विपिन जोशीको पार्थिव शरीर धनगढीबाट महेन्द्रनगर लगिँदै, मङ्गलवार अन्तिम संस्कार गर्ने तयारी

कैलाली । इजरायलमा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको छ। नेपाली सेनाको स्काई ट्रक विमानमार्फत उनको शव धनगढी ल्याइएको हो।

आजै दिउँसो विपिनको शव नेपाल ल्याइएको थियो। केहीबेरअघि धनगढी विमानस्थलमा उनको पार्थिव शरीर झिकिएको हो। त्यसपछि धनगढी उपमहानगरपालिकाको शव वाहनमार्फत शवलाई कञ्चनपुरको भीमदत्त नगरस्थित घरतर्फ लगिएको छ।

विपिनको शव घरसम्म लैजान प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश रानाभाटका अनुसार प्रहरीको स्कर्टिङको व्यवस्था गरिएको छ। सोमबार राति शव घर पुर्‍याइने र मङ्गलवार बिहान अन्तिम संस्कार गर्ने तयारी गरिएको छ।

धनगढी विमानस्थलमा कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, इजरायलका नेपालस्थित राजदूत र सुरक्षाकर्मीहरू उपस्थित थिए।

कञ्चनपुरका २४ वर्षीय विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासले गाजापट्टी नजिकको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किबुत्जमा आक्रमण गर्दा बन्धक बनाइएका थिए। त्यसयता उनको अवस्था अज्ञात थियो। इजरायल र हमासबीच भएको युद्ध विराम सम्झौताअनुसार बन्धक साटासाटको क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

प्रदेश सरकारको राहत

सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार हमासको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमका सात जनाका परिवारलाई यसअघि पनि जनही दुई लाख रुपैयाँ राहत प्रदान गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *