
सुनसरी । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आयोजित स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करणको विजेता राहुल लिम्बू नै बनेका छन् ।
पहिलो र दोस्रो संस्करणको विजेता बनेका उनले सोमबार आयोजित प्रतियोगितामा १ सय १७ प्रतिस्पर्धीलाई उछिन्दै प्रथम पुरस्कार २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजेता बनेका उनले २७ स्किप गरेका थिए ।
२५ स्किप गरेका भोजपुरका मनिष राई दोस्रो बने । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा वराहक्षेत्रका अधिकलाल चौधरी १९ स्किप गर्दै तेस्रो बने । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

कोशी प्रदेश पर्यटन वर्ष-२०८२ का सहसंयोजक भविशकुमार श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । उनले पर्यटनको विकासका लागि नौलो खेल पानी सुल्के प्रतियोगिताले प्रचार प्रसार र प्रवर्धन गरेको बताए । प्रदेश सरकार र पर्यटन व्यवसायीले समेत प्रतियोगिताको प्रवर्धन गर्ने बताए ।
चतरा हाइकिङ समूहको आयोजनामा बर्सेनि हुँदै आएको प्रतियोगिताले स्थानीय पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवर्द्धन गर्ने साथै नेपालको मौलिक खेललाई देशैभरि स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चतरा हाइकिङका संस्थापक भीषण राईले जानकारी दिए ।


Leave a Reply