच्नै सकिएन । तैले जानीजानी आफूलाई सकिस् । तँलाई आफ्ना बुबाआमाको त्यति माया लाग्थ्यो भने तँ आफै पनि तीन सन्तानको बुबा हो, जवान श्रीमतीको श्रीमान् हो भन्ने मतलब किन भएन ? किन तैँले सबैलाई टुहुरा बनाएर नफर्किने यात्रा रोजिस् ? किन एकपटक पनि हाम्रो बारेमा सोचिनस् ।
२०८१ चैत्र २७ गते । बिहान करिब करिब ५ बजेको थियो । सङ्गठनको कामले म धनगढीमै थिएँ । धनगढी जाँदा म बुबाआमा सुत्ने कोठामै सुत्छु । त्यो दिन पनि बिहान निन्द्रामै थिएँ । मेरो कोठाबाहिर तेरो चर्को आवाज गुन्जियो । पछिल्लो चार पाँच वर्षमा प्राय बेलुकातिर तेरो आवाज चर्कै हुन्थ्यो । ‘मोटी मोटी’भन्दै बिनाकारण भाउजूलाई झर्को गरिरहन्थिस् । थाकेको, गलेको जुनसुकै अवस्थामा पनि तेरो वरिपरि भैरहनु पर्थ्यो भाउजूले । किशोरावस्थामै तँसङ्ग प्रेम विवाह गरेर आएकी मेरी भाउजूले तेराकारण कुनै सुख भोग गरेको थाहा पाएनौं हामीले । राम्रोसङ्ग आँखा नदेख्ने, कान नसुन्ने तैले आफ्नो शारीरिक कमजोरीलाई आत्मसात गरेर मनोबल यतिसम्म कमजोर बनाउदै लगिस् कि, तलाई देख्दा मलाई दया र रिस उस्तै लाग्थ्यो । पढाइमा राम्रो तेरो बुद्धिले मनोबल उच्च पाएको भए तँ केही गर्थिस् भन्ने लाग्थ्यो मलाई । त्यही भएर पनि आफ्नो ट्यूसन फी तिर्न भनी बुबालाई पैसा मागेर तँलाई कैलाली बहुमुखी क्याम्पसमा स्नातक भर्ना हुन पठाएँ । तर तैले भर्ना हुनुको सट्टा त्यही पैसाले दारु खाएको कुरा पछि थाहा पाएँ मैले । तैले आफूलाई बनाउन केही गरिनस् । बरु सक्काउदै लगेको याद थियो । तेरो त्यो बिहानको कर्कस आवाज पनि बेलुकाको रक्सीकै कमाल हो भन्ने लाग्यो । म रिसाउँदै जुरुक्क उठेँ । किन कराको दाइ भन्दै बाहिर निस्केँ । तर त्यो दिन भाउजूको अनुहार मुर्झाएको थियो । ‘मैयाँ आज यिनलाई सन्चो छैन । भर्खर अस्पतालबाट आको’ भनिन्। त घरको ग्लालेरीमा यता र उता गर्दै भन्न थालिस्, ‘भाउ (बैनी) यसका आमाछोरा मिलेर मलाई मार्न खोज्दैछन् । मलाई बचा बैनी । मलाई तेरो मात्रै भरोसा छ ।’ तँलाई त्यस्तो अवस्थामा देख्दा मेरो मुटु कति धड्किएको थियो, अहिलेसम्म याद छ मलाई ।
दाइ, बेहोसीमै पनि तेरो मप्रतिको भरोसा देखेर मन पग्लियो । तेरो हात समातेर मैले आफ्नो कोठामा ल्याएँ र भुइँमा ओछ्यान लगाएर आफू छेउमा बसेँ । म भाउजू र कालुलाई भित्र आउन दिन्न । तँ राम्रोसङ्ग सुत । म पनि सुत्छु । भित्र कोही आउन दिन्न। जो आउँछ त्यसलाई कुट्छु भनेपछि हुन्छ भन्दै तँ निदाइस् । तँ निदाएपछी म पनि निदाएछु । तर म निदाइसकेपछी त चुकुल खोलेर बाहिर गैछस् । बाहिर गएर फेरि टोल छिमेक सबैले सुन्नेगरी मलाई फलानाले खुकुरीले काट्न आयो, मलाई मार्न आयो भन्दै चिच्याउन थालिस् । तेरो आवाजले म फेरि ब्यूझिएँ । बाहिर गएर तेरो हात समातेर दाइ के भो फेरि, किन कराको भनेपछि फेरि ‘मलाई बचा बैनी । यी सप्पै मिलेर मलाई मार्न खोजिराछन् । बुबाआमा मलाई लिन आउनुभाछ । म बुबाआमासित जान्छु’ भन्न थालिस् । तँ पूर्ण रुपमा बेहोस थिइस् । हामीले देख्न नसकेका मान्छेलाई तैले आफ्नो वरिपरि देखिराथिस् । तेरो अवस्था देखेपछि सबैले अड्कल काटे र भने ‘यसको दिमागमा रक्सी चढिसक्यो ।’ तैले मेरो हात छोडेको थिइनस् । मैले फेरि बुबाआमाको कोठामा ल्याएँ र सुत्न भने । तैले एकैछिनमा बोल्न छोडिस् । बोल्न छोडेपछि हतार हतार अस्पताल लग्यौँ ।
अस्पतालमा दिनभर आइसीयूमा राखेपछी डाक्टरले पनि त्यै भने ‘उहाँको दिमागमा रक्सी चढिसक्यो । केहीगरी रगतको उल्टी गर्नुभयो र दिसापिसाबमा रगत देखियो भने त्यो रगत बन्द गर्न सक्ने उपचार हामीसङ्ग छैन ।’
डाक्टरको कुराले हामी आत्तियौँ । हतारहतार पैसाको जोहो गरेर भारतको बरेली पुर्यायौँ । पाँच दिन आइसीयूमा राख्दा पनि कुनै सुधार नभएपछि र त्यहाँको उपचारमा सन्तुष्टि नदेखेपछी फेरि धनगढी ल्याउन विवश भयौं । भेन्टिलेटर सहितको एम्बुलेन्समा ल्याउँदा होस् कि आइसीयूमा छँदा होस्, म बोल्दा तैले चाल पाउथिस् । अरुसङ्ग भन्दा मसङ्ग बोल्न खोज्थिस् । रक्सीले तेरो कलेजोको सानो टुक्रा पनि सद्दे थिएन । डाक्टरले कलेजो पलाउन सक्ने सम्भावना हुन्छ भनेका कारण म आफ्नो कलेजो दिएर पनि तँलाई बचाउन चाहन्थे । मसङ्ग हातमा पैसा थिएन । तर दाइ र दिदीहरुले तलाई बचाउन पैसाको अभाव हुन दिनुभएन । मैले रातदिन तेरो सास नियन्त्रणका लागि कुनै कसर बाकी राखिनँ । यदी तँ बाँच्थिस् भने मेरो कलेजोको टुक्रा मात्रै हैन, तेरो नामबाट मेरो नाममा आएको बुबाको जमिन बेच्न तयार थिएँ म । तर मेरा सबै प्रयास असफल भए दाइ। अन्ततः होस् गुमाएको दस दिनमा चैत्र ६ गते तँ सदाका लागि छोडेर गइस् । भाउजूलाई सेतो लुगा पहिराएर, हामीलाई बल्झिरहने घाउ दिएर अस्ताइस् तँ पनि ।
तँ गएको खबर सुनेर थर्थर काप्दै अस्पताल पुगेका जब्बर खालका माइला दाजुलाई जीवनमै पहिलोपटक कमजोर देखेको त्यही क्षण हो मैले । एकातिर तँलाई जोगाउन नसकेको पीडा अर्कोतिर माइला दाजुले पनि आत्मविश्वास गुमाएको देखेपछि मेरा आँसु नै बन्द भएका थिए । के गर्ने के नगर्ने सोच्नै सकिनँ । अनि उहाँलाई दाजु केही नआत्तिनु भन्दै सम्झाउन विवश भएँ । माइला दाजुले विस्तारै एकछिनमै आफूलाई सम्हाल्न थाल्नुभयो र डाको छोडेर देवरको लागि बिलौना गरिराखेकी आफ्नै श्रीमती र भाइबुहारीलाई भन्न थाल्नुभयो, ‘यसले हाम्रो बारेमा कहिल्यै सोच्यो, रक्सी नखा भनेको कहिल्यौ मान्यो र ? किन रुने यसको लागि ? कोही नरोउ है ।’ दाजुको कुरामा छोडेर जानेका लागि आँसु बगाउन नहुने भाव थियो । तर छोरा जस्तै देवर हुर्काएकी माइली भाउजू छाती पिटेर रुँदै गरिन् ।
भाउजू र तेरा भतिजा भतिजीको त झन् के कुरा भो र दाइ । रक्सी खाएर तेरो हल्ला सहेका उनीहरूलाई तँ जड्याहा नै भए पनि ठिक थियो । रक्सीको नसामा आफ्नै घरको बरन्डामा गित गाउने तेरो रहरको आदत थियो उनीहरूलाई । कसैलाई नराम्रो बोलिनस् । कसैको कुरा काटिनस् । पाप गरिनस् । जसलाई पनि माया गर्ने, घरमा पाकेको, फलेको खाइजानुस् भन्ने तँ जस्तो थिइस्, त्यस्तै ठिक थियो सबैलाई । परिवार मात्रै हैन, तेरो यात्राले सिङ्गो समाज रोयो । टोल छिमेकका काकीहरु रोए, भाउजूहरु रोए, आमाहरु रोए । सायद छिटो जानेहरु नै सबैका प्यारा हुने रहेछन् भन्ने कुरा भो सबैतिर ।
अहिले धनगढी जाँदा उराठ लाग्छ दाइ घर सम्झेर । म धनगढी छु भन्ने थाहा पाएपछि बेलुका अँध्यारो नहुँदै पहिले बालखमै जस्तो कतिबेला आउछस् भनेर फोन गरिरहन्थिस्। तेरो लगातारको फोन र माया सम्झिदा म सानै छु भन्ने लाग्थ्यो । पहिले र अहिले माइला दाइ र भाउजूको पनि त्यस्तै फोन त आउँछ तर मलाई भने तँ सम्झेर रुन मन लाग्छ दाइ । बुबाआमासङ्गै तेरो प्रस्थानले जीवनमा गुमाउन बाकी चिज त के नै रह्यो र भन्ने लाग्छ । तँ बिनाका यी आठ महिना आठ वर्ष जस्तै भए दाइ ।
पृय दाइ, मलाई तेरो दक्षिणा यसपालि पनि चाहिन्न । म लिन्न केही चिज तेरो । तँलाई थाहा छ नि, ४५ वर्षको हुँदासम्म तैले आफूले कमाएर कैले दक्षिणा दिएको थिइस् र मलाई ? बरु अरु सबै दाइभाइहरुको भन्दा ठूलो र धेरै माला चाहिँ तँलाई नै बनाउन पर्थ्यो मैले । सुरुमै भन्थिस् त, मलाई ठूलो माला है भनेर । अनि टीका लाउनु पूर्व मलाई नै खुसुक्क पैसा मागेर अरुका अगाडि त्यै पैसा मलाई दक्षिणा दिन्थिस् । हो, यसपटक पनि त्यही गर न बरु । म दिन्छु पैसा । बरु यसपटक एक हजार नै दिन्छु । पोर परारको भन्दा पाँच सय बढी । तर प्लिज, छिटो तयार भएर बस् न ल । चट्ट ढाका टोपी र कोट पाइन्ट लगाइहाल है । अनि हाम्रो सिङ्गल र सबैको ग्रुप फोटो खिचेर फेसबुकमा हाल्न पर्छ ।

Leave a Reply