अन्तर्राष्ट्रिय अनुभव र लगानीले खोल्यो टी-२० विश्वकपको ढोका

पोखरा । नेपालले सन् २०२६ को फेब्रुअरीमा श्रीलंका र भारतमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा आफ्नो स्थान पक्का गरिसकेको छ। ओमानमा भएको टी-२० विश्वकप एसिया छनोटको सुपर-सिक्समा शीर्ष स्थानमा रहँदै नेपालले विश्वकपमा स्थान बनाएको हो। उक्त छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो । नेपालले अन्तिम खेलमा बिहीबार सामोआमाथि सहज जित दर्ता गर्‍यो ।

नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो। सन् २००७ देखि सुरु भएको टी-२० विश्वकपमा नेपालले सुरुदेखि नै छनोट खेल खेल्दै आए पनि सन् २०१४, २०२४ र २०२६ बाहेकका संस्करणमा छनोट चरणबाटै बाहिरिएको छ । नेपालले पहिलो पटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । त्यसपछि दोस्रो पटक विश्वकप खेल्न एक दशक लाग्यो । नेपालले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा भएको टी-२० विश्वकप खेल्यो।

सन् २०२२ को विश्वकप छनोटमा यूएईसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपनामा तुषारापात भएको थियो। सन् २०२४ को विश्वकप छनोटमा यूएईलाई नै हराउँदै नेपालले दोस्रो पटक टी-२० विश्वकपको टिकट काटेको थियो। दोस्रोपछि तेस्रो पटक टी-२० विश्वकप खेल्न भने नेपाललाई धेरै समय लागेन । सन् २०२६ मा हुने टी-२० विश्वकपमा नेपाल छनोट मात्र भएन, आफूलाई एक सशक्त हिस्सेदारका रूपमा उभ्याउन सफल भयो ।

सन् २०२२ मा विश्वकप छनोटबाट बाहिरिँदा, सन् २०२४ को विश्वकप खेल्दा र २०२६ को विश्वकपमा छनोट हुँदा टोलीका अधिकांश खेलाडी उही छन्। तर, लगानी, मिहिनेत र आत्मबलका कारण खेलाडीको स्तर वृद्धि भयो र नेपालले विश्वकपमा स्थान पक्का गर्‍यो।

सन् २०२२ यता नेपाली क्रिकेटमा खेलाडीको सेवा-सुविधादेखि खेल्ने प्रतिस्पर्धीसमेत फेरिएका छन्। राष्ट्रिय टोलीमा रहेका खेलाडीले मासिक एक लाख रुपैयाँसम्म पारिश्रमिक पाउँछन्। ‘क्रिकेट खेलेर के हुन्छ र?’ भन्ने खेलाडीको सोचमा परिवर्तन आई अहिले ‘क्रिकेटमै भविष्य छ’ भन्ने भएको छ। विभिन्न व्यापारिक घराना पनि क्रिकेट खेलाडीमा लगानी गर्न उत्साहित देखिन्छन्। साथै, क्यान पनि खेलाडीलाई स्तरीय खेल खेलाउन कुनै कसर बाँकी राखेको देखिँदैन।

नेपालले विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलियामा ‘टप एन्ड टी-२०’ सिरिजदेखि टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिजसम्म खेल्यो। विश्वकप छनोटका लागि पहिलो पटक गत भदौमा भएको ‘टप एन्ड टी-२०’ सिरिजमा नेपाली टोली सहभागी भयो । उक्त सिरिजमा पाकिस्तान र बंगलादेशका ‘ए’ टीम तथा बिग ब्यास लिग खेलिसकेका अनुभवी टोलीसँग नेपालले प्रतिस्पर्धा गर्ने अवसर पायो।

यस्तै, उक्त सिरिजपछि नेपालले अस्ट्रेलियामै थप पाँच अभ्यास खेल खेल्यो, जसले नेपाली खेलाडीलाई थप अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्‍यो। क्यानले बन्द प्रशिक्षणमा रहेका केही खेलाडीलाई प्रशिक्षणका लागि भारतमा पनि पठायो। केहीले नेपालमै प्रशिक्षण गरे । त्यससँगै नेपाल ‘ए’ टिमलाई भारतको आसाम टिमसँग टी-२० सिरिज खेलाइयो । उक्त सिरिजमा नेपाल ‘ए’ टीमबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडी आदिल अन्सारी र सन्दीप जोरा विश्वकप छनोटका लागि टोलीमा परे ।

नेपालले विश्वकप छनोटको केही दिनअघि मात्रै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज खेल्यो। घरेलु मैदानमा आवश्यक संरचना नहुँदा क्यानले यूएईमै गएर भए पनि ऐतिहासिक सिरिज आयोजना गर्न सफल भयो। उक्त सिरिजमा नेपालले वेस्ट इन्डिजमाथि २-१ को ऐतिहासिक जितसमेत दर्ता गर्‍यो। यो खेलले नेपाली खेलाडीको स्तर परीक्षण त भयो नै, विश्वकप छनोटअघि खेलाडीको आत्मबल उच्च बनाउन पनि मद्दत पुग्यो ।

सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका शक्ति गौचन क्रिकेटको बढ्दो क्रेज र खेलाडीको मिहिनेतका कारण नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न सम्भव भएको बताउँछन् ।

उनी भन्छन्, ‘खेलाडीको सुविधा, स्तरवृद्धि सबै ठीक बाटोमा हुँदा नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो

नेपालले चाँडै नै एकदिवसीय विश्वकपसमेत खेल्ने शक्तिमा विश्वास छ । ‘नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्दैछ। चाँडै नै नेपालले एकदिवसीय विश्वकप खेल्नेछ। त्यसका लागि ग्रासरुटदेखि नै काम हुन जरुरी छ,’ उनले भने ।

सन् २०२४ को विश्वकपमा उपविजेता बनेको दक्षिण अफ्रिकासँगको एक रनको हार नेपाली समर्थकले पक्कै बिर्सिएका छैनन्। भर्खरै सकिएको विश्वकप छनोटमा त्यस्तै एक रनको हारको चोट नेपालले यूएईलाई दिएको छ, जुन उनीहरूका समर्थकले पनि बिर्सन सक्ने छैनन् । नेपाल अन्तिम ओभरमा गएर हारेका धेरै उदाहरण छन्। दबाबमा नेपाली खेलाडी खेल्न सक्दैनन् भन्ने भाष्य नेपाली क्रिकेटमा थियो । तर, यस पटकको छनोटमा उक्त भाष्यलाई नेपाली खेलाडीले गलत साबित गरिदिएका छन्। जस्तोसुकै परिस्थितिमा पनि नेपालले जित निकाल्न सक्छ भन्ने खेलाडीले देखाएका छन् ।

नेपाल लगातार विश्वकपमा छनोट हुनुमा नेपाली समर्थकको पनि उत्तिकै योगदान छ । समर्थककै कारण आईसीसी र अन्य बलिया टोलीले नेपाली क्रिकेटलाई हेर्ने दृष्टिकोण फरक छ । आईसीसीले लगातार दुई पटक नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ दिइसकेको छ ।

नेपालले पहिलो पटक सन् १९९६ मा अन्तर्राष्ट्रिय खेल खेल्दा टोलीका सदस्य रहेका सञ्जय गुरुङ खेलाडीको मानसिकता र स्तरीय खेलका कारण नेपालले यो उपलब्धि हासिल गरेको बताउँछन् ।

‘क्रिकेटसँगै घरेलु लिगहरू पनि भइराखेका छन्। खेलाडीहरूको मानसिकता बलियो छ। उनीहरूले स्तरीय खेल खेलिरहेका छन्। जुन हिसाबले तयारी गरिएको थियो, यो त्यसैको प्रतिफल हो,’ उनले भने, ‘खेलाडीमा विश्वास छ। यसअघि अन्तिममा आएर हारिरहेका खेलाडीले अहिले जितिरहेका छन्। उनीहरू मानसिक रूपमा तयार छन् ।’

खेलाडीहरूमा हरेक दुई वर्षमा नेपालले विश्वकप खेल्नुपर्छ भन्ने मानसिकता बनिसकेको गुरुङको अनुभव छ। अब नेपाल एकदिवसीय विश्वकप र टेस्ट राष्ट्रको मान्यताको बाटोमा अघि बढेकाले संरचना निर्माण र ग्रासरुट विकासमा लाग्नुपर्नेमा गुरुङले जोड दिए ।

‘अब ५० ओभरको विश्वकप खेल्ने मानसिकता राख्नुपर्छ। अन्तर्राष्ट्रिय खेल हुँदा घरेलु लिग पनि हुनुपर्छ। संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्छ। ग्रासरुटबिना एकदिवसीय विश्वकप र टेस्ट राष्ट्रको मान्यता सम्भव हुँदैन,’ उनले भने ।

नेपालले पहिलो पटक विश्वकप खेल्दा कप्तानी गरेका पारस खड्का अहिले नेपाल क्रिकेट संघ (क्यान) का सचिव छन्। उनकै नेतृत्वमा गत मंसिर-पुसमा नेपाल प्रिमियर लिग (एनपीएल) सफलतापूर्वक सम्पन्न भयो । उक्त लिगमा विश्वका उत्कृष्ट क्रिकेटर आएर खेल्दा नेपाली खेलाडीका लागि सिकाइको माध्यम बन्यो, जसले उनीहरूको टी-२० खेल खेल्ने आत्मविश्वाससमेत बढायो ।

विश्वकप छनोटका लागि क्यानले सक्दो लगानी गरेको सचिव खड्का बताउँछन् । ‘विश्वकप छनोटको तयारीका लागि क्यानले आफ्नो स्रोत र साधनभन्दा पनि माथि उठेर लगानी गरेको थियो,’ उनले भने, ‘राष्ट्रिय टोलीमा पर्ने खेलाडीहरूका लागि क्रिकेट खेलमै लागेर भविष्यलाई राम्रो र सुनिश्चित गर्ने आधार बनेको छ ।’

घरेलु संरचना विकास भएमा नेपाल छोटो समयमै बलियो राष्ट्र बन्ने पारसको विश्वास छ।

‘पछिल्ला ४-५ वर्षदेखि नै युवा टोलीले जुन एउटा जोश, जाँगर, आशा र भरोसा हामी सबैलाई दिएको छ,’ उनी भन्छन्, ‘आशा गरौँ कि आगामी दिनमा विश्वकपमा राम्रो प्रदर्शन गर्दै जाँदा हाम्रो घरेलु संरचना र पूर्वाधारहरूमा परिवर्तन ल्याउने हो भने एउटा बलियो राष्ट्र बन्न धेरै लामो समय कुर्नुपर्दैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *