गृह मन्त्रालयद्वारा ७७ वटै जिल्लाका सीडीओलाई ६३ बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौं । गृह मन्त्रालयले देशैभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई ६३ बुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, र आसन्न निर्वाचनको तयारीलगायतका विषयमा विशेष निर्देशन दिएको हो ।

गृहसचिव स्तरीय निर्णयअनुसार जारी गरिएको निर्देशनमा आम नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन जोड दिइएको छ।
निर्देशनमा भनिएको छ, ‘विभिन्न बहानामा हुन सक्ने अवाञ्छित गतिविधि, चन्दा आतंक, र कानुन विपरीतका कार्यलाई कडाइका साथ नियन्त्रण गरी आम नागरिकको जिउधनको सुरक्षामा कुनै कसर बाँकी नराख्नू ।’

निर्देशनका मुख्य बुँदा यस्ता छन्:

शान्ति सुरक्षा र अपराध नियन्त्रण: जिल्लाभित्रको समग्र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ । लागुऔषध, अवैध मदिरा, र अन्य गैरकानूनी गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्न भनिएको छ।

सेवा प्रवाह र सुशासन: जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई सरल, सहज र पारदर्शी बनाउन, अनावश्यक झन्झट हटाउन र प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन दिइएको छ । कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने र नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउन पनि भनिएको छ ।

विपद् व्यवस्थापन: मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न, खोज, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न र तत्काल परिचालन हुन सक्ने गरी संयन्त्र बनाउन निर्देशन दिइएको छ ।

आसन्न निर्वाचन तयारी: फागुन २१ मा तोकिएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ। साथै निर्वाचनविरोधी गतिविधि र भूमिगत समूहद्वारा हुने गतिविधिको पहिचान तथा नियन्त्रणमा जोड दिइएको छ ।

बजार अनुगमन र नियन्त्रण: चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्न निर्देशन दिइएको छ ।

सूचना तथा सञ्चार: सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह र गलत सूचनाप्रति चनाखो रहँदै सत्यतथ्य जानकारी तत्काल प्रवाह गर्न र जिल्लाको शान्ति सुरक्षामा खलल पार्न सक्ने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न निर्देशनमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *