पहिलो एकदिवसीयमा भारतमाथि अष्ट्रेलियाको आरामदायी जित, कोहली र रोहित फ्लप

काठमाडौं। अष्ट्रेलियाविरुद्धको एकदिवसीयमा भारतले लज्जास्पद हार व्यहोरेको छ । वर्षाका कारण २६ ओभरमा घटाइएको खेलमा भारतले दिएको १३१ रनको लक्ष्य अष्ट्रेलियाले ३ विकेट र २९ बल बाँकी छँदै भेट्यो ।

दुई अनुभवी ब्याट्सम्यानमा रोहित शर्मा र बिराट कोहली फ्लप हुँदा भारतको इनिङ सुरुमै लड्खडाएका थिए । रोहितले ८ रन जोडेर आउट भए भने ८ बलको सामना गरेका कोहलीले एक रन पनि बनाउन सकेनन् । उनी अष्ट्रेलियामा पहिलोपटक डकआउट भएका थिए ।

अक्षर पटेलले ३१ र केएल राहुलले ४८ रन बनाएर भारतलाई अलिकति सान्वना दिए । अगट्रेलियाका जोश हेजलउड, मिचेल ओवेन र म्याथ्यु कुहनमनले २–२ विकेट लिए । कसिलो बलिङ गरेका मिचेल स्टाकको खातामा एक विकेट रह्यो ।

डीएल मेथड अनुसार अष्ट्रलियाले २६ ओभरमा १३१ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । अष्ट्रेलियाका कप्तान मिचेल मार्सले ५२ बलमा ४६ रन बनाउँदै भारतलाई निराश पारे । ट्राभिस हेड (८रन) र म्याथु सर्ट (८रन) सस्तैमा आउट भए पनि जोस फिलिपले ३७ र म्याथ रेनशउले २१ रन बनाउँदै अष्ट्रेलियालाई आरामदायी जित दिलए ।

यससँगै ३ म्याचको एक दिवसीय श्रृंखलामा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *