आठौं पिस फिटनेस सेन्टर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौं । विजया दशमी, शुभदिपावली, छठ पर्व २०८२ तथा नेपाल संवत ११४६ को अवसर पारेर आयोजित आठौं पिस फिटनेस सेन्टर ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ।

पिस फिटनेस सेन्टर, पेप्सीकोला टाउन प्लानिङद्वारा गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा मेन्स डबल खुल्ला, मेन्स डबल भेट्रान्स र मेन्स डबल सुपर भेट्रान्स तर्फका खेलहरू सम्पन्न भएका हुन्।

काठमाडौँ महानगरपालिका वडा नं. ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६, ७, ८ र ९ का ब्याडमिन्टन खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको मेन्स डबल फाइनलमा दिनेश केसी र अनुप घिमिरेको जोडीले उमेश धिताल र कुन्दन कडरियाको जोडीलाई तेस्रो सेटमा पराजित गरेका थिए।

प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो सेट २३–२१ ले उमेश–कुन्दन जोडीले जिते पनि दोस्रो र तेस्रो सेट क्रमशः २१–१६ र २१–१८ को नतिजाले दिनेश–अनुप जोडीले उपाधि हात पारेका थिए।

त्यस्तै, मेन्स डबल भेट्रान्स समूहमा गणेश थापा र अशोक उदाशको जोडीले बिष्णु बस्नेत र रामचन्द्र कार्कीको जोडीलाई सोझो सेटमा २१–१६ र २१–१७ को स्कोरमा पराजित गर्दै उपाधि जितेका थिए।

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरूका बीच सम्पन्न मेन्स डबल सुपर भेट्रान्स समूहमा गोपाल खापुङ मगर र मणी गौतमको जोडीले श्रीराम खड्का र कालीदास देवकोटाको जोडीलाई सोझो सेटमा २१–१८ र २१–१६ को नतिजाले पराजित गरेका थिए।

गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा मेन्स डबल खुल्ला समूहमा ४७ टिम, मेन्स डबल भेट्रान ४५ वर्ष समूहमा ३९ टिम, र मेन्स डबल ५५ वर्ष समूहमा १७ टिम खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता संन्जय कपालीको नेतृत्व र नरेन्द्रराज न्यौपानेको संयोजनमा तथा राष्ट्रिय रेफ्री राजु दउजाको सञ्चालनमा सम्पन्न भएको थियो।

विजयी खेलाडीहरूलाई महालेखा परीक्षक तोयमराज राय, मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमलप्रसाद भट्टराई, सिनामंगल नगरसेवा समाजका अध्यक्ष विजयराज पौडेल र राष्ट्रिय वाणिज्य बैंकका पूर्व कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठ लगायतका अतिथिहरूले नगद, स्वर्ण, रजत, कांस्य पदक, ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए।

त्यसैगरी, प्रतियोगितामा ईमर्जिङ खेलाडीको रूपमा कुन्दन कडरियालाई पुरस्कृत गरिएको थियो भने ७५ वर्षीय खेलाडी देवराज केसीलाई प्रोत्साहनस्वरूप सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *