
ऋग्वेदमा यम र यमुनाको संवाद छ । त्यसैले यी दुवै वैदिक पात्र हुन् । यम र यमी दाजु बहिनी हुन् । मृत्युका देवता यम आफ्नी बहिनी यमीका घरमा गएर बसेका पाँच दिनलाई यमपञ्चक भनिन्छ । यी पाँच दिनलाई नेपाली खास गरी पहाडी जनजिब्रोले तिहार भन्ने गरेको छ । यमपञ्चक हरेक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीको दिनदेखि कात्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म मानिन्छ । ‘तिहारै आयो, लौ झिलिमिली….!’ भनेर गाउँदै नाच्दै सुरु हुने तिहार यी पाँचै दिन तिहारै तिहार हुन्छ ।
यमपञ्चकको पहिलो दिन ‘काकोद्रसि यमदूतोद्रसि’आदि भनेर कागको पूजा गरिन्छ र बलिभाग दिइन्छ, जसलाई ‘काकबलि’ पनि भनिन्छ । नीति शास्त्रमा कागबाट पाँचवटा शिक्षा लिनू भनिएको छ, ‘वायसात्पञ्च शिक्षेत्’ भनिएको छ । ती पाँच कुरा मानव सभ्यताका लागि महत्त्वपूर्ण विषय छन्- चनाखो रहनु, लुकेर मैथुन गर्नु, अतिरिक्त सञ्चय नगर्नु, सितिमिति कसैको भरविश्वास नपर्नु, सफासुग्घर रहनु ।हाम्रो समाजमा कागलाई सन्देशवाहक–सूचकका रूपमा मान्ने गरिएको पाइन्छ । यसबाट तिहारको एउटा विषय सूचना तथा सञ्चारको महत्वसँग सम्बन्धित रहेको देखिन्छ । यो सन्दर्भ सञ्चार सचेतनासँग सम्बन्धित रहेको छ । यस दिनलाई कतै कतै, कुनै कुनै समुदायले ‘धनतेरस’ भन्ने गरेको पनि पाइन्छ । यस शब्दलाई अहिले व्यापारीकरण गरिएको भए तापनि आयुर्वेदका जनक, चिकित्साशास्त्रका आदि प्रतिपादक महर्षि धन्वन्तरिको जयन्ती भएकोले धन्वन्तरि जन्मेको त्रयोदशी (तेरस) लाई छोटकरीमा धनतेरस भनिएको हो । धन्वन्तरिको स्मृतिले हामीलाई पृथ्वीको पूर्वी गोलार्द्ध चिकित्सा क्षेत्रमा अगाडि रहेको बोध गराउँछ । अहिले नेपालमा आयुर्वेदलाई ‘वैकल्पिक चिकित्सा’ भन्ने गरिएको विषयको खण्डन हुन्छ । आयुर्वेदले रोगको आधारभूत कारण कफ, वात र पित्तलाई मान्दछ भने यसका १. शल्यतन्त्र, २. शालाक्यतन्त्र, ३. कायचिकित्सा, ४. भूतविद्या, ५. कौमारभृत्य, ६. अगदतन्त्र, ७. रसायनतन्त्र, ८. वाजीकरण गरी आठवटा अङ्ग रहेको पाइन्छ । आयुर्वेदको क्षेत्र बृहत् छ । यद्यपि यो यमपञ्चकको विषय होइन, तथापि यसलाई तिहारकै बिचमा मनाउँदा स्वास्थ्यबारे जनचेतना जगाउन सहयोग नै पुग्दछ ।
दोस्रो दिन नर्क चतुर्दशी हो । यस दिन नरकासुरलाई सम्झेर दियोबत्ती बालेर बलिभागसहित ‘नरके फाल्ने’ प्रचलन छ । यस दिन कुकुर तिहार मनाइन्छ । कुकुरका विशेषताबारे धेरै भनिरहन आवश्यक छैन । कुकुर मानिसहरूको नजिकको रक्षक हो, इमान्दार हुन्छ । नीति शास्त्रमा कुकुरबाट छ वटा शिक्षा लिनू अर्थात् ‘षट्शून’ आदि भािएको छ । यस अर्थमा प्रकृतिबाट सिक्दै सभ्यता र संस्कृति विकास गर्दै आएको मानव समाजले कुकुरबाट पनि सिकेको छ । कुकुरको पूजा गरेपछि यसलाई विभिन्न परिकारहरू खान दिइन्छ । यसरी दिइने बलिभागलाई श्वानबलि पनि भनिन्छ । यी सन्दर्भमा कुकुरका विशेषताहरूइमान्दार, चनाखो, थोरै सुत्ने, निष्ठावान् प्राणीको स्मरण गर्दै सम्मान गरिन्छ ।
यमपञ्चकको तेस्रो दिन औँसी पर्दछ । यस दिन गाई तिहार मान्ने प्रचलन छ । यसको रात्रिलाई सुखरात्रि भनिन्छ । यस दिन धन-धान्य, समृद्धिका लागि श्रीमहालक्ष्मीको पूजा गर्ने प्रचलन छ । लक्ष्मीको पूजा गर्नुका पछाडि धन कमाउने, खर्च गर्ने, त्यसबाट आनन्दित हुने, अपव्यय नगर्ने आदि स्मरण गर्ने सन्दर्भ हो । यसको सन्ध्या कालमा व्यापक दीप प्रज्वलन गरिन्छ, लस्करै दियो बालिन्छ । प्रकृतिमा अँध्यारो र उज्यालो पक्ष दुवै छ, तर मानिसको प्रयासले उज्यालो पार्न सकिन्छ । त्यसैले यसलाई दीपावली भनिएको हो ।
मानिस अँध्यारोबाट उज्यालोतिर लम्कनु पर्दछ अर्थात् ‘तमसो मा ज्योतिर्गमय’को प्रेरणा दिन्छ । यस दिनले गाईको महत्त्व दर्शाउनुका साथै मानिसका कर्मबाट समृद्धि र उज्यालो जीवनको सन्देश दिन्छ । यसै पनि गो शब्दको अर्थ गाई त हुन्छ, तर यसले इन्द्रिय, पृथ्वी भन्ने अर्थ पनि राख्दछ । ‘गोपूजा’ले कृषिका लागि गो वंशको उयादेयता, इन्द्रिय संयम, पृथ्वीप्रतिको दायित्व तथा यीसँगै प्राप्त हुने सुख, समृद्धि र वैभव आदि विषयको महत्त्व दर्शाउँछ ।
तिहारको चौथो दिन गोवर्धन पूजा गरिन्छ । यसको विशिष्ट अर्थ र महत्त्व छ । अनुयायीको बलमा श्रीकृष्णले इन्द्रलाई चुनौती दिँदै उठाएको गोवर्धन पर्वतको पूजाको ठूलो राजनीतिक अन्तर्वस्तु रहेको छ । यसै दिन गोरु तिहार मनाइन्छ- गोरूको योगदानको उच्च सम्मान गरिन्छ । गोरू मूलतः हलो जोत्ने विषयसँग जोडिएको हुन्छ । हलो जोत्नेलाई हली भनिन्छ । यो दिन हली सम्मानको दिन पनि हो । यस दिन गरिने क्रियाकलापले श्रम र श्रमिकप्रति सम्मानको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाउने भाव बोकेको देखिन्छ ।
यमपञ्चकको पाँचौँ दिन भाइ तिहार हुन्छ । वास्तवमा भाइ तिहार दाजुभाइलाई दिदीबहिनीले सम्मानजनक प्रेम र आपसी सुरक्षा तथा सहयोगको प्रतिबद्धताको विषयसँग सम्बन्धित पर्व हो । तिथिका हिसाबले यो दिन द्वितीया पर्दछ । संस्कृतमा यसलाई भातृद्वितीया, हाम्रो तराई मधेशतिर भाई दूज-भैयादूज भन्ने गरिन्छ । खासमा संस्कृतको भातृ शब्दले दाजु र भाइ दुवै जनाउँदछ ।
तिहारमा देउसी-देउसिरे, भैलो-भैली खेलिन्छ । घर घरमा गएर गाउने, नाच्ने, दान माग्ने र आशीर्वाद दिने साह्रै रमाइलो प्रचलन छ । हुन त यो पर्व हिन्दु सनातनीहरूले मनाउँदै आएको पर्व हो । तर, सबै ठाउँका हिन्दुहरूले तिहारलाई यसरी मनाउँदैनन् । त्यसैले यसलाई हिन्दुहरूको मात्र भनेर पुग्दैन, नेपालीहरूको मौलिक पर्व भन्नुपर्ने हुन्छ ।
अन्यत्र नभएको नेपालमा मात्र हुने विशेष पर्व छ र त्यो हो- म्ह पूजा । यो आत्मसम्मान, आफ्नो हेरविचारका दृष्टिले अत्यन्त महत्त्वपूर्ण विषय रहेको छ । तिथिको घटबढका कारणले यस पर्वको दिन अघिपछि पर्न सक्दछ ।
यसरी यी पाँच दिनलाई शास्त्रीय हिसाबले यमपञ्चक र चलनचल्तीमा तिहार भनिन्छ । यत्रो मौलिक विशेषता रहेको पाँच दिनको पर्वलाई दीपावली अर्थात् लहरै बत्ती बाल्ने पर्वका रूपमा मात्र सीमित पारेर कसै कसैले दीपावली र हुँदा हुँदा दिवाली मात्र भनेर शुभकामना दिँदै गरेको पनि देखिन्छ । वास्तवमा तिहारका पाँच दिन उत्तिकै महत्वका दिन हुन् । यसलाई दिपावली वा दिवाली भनेर खुम्च्याउनु राम्रो होइन ।
यी पाँच दिनलाई यमपञ्चक भन्नुको महत्त्वपूर्ण कारण छ । शास्त्रानुसार यम भनेको मृत्युका देवता हुन् । यिनलाई सूर्यका छोरा भनिएको छ । सूर्यकी छोरी हुन्- यमी । यम दाजु र यमी बहिनी हुन् । यी दुवै वैदिक कालका देवता हुन् । ऋग्वेदमा यिनका विषयमा चर्चा छ । ऋग्वेदमा भएको चर्चा अनुसार वैदिक कालको पनि कुनै कालखण्डमा या कुनै काल खण्डसम्म एउटै परिवारमा दाजुबहिनी-दिदीभाइबिच विवाह हुन्थ्यो । विवाहको उमेर भएका यम र यमी कुनै समय यसरी भेटघाट भई पाँच दिनसम्म सँगै बसे अर्थात् बहिनी यमीको घरमा दाजु यम आएर बसे । यो बसाइबाट एउटा नयाँ सामाजिक सभ्यता बसाए ।
