संसद् पुनर्स्थापनाको कुरा गरेर ओलीले देशमा फेरि दुर्घटना निम्त्याउन खोज्दैछन्ः प्रचण्ड  

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले देशमा अर्को अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन्। पेरिसडाँडामा आयोजित अखिल नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको समस्या समाधानका लागि निर्वाचनको विकल्प नभएको बताए।

उनले भने, ‘अन्तरिम सरकारको कार्यभार नै चुनाव गराउनु हो। यो आजको आवश्यकता पनि हो। यसलाई टेक्न छाडेर अर्को कुनै नारा उठाउन थालियो भने फेरि देशमा अर्को अराजकता र दुर्घटना निम्त्याउनेबाहेक अरू केही हुँदैन। त्यसैले कतै वितण्डातिर नजाउन्।

उनले हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नुजस्तो हास्यास्पद कुरा भएको बताए। उनले थपे, ‘म ती साथीहरूलाई त्यस्तो वितण्डातिर नलाग्न र आजको आवश्यकतालाई बुझेर निर्वाचन सफल पार्नतिर लाग्न आग्रह गर्न चाहन्छु । यहाँ मैले कुनै आवेग र आक्रोश व्यक्त गर्दै छैन। यथार्थ यही नै हो। एमालेका साथीहरू पनि निर्वाचनको पक्षमा आउनुस्। सबै मिलेर बृहत् सहकार्य गरौँ। यो नै देशको, संविधानको र लोकतन्त्रको रक्षाका लागि सबैभन्दा उत्तम विकल्प हो। यसलाई भाँड्ने कुचेष्टा कसैले नगरौँ।’

उनले सुशीला कार्कीको नेतृत्वको सरकार तत्कालीन प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा बनेको जिकिर गरे। उनले चुनावबाट नयाँ जनप्रतिनिधि आएपछि संविधान ट्र्याकमा आउने पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *