
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको नवीन समझदारी गरेर देशलाई निकास दिनुपर्ने प्रस्ताव औपचारिकरुपमा राखेको छ ।
विघटित प्रतिनिधिसभाको पाँचौ ठूलो दल राप्रपाले सरकार र दलहरुको बैठकमा पहिलोपटक राजसंस्थासहितको त्रिपक्षीय समझदारीको प्रस्ताव दर्ज गरेको हो ।
बैठकमा सहभागी राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जेनजी विद्रोह र त्यसपछिको अवस्थालाई स्थायित्वमा बदल्नका लागि अहिलेको अन्तरिम अवधिलाई सदुपयोग गर्नुपर्ने प्रस्ताव राखिएको नेपाल प्रेसलाई बताए ।
उनले भने– राप्रपाको तर्फबाट हामीले जेनजी विद्रोह र त्यसपछि सिर्जित परिस्थितिलाई देशले विगतका त्रुटि कमजोरी सच्याउने ऐतिहासिक अवसरको रुपमा सदुपयोग गरिनुपर्ने, परम्परागत शक्तिको प्रतिनिधि संस्था राजसंस्था (राजा), अहिलेको परिवर्तनकारी शक्ति जेनजी र राजनीतिक दलहरुका बीचमा निर्वाचन अगावै नवीन समझदारी हुनुपर्ने र त्यसपछि मात्रै निर्वाचनमा जानुपर्ने विषय बैठकमा राखेका छौं ।
सर्वदलीय बैठकमा राप्रपबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।

Leave a Reply