कैलाली उद्योग वाणिज्य सङ्घको पहिलो बैठकमा तीन निर्णय, व्यवसायीहरूको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने

कैलाली। कैलाली उद्योग वाणिज्य सङ्घको नव–निर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। त्यस्तै, शपथ ग्रहणपछि बसेको सङ्घको पहिलो बैठकले तीन निर्णय गरेको छ।

सङ्घका अध्यक्ष पुष्कर ओझाका अनुसार पहिलो बैठकले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण मतदाता, व्यवसायी, सुरक्षा निकाय, पत्रकार तथा निर्वाचन समितिसहित सबै सहयोगीप्रति धन्यवाद ज्ञापन गर्ने, सदस्य व्यवसायीहरूको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने, र सङ्घको बैठक हरेक महिनाको ५ गते नियमितरूपमा बस्ने निर्णय गरेको हो।

शपथ ग्रहण कार्यक्रम सङ्घका निवर्तमान अध्यक्ष पुष्पराज कुवरको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा निर्वाचन समितिका संयोजक पदम कुवरले नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला–नगर तर्फका उपाध्यक्ष श्रीकृष्ण बैध, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्रलगायतको उपस्थिति रहेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *