
कैलाली । सुदूरपश्चिम प्रदेश प्रदेश सुरक्षा समितिको बैठकले प्रदेशको समग्र सुरक्षा सुदृढीकरणका लागि विशेष रणनीति बनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमल बहादुर शाह तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीसहित बसेको बैठकले आगामी निर्वाचनका लागि चुस्तदुरुस्त सुरक्षा व्यवस्था कायम गर्ने निर्णय गरेको हो ।
‘फागुन १ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा रणनीति तयार गर्ने निर्णय गरिएको छ । सो रणनीतिले आम नागरिकमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाइने छ’ बैठक पछि मुख्यमन्त्री शाहले नेपाल प्रेसलाई भने ।
त्यस्तै, दीपावली र छठ पर्वका अवसरमा भारत जाने–आउने नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै सुदूरपश्चिमका मुख्य नाकाहरूमा लुटपाट तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्न एकीकृत जाँच प्रणाली लागू गरिनेछ।
बैठकले लागुऔषधको ओसारपसार र बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायहरूले संयुक्त रणनीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै, चाडपर्वको समयमा बजारमा मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट र म्याद नाघेका वस्तुको बिक्री रोक्न अनुगमनलाई प्रभावकारी बनाउन पनि निर्णय गरिएको छ।
सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र जनअपेक्षा अनुरूप बनाउन, सुशासन कायम गर्न तथा सार्वजनिक संस्थाहरूलाई सुदृढ बनाउने विषयमा पनि बैठकले निर्देशन दिएको छ।
बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब महानिरीक्षक ओम बहादुर राना, महाशाखा प्रमुख कोमल प्रसाद ओझा, नेपाली सेनाका उपरथी किरण केसी, सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक प्रदीप कुमार पाल, महासेनानी ईश्वर बुढाथोकी, राष्ट्रिय अनुसन्धानका सह–अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दाहाल, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव नवराज ओझा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply