
काठमाडौं । सरकारले छठलगत्तै आन्दोलनको तयारीमा रहेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईमाथि निगरानी बढाएको छ । प्रसाईमाथि राजनीतिक व्यवहार नगरिने गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलवार सरकार र दलहरुबीचको बैठकमा बताएपछि उनीमाथि कठोर हुने संकेत मिलेको हो ।
गृहमन्त्रीले भक्तपुरबाट सरकारलाई दुईथरी चुनौति थपिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र दुर्गा प्रसाईतिर संकेत गरेका छन् । ओली र प्रसाई दुवैजना भक्तपुरमा बस्छन् । एमले नेता महेश बस्नेत पनि भक्तपुरकै बासिन्दा हुन् । गृहमन्त्री अर्यालको कुरा सुन्दा प्रसाईमाथि छठलगत्तै सरकारले नियन्त्रण गर्ने संकेत देखिएको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताले भने–गृहमन्त्रीले दुर्गा प्रसाईमाथि पोलिटिकल व्यवहार नहुने, क्रिमिनलको रुपमा व्यवहार गरिने बताए । छठपछि प्रसाईलाई सरकारले कडाइ गर्ने संकेत देखियो । त्यसमा दलका नेताहरुबाट खासै केही प्रतिक्रिया आएन तर बालेन र सुशीला कार्कीविरुद्ध दिनहु बोल्न थालेपछि यो सरकार आक्रामक बनेको हुनसक्छ ।
बैठकमा अर्यालले आफूमाथि राजनीतिक हिंसा भएको समेत बताएका थिए । राजनीतिक दलका नेताहरुले आफूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको र मिडियाबाट पनि आफूले साथ नपाएको गृहमन्त्रीको भनाइ थियो । उनले आफूले भनेका कुरा मिडियाबाट बंग्याएर आउने गरेको टिप्पणी समेत गरेका थिए ।
गृहमन्त्री अर्यालसँग एमाले महासचिव शंकर पोखरेलको नोकझोक परेको थियो । अर्यालले देशलाई अझ अस्थिरता र वैदेशिक हस्तक्षेपको अवस्थामा लैजाने चलखेलको सूचना समेत आफूले पाएको भन्दै गम्भीर बन्न आग्रह गरेका थिए । राजनीतिकभन्दा गैरराजनीतिक ठाउँबाट यो सरकारलाई पनि विस्थापित गर्ने षडयन्त्र भइरहेको उनको आशय थियो ।

Leave a Reply