
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक जेन–जी आन्दोलनको भावनाअनुसार चल्नुपर्ने बताएका छन् । तिहार, नेपाल संम्वत र छठलगायत चाडपर्वको अवसर पारेर पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा गरेको कार्यक्रममा पुनले जेन–जी आन्दोलनकारीले अघि सारेका सुशासनसहित कयौँ एजेण्डा र आफ्नो दलको एजेण्डामा समानता रहेको बताए ।
पुनले जेन–जीलाई भर्चुअल र डिजिटल दुनियाँमा हुर्किँदै गरेका छोराछोरी र नातिनातिना भन्दा फरक रूपमा बुझ्न नहुने उनको भनाइ थियो । ‘कोही भ्रममा पर्नु पर्दैन, जेन–जी डिजिटल प्लार्टफमसँगै भर्चुअल दुनियाँमा हुर्किराखेका १३ देखि २८ वर्ष उमेरको नयाँ पुस्ता हो’, पुनले भने, उनीहरू कोही नभएर हाम्रै छोराछोरी र नातिनातिनाहरू हुन् । उनीहरू स्मार्ट छन् र क्षमतावान् छन् । उनीहरूसँगै संसारभरिका सूचना छन् ।’
पुनले सहरी क्षेत्रमा एउटै घरको माथिल्लो र तल्लो तलामा बस्नेहरुबीच चिनाजान नहुने अवस्था भए पछि जेन–जीहरु भर्चुअल माध्यमबाट विश्वभरका मानिससँग सूचना र संवादमा रहेको बताए । ‘जेन–जी पुस्ता भर्चुअल माध्यमबाट विश्वभरिका मानिसहरूसँग गेम खेल्छ, सूचना, ज्ञान र कतिपय सन्दर्भमा नेपालमा बसेर युरोप, अमेरिका, जापान, कोरिया, भारत र चीनमा व्यापार गरिराखेको छ । त्यहाँ उसका सम्बन्धहरू छन् । नेपालमै बसेर बाहिर जागिर गरिराखेको छ ।’
पुनले जेन–जी आन्दोलन मुलुकको वर्तमानको यथार्थता भएकाले उक्त चाहनाको सम्बोधन गरेर मात्र अगाडि बढ्न सकिने स्पष्ट गरे ।
पुनले लोकतन्त्रलाई अझै पारदर्शी, प्रभावकारी र परिस्कृत गर्न चाहने जेन–जी समूहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए । यद्यपि बलिदानबाट प्राप्त संविधान मास्न चाहने प्रवृत्ति सह्य नहुने चेतावनी दिए । उनले विगतमा आफूहरूले क्रान्ति र मुलुक परिवर्तनका लागि जीवन हत्कोलामा राखेर लडेको भन्दै मुलुकलाई पछि फर्काउने कोसिस भए फेरि लड्न तयार रहेको चेतावनी दिए ।
उनले आफू र संयोजक पुष्पकमल दाहाल प्रचण्डे जेन–जीका विभिन्न समूहसँग संवाद गरिरहेको पनि खुलाए । २३ भदौको शान्तिपूर्ण जेनहजी प्रदर्शनमा गोली हानेर निहत्था विद्यार्थीको हत्या गर्नेहरुलाई केही नगर्ने तर, आन्दोलनमा नैतिक समर्थन जनाएको आफ्नो दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी निरुत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

‘सरकारलाई फेरि भन्न चाहन्छौँ, आजको परिवर्तनलाई आत्मसात् गर्ने दल भनेको हामी मात्र हौँ । हामी आफ्नो एजेण्डा लिएर निर्वाचनमा होमिन्छौँ । जेन–जीका त्याग, बलिदान, समर्पण र एजेण्डा बोकेर आफूलाई रूपान्तरण गर्न जनमतमा जान्छौँ भन्ने पार्टीलाई बेलाबेला तर्साउने र बेलाबेला लक्षित गर्ने खालको कोसिस भएको छ’, पुनले भने, ‘हाम्रा नेता कार्यकर्तालाई तर्साउने खालको जो कोसिस भएको छ यो कुन प्रकारको प्रवृत्ति हो ? प्रधानमन्त्रीजीसँग कुरा गर्दा त्यसो देखिँदैन । गृहमन्त्रीसँग कुरा गर्दा त्यसो देखिँदैन । तर, कुन चाहिँ स्वार्थ समूहले यो गरिराखको छ ? हामी यही मञ्चबाट पार्टीका तर्फबाट खबरदारी गर्न चाहन्छौँ । हामी निर्वाचनमा जान्छौँ, एजेण्डासहित जेन–जीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौँ । तर, हामीलाई टार्गेट गर्ने काम रोकियोस् । २३ गते दर्जनौँको हत्या गर्नेलाई केही नगर्ने ? सत्तामा बसेर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने ? अनि प्रचण्डतिर तेर्स्याउन खोज्ने ? यस प्रकारका बेठीक प्रवृत्ति हामी स्वीकार गर्दैनौँ ।’
उनले प्रधानमन्त्री भएका बेला प्रचण्ड स्वयंले आफ्नो दलका नेता कार्यकर्ता भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको पाइए अनुसन्धान गर्न राज्यका निकायहरूलाई निर्देशन दिएको नबिर्सन भने । ‘भ्रष्टाचार, अनियमितता र राज्य दोहनमा हाम्रा सबै नेता कार्यकर्ता परीक्षणमा उत्रिन तयार छौँ भनेका छौँ । यो कुरा कुनै पार्टीले भनेको छैन । आज सत्तामा भएका साथीहरू पनि परीक्षित हुन् । सम्माननीय प्रधानमन्त्री प्रधानन्यायाधीश भइसकेको मान्छे हो । अर्थमन्त्री, ऊर्जामन्त्री र अरू साथीहरू सबै परीक्षित हुन् । हामी पनि परीक्षित हौँ’, पुनले भने ।
प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेरै आफूहरूले चुनावका लागि प्रतिबद्ध रहेको तर, देशको स्वाधीनता तथा जनताको अधिकार यताउता हुन र हेपिन तयार नरहेको बताएको पुनले स्पष्ट गरे । ‘हामी सबै शक्तिलाई भन्न चाहन्छौँ, माओवादी शान्ति चाहन्छ । माओवादी प्रगति चाहन्छ । माओवादी आजको स्थितिभन्दा अगाडि बढ्न चाहन्छ । तर, सकैसँग हेपिन चाहँदैन । हामी दृढतापूर्वक उभिन्छौँ । उभिने हाम्रो प्रतिबद्धता हो । हिजो दुनियाँभरिका शक्तिहरूसँग पनि नडराएका हौँ’, उनले भने ।
पुनले २४ भदौको विध्वंस र आगजनीमा संलग्नमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिए । ‘अघिल्लो दिन सुशासनको एजेण्डासहित भएको आन्दोलन असाध्यै राम्रो हो । २४ गते घुसपैठ गरेर तोडफोड र आगजनी गरिएका छन् । अपराध भएको छ’, उनले भने, ‘त्यसको को छानबिन हुनुपर्छ । आगामी दिनमा त्यस प्रकारका अपराध रोक्न पनि त्यस प्रकारका अपराध गर्न घुसपैठ गर्नेहरूलाई दण्डित गर्नुपर्छ ।’
फरक प्रसङ्गमा पुनले लोकतन्त्रको स्थायित्व र राष्ट्रिय स्वाधीनताका लागि मुलुकका सबै पक्षबिचको सहकार्यमा जोड दिए ।

Leave a Reply