उनीहरू बिचको व्यापक छलफलबाट विकास गरिएको निष्कर्ष थियो- दाजुबहिनीबिच विवाह नहुने निष्कर्ष । यस अर्थमा तिहार पर्व मानव समाजको एउटा फरक मान्यता र परम्पराबाट अर्को सामाजिक मान्यता स्थापित गर्ने महत्त्वपूर्ण पर्व हो । संयोग नै हुन सक्दछ, उनीहरू बिचको त्यो बसाइको तिथि यिनै परेको होस् । त्यही स्मरणका लागि तिनै दिनलाई यसरी मनाइँदैआएको हुन सक्दछ ।सम्बन्धमा परिष्कार गरिएको यो तिहार पर्व वास्तवमै महत्त्वपूर्ण छ ।
संस्कृतिका आधारभूत देखिने पक्ष भनेको खानपान, पहिरन, चालचलन-दैनिन्दिन व्यवहार हो । यसमा पूजा पद्धति, चाडपर्व, रीतिरिवाज, परम्पराको पक्ष त हुन्छ नै । प्रकृति, उत्पादन पद्धति र यसमा प्रयोग गरिने औजार-उपकरण पनि संस्कृतिकै विषय हुन् । समष्टिमा भन्नुपर्दा संस्कृति भनेको सुधारिएको परम्परा र समाजले स्वीकार गर्ने गरी परिमार्जित मानव व्यवहार हो । उस्तै रहे परम्परा हुन्छ, नबुझी अवलम्बन गरे अन्धविश्वास हुन्छ ।सकारात्मक रूपमा परिवर्तित-परिमार्जित भए संस्कृति हुन्छ, बुझेर अवलम्बन गरे विज्ञान हुन्छ । संस्कृति बृहत् र व्यापक विषय हो । संस्कृतिको सारभूत अर्थ सुधारिएको, परिमार्जन गरिएको, राम्रो परिणति-परिणाम हो ।
पछिल्लो समय तिहारका ठाउँमा ‘दीपावली’ लेख्ने प्रचलन बढेको देखिन्छ । दीपावली भन्ने नराम्रो होइन । दीपावली भनेको लस्कर बत्ती वा बत्तीको ताँती भनेको हो । तिहार(यमपञ्चक)को एक दिन औँसीको रात्रि-सुखरात्रिमा धनधान्यकी देवी लक्ष्मीको स्वागतका लागि दीपावली (लहरै बत्ती बाल्ने) गर्ने गरिन्छ । औँसीको रात्रिमा प्राकृतिक अन्धकारलाई चिर्ने मानवीय प्रयासको यो कर्मको महत्त्व छ । तर, यो दिन यमपञ्चकको एक दिन मात्र हो र यसरी लहरै बत्ती बाल्नु एउटा कर्म-काम हो, यही एउटा कर्मको नाम नै सिङ्गो पर्व हुन सक्दैन । त्यसैले ‘दीपावली’ शब्दले यमपञ्चकको पाँच दिन जनाउँदैन, तिहारको न भाव, न अर्थ, न व्यवहार नै बोक्न सक्दछ । अतः दीपावली होइन, यमपञ्चक वा तिहार भन्नुपर्छ ।
दीपावलीको मात्र प्रसङ्ग पनि छ । अयोध्याका राजकुमार रामले लङ्का विजय गरेर अयोध्या फर्किँदा अयोध्यावासीले रामको स्वागतमा दीपावली गरेका थिए । त्यो प्रसङ्ग त्यही एक दिन सीमित हो भने यमपञ्चक प्राचीन सन्दर्भसँगै नेपाली विशेषताको तिहार पर्व हो ।
हिन्दु सनातन संस्कृतिको आधार ग्रन्थ वेद हो । वेदमा पनि ऋग्वेद सर्वप्राचीन ग्रन्थ मानिन्छ । यो ग्रन्थ युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ग्रन्थ हो । यस अर्थमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्व मानव जातिको साझा सम्पत्ति हो । त्यही ग्रन्थमा आधारित यो पर्वलाई सोही अनुरूप बुझौँ र मनाऔँ ।
यसरी तिहारको अन्तर्वस्तु बहुआयामिक रहेको देखिन्छ । दीपावलीमात्र भनियो भने माथि चर्चा गरिएका महत्त्वपूर्ण पक्ष ओझेल पर्ने छन् । हामी यसलाई यमपञ्चक वा तिहार नै भनौँ ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)

Leave a Reply