बालेनप्रति अभियन्ता ‘ई ई’ को कटाक्ष- सर्वशक्तिमान कवि यो खेलमा प्यादामात्र थिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक न्यायको पक्षमा उभिने गरेका अभियन्ता ई ई लाई राजनीतिमा आएर प्रधानमन्त्री बन्न चुनौती दिएकोमा उनले जवाफ फर्काएका छन् ।

शुक्रबार लामो वक्तव्य पोष्ट गर्दै ई ई ले सडकमा पहिलोपटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुंगा बर्साउने घृणित कार्य भएको बताएका छन् । उनले यसमा महानगरका मेयर बालेन सेयर र उनका प्रतिनिधि जिम्मेवार रहेको समेत आरोप लगाएका छन् ।

उनले भनेका छन्-सडकमा पहिलो पटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुङ्गा बर्साउने जुन घृणित कार्य भयो त्यसको समीक्षा भविष्यमा होला नै महामेयर सडकमा थिएनन् तर उनका प्रतिनिधिले आन्दोलन कमाण्ड गरिरहेका थिए । अवश्य यसमा उनको मात्र दोष छैन । अरु अनेक पक्षले पनि त्यस्तै गरे । तर, जे भनेपनि मूल दोष त सरकारकै, असान्दर्भिक भइसकेका राजनीतिक पात्रकै हो । शायद सर्वशक्तिमान् कवि यो खेलमा एउटा प्यादामात्र थिए । भूपिले लेखेका थिए नि- ‘एक मनोरञ्जक खेलका सामाग्री’ ।

बालेनले आफूमाथि लुसिफरको आरोप लगाएर सामाजिक सञ्जालमा पछिल्लो विध्वंसको जिम्मेवार बनाउन खोजिएपछि कवितामार्फत जवाफ दिएका थिए । ई ले त्यसैलाई सर्वशक्तिमान कवि भनेका हुन् । बालेनमाथि प्रश्न उठाएर सामाजिक संजालमा पोष्ट गरेपछि एउटै छातामा आएर पार्टी खोल्न ई ईलाई आग्रह समेत गरेका थिए ।

यस्तो छ ई ई को वक्तव्य

सबैजना एकै छाता मुनि आउनैपर्छ भन्ने सोच एकतन्त्रीय हो। जलाउनुपर्छ, गाड्नुपर्छ, समाप्त पार्नुपर्छ भन्ने आवेगात्मक र संवाद, सहअस्तित्व, समावेश हुनुपर्छ भन्ने अहिंसक सोच समाजमा प्रवाह गर्ने मानिस वा समूह स्वभाविकरूपले एक कित्तामा आउनसक्दैनन्। स्वतन्त्रता, उत्पादन, न्याय हेर्ने दृष्टिकोण फरक हुनसक्छन् र हुनुपनिपर्दछ। बालेन जी, तपाईँको / तपाईँ समर्थित नयाँ राजनीतिक दल जनजीविका सम्बन्धी र सैद्धान्तिक सवालमा कहाँ उभिन्छ भनेर हेर्न बाँकीनै छ। अनि राज्यशक्तिको आफ्नै सान्दर्भिकता भएतापनि सबैजना सत्ताकै राजनीतिमा आउनुपर्छ भन्ने पनि छैन। लोकतन्त्रको सौन्दर्यनै वैचारिक र व्यवहारिक विविधता हो।
भदौ २४ गते, सेप्टेम्बर ९ तारिखको दिन सवेरैदेखि सार्वजनिक, व्यवसायिक, र व्यक्तिगत सम्पतिको दोहन रोक्न एउटा एक मिनेटको भिडियो मात्र हाल्नु भनेर पहुँच भएका जति सबैले मुलुकको सर्वोच्च शक्तिशाली नेता तपाईँलाई त्यो दिन कति गुहारे गुहारे, तर मूर्ख अभिमानी प्रधानमन्त्रीको राजिनामा नआएसम्म जसरी सेनाको हेलिकप्टर बालुवाटार पुगेन, त्यसरीनै तपाईँको एउटा सामान्य अपील पनि सबै सोत्तर नभएसम्म आएन। किन? यस्ता जवाफदेहिता, पारदर्शिता, वैचारिक र जिम्मेवारी अभाव देखिएका अनेक प्रसङ्ग सर्वविदितै छन्।
त्यसबाहेक – सडकमा पहिलो पटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुङ्गा बर्साउने जुन घृणित कार्य भयो त्यसको समिक्षा भविष्यमा होला नै। महामेयर सडकमा थिएनन् तर उनका प्रतिनिधिले आन्दोलन कमाण्ड गरिरहेका थिए। अवश्य यसमा उनको मात्र दोष छैन। अरु अनेक पक्षले पनि त्यस्तै गरे। तर जे भनेपनि मूल दोष त सरकारकै, असान्दर्भिक भइसकेका राजनीतिक पात्रकै हो। शायद सर्वशक्तिमान् कवि यो खेलमा एउटा प्यादामात्र थिए। भूपिले लेखेका थिए नी – “एक मनोरञ्जक खेलका सामाग्री”।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *